ad ad

राजनीति


संसद्‌मा एमाले सांसदहरूको एकै स्वर – प्रधानमन्त्री प्रचण्डले अविलम्ब राजीनामा दिनुपर्‍यो

संसद्‌मा एमाले सांसदहरूको एकै स्वर – प्रधानमन्त्री प्रचण्डले अविलम्ब राजीनामा दिनुपर्‍यो

नेपालखबर
असार २४, २०८१ सोमबार १२:५१, काठमाडौँ

नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन्।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्रीको अविलम्ब राजीनामा माग गरेका हुन्। सांसदहरूले प्रधानमन्त्रीले बहुमत गुमाइसकेकोले सरकारमा बसिरहन नैतिक आधार गुमाइसकेका बताए। 

सरकारले प्रकोप पीडित जनताको उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै छिटोभन्दा छिटो बलियो सरकार आवश्यक भएको सांसदहरूको भनाइ छ। बैठकमा बोल्दै नेकपा(एमाले) कि सांसद विद्या भट्टराईले काम गर्नसक्ने सरकार बनाउन नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न सरकारको ध्यानाकर्षण गराइन्।

‘बाढी पहिरो र डुबानबाट बिस्थापित भएका तथा जोखिममा रहेका पीडित र प्रभावितहरुका लागि आवश्यक संरक्षण, राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्छ। तर आज सरकार कहाँ छ?,’ उनले भनिन्, ‘के छ भन्ने कुरामा हामी सबै प्रश्न र मौन भएर बस्ने स्थिति बनेको छ। सरकारलाई काम गर्न सक्ने बनाउनका लागि अब नयाँ सरकारलाई जिम्मेवारी दिनका लागि हामी तयार हुनुपर्छ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु।’

नेकपा(एमाले) का सांसद अच्युतप्रसाद मैनालीले विपद्ले देशभर धेरै घटनाहरु भइरहेका भएपनि सरकार कानमा तेल हालेर बसेको बताए। उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन माग गरे।

तमाम समस्याहरुका बाबजुद आज सरकार कानमा तेल हालेर बसेको छ। म प्रधानमन्त्री तथा गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव पेश गर्छु। गृहमन्त्रीलाई तत्काल सदनमा आएर यि सबै घटनाहरुको बारेमा जानकारी दिन माग गर्छु। होइन भने नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिन चाहन्छु,’ उनले भने।

नेकपा(एमाले)का सांसद किरणकुमार साहले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिए। उनले विपद्को यो समयमा बलियो र स्थिर सरकारको आवश्यकता रहेको पनि बताए। बलियो सरकारले मात्रै प्रभावकारी ढंगले बाढी, पहिरो र अन्य प्रकोपहरुको सामना गर्न सक्ने उनको भनाइ थियो।

‘जलवायु परिवर्तनको असर र प्राकृतिक प्रकोपहरुको सामना गर्दा दिर्घकालिन योजना र तत्परताको आवश्यकता छ। सरकारको तर्फबाट जलवायु परिवर्तन र प्रकोप व्यवस्थापनलाई समावेश गर्ने नीतिहरुको निर्माण र कार्यान्वयनमा विशेष ध्यान दिनुपर्छ। तर अहिले संकटको समयमा हामीले नेतृत्वमा पनि नैतिकताको आवश्यकता महशुस गरेका छौँ,’ उनले भने, ‘वर्तमान प्रधानमन्त्रीले आफ्नो बहुमत गुमाइसकेका छन्। जसले देशलाई थप अस्थिरता र अन्यौलमा पुर्‍याएको छ। संकटको घडीमा बलियो र स्थिर सरकारको आवश्यकता छ। जसले प्रभावकारी ढंगले बाढी, पहिरो र अन्य प्रकोपहरूको सामना गर्नसक्छ। प्रधानमन्त्रीले नैतिकताको जिम्मेवारी लिनुपर्छ र राजीनामा दिनुपर्छ।’

नेकपा(एमाले)का सांसद वासुदेव घिमिरेले सरकारले विपद्को यो समयमा उद्धार राहत र पुनःस्थापनाको काम सरकारले अगाडी बढाउन नसकेको बताए।

प्रधानमन्त्रीले राजीनामा दिन आनाकानी गरिरहेको भन्दै अविलम्ब राजीनामा दिएर माग प्रशस्त गर्न आग्रह उनले गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .