ad ad

राजनीति


६ मन्त्री बर्खास्त गरेका मधेसका मुख्यमन्त्री भन्छन्–राजीनामा दिएको भए मायाको चिनो दिन्थेँ

६ मन्त्री बर्खास्त गरेका मधेसका मुख्यमन्त्री भन्छन्–राजीनामा दिएको भए मायाको चिनो दिन्थेँ

नेपालखबर
असार २२, २०८१ शनिबार १३:५८, काठमाडौँ

आफ्नो सरकारबाट नेकपा माओवादी, एकीकृत समाजवादी लगायत ४ दलका  ६ जना मन्त्रीलाई बर्खास्त गरेका मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उनीहरूले राजीनामा दिएको भए टोनअफ लभ (मायाको चिनो) दिने योजनामा आफू रहेको बताएका छन्।

आजै विश्वासको मत लिन लागेका मुख्यमन्त्री सिंहले त्यसअघि नै माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ६ मन्त्रीहरुलाई बर्खास्त गरेका थिए।

‘उहाँहरुको राजीनामा आएको भए ‘लेटर अफ थ्यांक्स’ पनि दिने र ‘टोकन अफ लभ’ पनि दिने योजना थियो,’ मन्त्रीहरूको बर्खास्तीपछि पत्रकारहरूसँग बोल्दै मुख्यमन्त्री सिंहले भने। 

नेपाली कांग्रेस र नेकपा एमालेले साथ दिने भएपछि बहुमत पाउनेमा ढुक्क रहेका सिंहले विश्वासको मत लिनुअघिनै यसअघिका सत्ता सहयात्री माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई राजीनामा दिन आग्रह गरेका थिए।

तर, उनीहरूले राजीनामा दिन अस्वीकार गर्दै बरु बर्खास्त गर्न मुख्यमन्त्री सिंहलाई भनेका थिए। मुख्यमन्त्री सिंहले देशको राजनीतिक परिस्थिति अनुसार आफूले कदम चालेको बताए। 

‘देशको राजनीतिक परिस्थिति परिवर्तन भएपछि स्वभाविकरुपमा यहाँ पनि परिवर्तन हुन्छ नै,’ मुख्यमन्त्री सिंहले भने, ‘उहाँहरूकै सहमतिमा राजीनामाको सट्टा बर्खास्त गरिदिनुहोस् भनेपछि त्यही अनुसार भएको छ।’

मुख्यमन्त्री सिंहले कांग्रेस र लोसपा सरकारमा आउने सहमति भइसकेको भन्दै उनीहरूलाई दिने मन्त्रालय भने विश्वासको मत लिएपछि टुंग्याउने बताए। ‘कांग्रेस र लोसाप सरकारमा आउने भन्ने भएको छ,’ उनले भने, ‘अहिले कति मन्त्री दिने, के दिने भन्ने टुंगिएको छैन। विश्वासको मत दिएपछि बसेर टुंग्याउँछौं।’

मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहले सरकार गठन भएको एक महिना पुग्न लागेकपछि आज विश्वासको मत लिन लागेका हुन्। नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको दलको सहयोगमा जेठ २५ गते सिंह मुख्यमन्त्री बनेका थिए।

केन्द्रको सत्ता गठबन्धनमा परिवर्तन आएसँगै उनलाई नेपाली कांग्रेस र नेकपा एमालेले विश्वासको मतका लागि सहयोग गर्ने भएका छन्। मधेस प्रदेशसभामा नेकपा (एमाले) का २५, नेपाली कांग्रेसका २२ र  जनमत पार्टीका १३ सांसद छन्। तीन पार्टीको मात्रै जोड्दा ६० हुन्छ, जबकी बहुमतका लागि सिंहलाई ५३ सांसद मात्रै भए पुग्छ।

मधेश प्रदेशसभामा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, जनता समाजवादी पार्टीका १९ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सर्मथन गरेको भए पनि जनमत पार्टी सरकारमा भने सहभागी भएको थिएन।

नयाँ सत्ता समीकरण बनाउने सहमित गरेका नेपाली कांग्रेस र नेकपा एमालेले मधेसमा जनमत पार्टीकै सरकारलाई सर्मथन दिने बताइसकेका छन्। त्यस्तै अनुसार जनमत पार्टीले पनि अब बन्ने कांग्रेस–एमालेको संघीय सरकारलाई सघाउने बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .