प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा चिनियाँ सहयोग परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) बारे छलफल गरेको छ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा बीआरआईबारे छलफल भएको प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए।
बीआरआई कार्यान्वयनका सन्दर्भमा अनुदान लिने तर ऋण नलिने निष्कर्ष पार्टीले निकालेको पनि उनले बताए।
‘अनुदान सहयोग लिएर मात्रै बीआरआई अगाडि बढाउनुपर्छ भन्ने निष्कर्ष हाम्रो पार्टीले निकालेको छ,’ महतले भने।
अहिले ऋणको बोझ बढिरहेको बेलामा बीआरआईमार्फत पनि ऋणको बोझ थप्न नहुने निष्कर्ष पार्टीले निकालेको उनले सुनाए।
‘बीआरआईको कार्यान्वयनका सन्दर्भमा अनुदान सहयोग। हाम्रो एकदमै धेरै ऋणको बोझ भइसक्यो। यसलाई धेरै ठूलो बोझको रुपमा लिँदै जान हुँदैन। धेरै अनुदान सहयोग कार्यान्वयन भएको अवस्थामा, अनुदान दिनेगरेर मात्रै अगाडि बढाउनुपर्छ। अहिले ऋण लिनसक्ने अवस्था छैन,’ महतले भने।
Shares
प्रतिक्रिया