प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम चलिरहेको छ। प्रश्नोत्तर कार्यक्रम चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभामुख देवराज घिमिरेले विषयमा केन्द्रित भएर बोल्न निर्देशन दिएका छन्।
नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन अनन्तले प्रधानमन्त्री विषयभन्दा बाहिर रहेर जवाफ दिएको कारणले नियमापत्ति गरेका थिए।
सुरुमा प्रधानमन्त्री ओलीले सदनलाई सदनजस्तै बनाउनुपर्ने भन्दै हल्काफुल्का र झुटा पूर्वाग्रही प्रश्न गर्न नहुने बताए।
‘हामीले सदनको मर्यादा, गरिमा, यहाँ भएका छलफल यहाँ उठेका विषय, यहाँ उठेका प्रश्न यति हल्काफुल्का झुटा पूर्वाग्रहीपूर्ण हुनुहुँदैन,’ उनले भनेका थिए, ‘सुन भनेर पित्तल चढायो भनेजस्ता हावादारी कुरा यस गरिमामय संसदमा नबलियोस्, नगरियोस्। यति हल्काफुल्का नबनाइयोस्’
उनले यति बोल्नासाथ माओवादी सांसद पुनले नियमापत्ति गर्दै सभामुखको रुलिङ माग गरे।
‘सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू अहिले कुन सन्दर्भमा बोल्दै हुनुहन्छ, यो चाहिँ सभामुखजीले रुलिङ गर्नुपर्छ,’ पुनले भने।
उनले यति भनेपछि सभामुख घिमिरेले भने, ‘ध्यान आकृष्ट भएको छ। मैले त्यतै लान कोसिस गरिरहेको छु।’
सभामुखले बोल्दैगर्दा पुनले अझै केही अरु बोल्न खोज्दै थिए। ओलीले रोष्ट्रमबाट भने, ‘मैले कसलाई गाली गर्या छ र?’
त्यसपछि सभामुख घिमिरेले ओलीलाई विषय केन्द्रित भएर बोल्न निर्देशन दिए।
प्रधानमन्त्री ओलीले सभामुख घिमिरेलाई पनि तुरुन्तै जवाफ फर्काइहाले।
‘सभामुख महोदय म विल्कुल विषय केन्द्रित छु। संसदमा उठेका प्रश्नहरुको लिखितको जवाफ दिनुपर्ने त्यो भन्दा अगाडि अलिखित नै बीचमा, बाटैमा नै आइपुग्यो। त्यसकारण यसो नगरौं भन्ने मात्र मेरो आग्रह हो’, प्रधानमन्त्री ओलीको प्रस्टोक्ति थियो।
Shares
प्रतिक्रिया