ad ad

राजनीति


राष्ट्रिय सभा शून्य समय : सडकको बेहालदेखि समाजवादसम्मका चर्चा

राष्ट्रिय सभा शून्य समय : सडकको बेहालदेखि समाजवादसम्मका चर्चा

फाइल फोटो


नेपालखबर
असार १८, २०८१ मंगलबार १५:३५, काठमाडौँ

राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले समसामयिक विभिन्न विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलवारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रिय सभा सदस्य कमला पन्तले वर्षाका कारण पहिरो र डुवानको समस्या भएको भन्दै मुलुकको अवस्थाको बारेमा सभामा जानकारी गराउनुपर्ने बताइन्। उनले राष्ट्रिय सभा अध्यक्षले रुलिङ गर्ने गरेपनि सरकारको जवाफ नआउने गरेको भन्दै एकहप्ता भित्रमा सरकारको जवाफ आउनेगरी पुनः रुलिङको माग गरिन्।

उनले भनिन्, ‘वर्षाको याममा पहाडमा पहिरो जाने, तराईमा डुबानका कारण जनजीवन अस्तव्यस्त छ। कहाँ के घट्ना घटेका छन्? मुलुकको अवस्था के छ? हामी जान्न चाहान्छौँ भनेर माननीय सदस्यहरूले सधै कुरा उठाउनुहुन्छ, जनजीविकाका सवालमा। सरकारको जवाफ पाइँदैन। अध्यक्षज्यूले सधैँ रुलिङ गर्नुहुन्छ। एक हप्तामा यि सवालहरूको जवाफ सरकारबाट प्राप्त हुने विषय कहिलेदेखि लागु होला? अध्यक्ष महोदयको रुलिङ लागू होस्।’

राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशका जनताप्रति नेपाल सरकार निर्मम भएको बताइन्। उनले काठमाडौंले आफूलाई शासक र कर्णालीका जनतालाई रैति ठानेर कर्णालीलाई बजेट व्यवस्था नगरेको बताइन्। उनले संघीयतामा पनि स्रोत र साधनको समान वितरण नभएको बताइन्।

उनले भनिन्, ‘कर्णाली प्रदेशप्रति नेपाल सरकार फेरि निर्मम बनेको छ। राज्य एकिकरणको प्रक्रियासँगै केन्द्रिय सत्ताको कोपभाजमा परेको कर्णाली प्रदेशको दशा अझै उस्तै छ। अझै काठमाडौंले आफूलाई शासक र कर्णालीका जनतालाई फगत रैति ठानेको छ। होइन भने कर्णालीलाई खोइ त विशेष बजेट? संघीयतामा स्रोत र साधनको समान वितरण हुन्छ भने खोइ त समानता? कर्णाली प्रदेशका सबै जिल्ला सदरमुकामहरूमा गाडी पुग्दैनन्। भएका सडकहरू मृत्युमार्गकै अवस्थामा छन्।’

राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले बुटवल–नारायणगढ सडक खण्ड छिटो बनाउनका लागि सरकारलाई रुलिङ गर्नुपर्ने बताए। उनले कैलाली जिल्लाको भजनी नरपालिका, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा भयावह रुपमा बाढी आउने गरेको भन्दै समयमै सचेत भएर आवश्यक प्रबन्ध मिलाउनुपर्ने बताए।

राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले नेपालका सडक मानव मृत्युको साधन बनिरहेको भन्दै तत्काल सडक सुधार गर्नुपर्ने बताए। उनले ट्राफिक नियमलाई कडाइका साथ पालना गर्नुपर्ने र चालकहरूलाई सचेतना गराउनुपर्ने धारणा राखे।

राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेले अहिलेको व्यवस्था पुँजीवादी व्यवस्था भएको भन्दै पुँजीवादी व्यवस्थामा भ्रष्टाचारको अन्त्य नहुने बताए। उनले भ्रष्टाचार अन्त्य गर्न समाजवादी व्यवस्था ल्याउनुपर्ने बताए।

उनले भने ‘यो पुँजीवादी व्यवस्थामा भ्रष्टाचार अपरिहार्य विषय हो। भ्रष्टाचार नहुनका लागि अर्कै व्यवस्थामा जानुपर्ने हुन्छ। अर्कै पद्धती अंगाल्नुपर्ने हुन्छ। त्यतातिर हामी कसैको ध्यान गएको पाइदैन। यो व्यवस्थामा भ्रष्टाचार नहोस् भनेर भन्नु डुङ्डुङ्ती गनाउने कुकुर काखमा लिएर मगमग बास्ना आइदिए हुन्थ्यो भनेजस्तै हो। यो सम्भव छैन। हामी भ्रष्टाचार नहुने समाजवादी व्यवस्थातिर जानुपर्ने हुन्छ। त्यो बारेमा धेरै चिन्तन मनन भएको पाइँदैन।’

उनले समाजवादी व्यवस्थाका बारेमा चिन्तन मनन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .