ad ad

राजनीति


सिमलताल दुर्घटनाका प्रतिवेदनका सुझाव कार्यान्वयन हुन्छ : गृहमन्त्री लेखक

सिमलताल दुर्घटनाका प्रतिवेदनका सुझाव कार्यान्वयन हुन्छ : गृहमन्त्री लेखक

नेपालखबर
साउन २२, २०८१ मंगलबार १६:३८, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्युनीकरण गर्नका लागि सबै उपायहरू अवलम्बन गर्ने बताएका छन्।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटना न्युनीकरण गर्नका लागि सरकारले सबै उपायहरू अबलम्वन गर्ने बताएका हुन्। 

दुर्घटना हुन नदिने कुराको सुनिश्चितता गर्नु आवश्यक भएको भन्दै यसको निम्ति सरकारले सबै उपायहरू अवलम्बन गर्ने गृहमन्त्री लेखकले स्पष्ट पारे।

‘अरु पनि तमाम निकायहरूको सरोकार भएको हुनाले यो प्रतिवेदनमा उल्लेख भएका जतिपनि सुझावहरू छन्, ती सुझावहरू सम्बन्धित निकायलाई पठाइनेछन्। र त्यसको कार्यान्वयन गराइनेछ। यो मन्त्रालयले गर्नुपर्ने यी प्रतिवेदनमा प्रस्तुत सुझावहरूलाई कार्यान्वयन गरिनेछ। म यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ गृहमन्त्री लेखकले भने।

सिमलताल दुर्घटना सम्बन्धी प्रतिवेदन अध्ययन गरेर प्रतिवेदनमा उल्लेख भएका सबै सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे। 

‘यस्ता किसिमका दुर्घटनाहरू न्युनीकरण गर्न आवश्यक छ  यस्ता किसिमका दुर्घटनाहरू अब नहुन भन्ने कुराको सुनिश्चितता गर्न आवश्यक छ। त्यसका लागि सरकारले सबै उपायहरू अबलम्वन गर्नेछ। यो प्रतिवेदनलाई पनि अध्ययन गरेर, यसमा धेरैको सरोकार देखिन्छ। एउटा मात्रै निकायको सरोकार छैन। सडक विभागको सरोकार छ। स्थानीय तहको सरोकार छ। प्रहरीको सरोकार छ,’ उनले भने।

चितवन जिल्ला भरतपुर महानगरपालिका २९ को सिमलटार भन्ने ठाउँमा गत असार २८ गते पहिरोमा परी दुई यात्रुवाहक बस बेपत्ता भएको थियो। 

काठमाडौँबाट गौरको लागि छुटेको गणपति डिलक्समा ३६ जना यात्रु रहेकोमा ३ जना यात्रु मात्रै जीवित रहेका थिए।

त्यस्तै वीरगञ्जबाट काठमाडौँको लागि आउँदै गरेको एञ्जल डिलक्स बसमा ३६ जना यात्री सवार थिए।

हालसम्म २४ वटा शव फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको अवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .