ad ad

राजनीति


सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

अन्तिम घडीमा नाउपाले पनि छोड्यो साथ
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

गोकुल जोशी
साउन १८, २०८१ शुक्रबार ८:२६, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (शुक्रबार) विश्वासको मत लिँदैछन्।  

शुक्रबार अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा सोडारीले विश्वासको मत लिन लागेका हुन्।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य भएकाले नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता सोडारी सत्ता बर्हिगमनमा पर्ने अवस्था सिर्जना भएको हो।

गएको असार २० मा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतको सरकार चलाउँदै आएका छन्। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको एक महिनाभित्र संसदमा बहुमत सिद्ध गरिसक्नुपर्छ। नभए प्रदेश सरकार ढल्छ।

बहुमत जुटाउने स्पष्ट आधार नभए राजीनामा दिएर अर्को सरकार गठनको मार्ग प्रशस्त गर्ने गरेको संसदीय अभ्यास पनि छ। तथापी नेपाली कांग्रेस र नेकपा एमालेको मिलनले बहुमत जुटाउने स्पष्ट आधार नहुँदा पनि प्रदेश सरकारलाई बजेट ‘होली डे’मा राख्दै सोडारीले सत्ता लम्ब्याए।

सोडारी शुक्रबार बस्ने प्रदेश सभा बैठकमा सम्बोधन गरेर सत्ता छोड्दैछन्। एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

तर, केन्द्रमा कांग्रेससँग सत्ता गठबन्धन बनेसँगै २० असारमा एमालेले सरकार छोडेको थियो।

अल्पमतमा रहेका सोडारीले एक महिना सत्ता लम्ब्याए पनि अन्तिममा नाउपाका दुई सांसदको पनि साथ गुमाए। विशेष अधिवेशनमा सहभागी नहुने सरकारको रणनीति विपरित प्रदेश सभा बैठकमा सहभागी नाउपाबाट सरकारमा सामेल कृषिमन्त्री टीका थापालाई सोडारीले बर्खास्त गरे। 

नाउपाबाटै सरकारमा सामेल भौतिक पूर्वाधारमन्त्री कैलाश चौधरीले बिहीबार मात्रै मुख्यमन्त्री सोडारीलाई राजीनामा बुझाएका छन्।

उनीहरु दुवै नाउपा अध्यक्ष रञ्जिताको निर्देशनमा सरकारमा गएका थिए। विश्वासको मत लिन लागेका सोडारीलाई अहिले आफ्नै दलका ४ सांसद र माओवादीका १० सांसदको मात्रै मत मिल्ने देखिन्छ। 

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। सुदूरपश्चिममा राप्रपाका एक सांसद छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .