महान्यायाधिवक्ता रमेश बडालले संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्ने बताएका छन्।
बिहीबार महान्यायाधिवक्ताको पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू र महान्यायाधिवक्ताको कार्यालयले संविधानले निर्धारण गरेको दायराअनुसार सबै कामहरू गर्ने बताए।
शिरमा संविधान र कानूनलाई राखेर आफूहरुले काम गर्ने प्रतिवद्धता जनाउँदै उनले अभियोजन गर्दा दोषीलाई मात्रै अभियोजन गर्ने बताए।
अभियोजन गर्दा वस्तुनिष्ठ हिसाबमा मात्रै गर्ने प्रतिवद्धता उनको थियो।
‘संविधानले जे दायरा निर्धारण गरेको छ। त्यो दायराअनुसार नै मैले र मेरो कार्यालयले सम्पूर्ण काम कारबाही गर्नेछ। यो काम गरिरहँदा हामीले सबैभन्दा शिरमा संविधान र कानूनलाई राख्नेछौँ। संविधान र कानूनले जे निर्दिष्ट गर्छ,’ उनले भने, ‘त्यो भन्दा दायाँ बायाँ हाम्रो कार्यालयबाट कुनैपनि काम हुँदैन। अभियोजन गर्दा हामीले जो व्यक्ति दोषी छ, ति व्यक्तिलाई मात्रै अभियोजन गर्ने, निर्दोष व्यक्तिलाई अभियोजन नगर्ने, अभियोजन गर्दा वस्तुनिष्ठ हिसावमा मात्रै गर्नेछौँ।’
महान्यायाधिवक्ता बडालले पीडितलाई न्याय र राहत दिने काम संवैधानिक दायराभित्र रहेको गर्ने पनि बताए। बिगो प्रणालीको मापदण्ड निर्धारण गर्न कार्यदल गठन गरेको उनले बताए।
Shares
प्रतिक्रिया