ad ad

राजनीति


सोविताको गुनासो– पहिरोको निरीक्षणमा जाँदा राष्ट्रिय दलकै कार्यकर्ताले घेरेर दुर्व्यवहार गरे

सोविताको गुनासो– पहिरोको निरीक्षणमा जाँदा राष्ट्रिय दलकै कार्यकर्ताले घेरेर दुर्व्यवहार गरे

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा धारणा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतम (तस्बिरः रत्न श्रेष्ठ/रासस)


नेपालखबर
साउन २१, २०८१ सोमबार १५:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले बाढी पहिरोको निरीक्षणका क्रममा निर्वाचन क्षेत्रभित्रै आफूमाथि राष्ट्रिय दलका कार्यकर्ताबाट दुर्व्यवहार भएको बताएकी छिन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा आफूमाथि आइतबार (साउन २०) गते कागेश्वरी मनोहरा नगरपालिका६ मनकामना टोलमा युवाहरूको समूहबाट अभद्र व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। 

‘करिब साँझ ५ बजे कागेश्वरी मनोहरा नगरपालिका–६ को मनकामना टोलमा पुगेँ। सुरुमा मलाई पहिरो गएको ठाउँ देखाउन केही स्थानीय कुरेर बस्नुभएको थियो। त्यहाँ म केहीबेर अल्मलिएँ,’ गौतमले भनेकी छिन्, ‘फर्केर आउँदा म र स्वकीयसचिव थियौँ। १५–२० जना साथीहरू जम्मा हुनुभएको थियो। ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्न थियो। कोही गाँजाको नशाामा लठ्ठ हुनुहुन्थ्यो। कोही रक्सीले मात्तिएको, कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो। एकाएक घेर्न थाल्नुभयो। तपाईंहरू बुढोमान्छेले बोलाएको ठाउँँमा मात्रै जाने? भनेर प्रश्न गर्न थाल्नुभयो।’

उनले आफूमाथि दुर्व्यवहार नै गर्ने शैलीमा त्यहाँ उत्रिएको पनि बताइन्।

‘तैंले के गरिस्? तँ को हो? भनेर पार्टीगत आक्षेप लगाउने काम भएको थियो। मैले विस्तारै बोल्नुस् मात्रै भनिरहेको थिएँ। मलाई सुरक्षा चुनौती भएजस्तो लागेर गएँ। त्यहाँ कसैले भिडिओ उतार्दै रहेछ,’ उनले भनिन्, ‘एक हिसाबले मलाई दुर्व्यवहार नै गर्नेगरी उपस्थित हुनुहुन्थ्यो।’

उनले यसबारे प्रहरीलाई पनि यथार्थ जानकारी गराइएको संसद्मा जानकारी गराएकी छिन्। 

‘कुनै एउटा राष्ट्रिय दलको संवेदनशील पदमा बसेको युवा साथी हुनुहुन्थ्यो। विवादीत पार्ने हिसाबले बाटो कुरेर कुनै एउटा छोरी मान्छेलाई तर्साउने प्रयास के यो अमर्यादित भएन? के यो जंगली प्रकारको भएन?,’ गौतमले प्रश्न गरेकी छिन्। 

उनले दलको नाम भने खुलाइनन्। यद्यपि, उक्त दलप्रति प्रश्न गर्दै सांसद गौतमले भनेकी छिन्, ‘यो हर्कतको जिम्मा त्यो राष्ट्रिय दलले लिने कि नलिने? म कहाँ कहाँ चौतारो र खाली ठाउँ छ भनेर डराउँदै हिँड्नुपर्ने हो?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .