ad ad

राजनीति


खेलाडीका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पढाउने सम्झौता हुँदैछ : खेलकुदमन्त्री

खेलाडीका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पढाउने सम्झौता हुँदैछ : खेलकुदमन्त्री

नेपालखबर
साउन २३, २०८१ बुधबार १४:५६, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूलाई स्वदेशमै जीवनयापन गर्नसक्ने वातावरण बनाउने गरी सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाएका छन्।

बुधबार त्रिपुरेश्वरस्थित कार्यालयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निःवर्तमान उपाध्यक्ष शिव कोइरालाको बिदाई कार्यक्रममा बोल्दै उनले खेलाडीका लागि जुन देशमा राम्रो काम गर्न सकिँदैन, सेवा, सुविधा दिन सकिँदैन त्यस देशबाट प्रतिभावान खेलाडी पलायन भइरहने बताए।

‘जुन देशमा खेलाडीका लागि राम्रो काम गर्न सक्दैन, सुविधा पाउन सक्दैन, उसको खर्च कटौती गरेर उसको हरेक चिज काटेर हामी जथाभावी गर्छौं भने त्यो देशको खेल क्षेत्र कहिल्यै प्रगति हुँदैन, खेलाडीहरू यसैगरी विदेश पलायन भइरहन्छ,’ उनले भने, ‘हाम्रो एउटा लक्ष्य के छ भने हाम्रो देशका खेलाडीहरूलाई सक्षम खेलाडीलाई कसरी नेपालमा रोक्ने, उनीहरूलाई केके सुविधा दिँदा उसको जीविका चलाउन सकिन्छ, बाच्न सकिन्छ भन्ने हिसाबले हाम्रो खेल क्षेत्रका पदाधिकारीहरुलाई सोच्न आग्रह गर्दछु। त्यो भिजनमा जानसक्नु भएन भने कतिपय कुरा म अप्रिय निर्णय लिनसक्छु।’

सरकारले उत्कृष्ट खेलाडीहरूको वर्गीकरण गर्न लागेको जानकारी दिँदै उनीहट्टका दुई सन्तानसम्मलाई कक्षा १२ सम्मको शिक्षा राम्रा विद्यालयमा अध्ययन गर्न पाउने व्यवस्था गर्न लागेको पनि बताए।

‘आफ्नो सुविधानको लागि जे पनि गर्न तयार तर खेलाडीको लागि कुनै मतलब नराखेपछि कहाँ राम्रो हुन्छ। संघमा विवाद छ, तदर्थ समिति, संघ, संघ बी, संघ सी, के संघ हो यो? एउटा संघ हुँदा हुँदै दुई वटा संघ हुन्छ। केही त स्वार्थ होला नि। दुई वटा संघ भएपछि खेलाडीहरु तानातान गर्ने हो,’ उनले भने, ‘कोच तानातान गर्ने हो। यी कुरामा ध्यान दिन आग्रह गर्दछु। हामी राम्रो खेलाडीको क्याटोगोरी छुट्याउँदै छौँ। उनीहरूका छोराछोरीहरुलाई कक्षा १२ सम्म प्याब्सनसँग सम्झौता हुँदैछ। उनीहरूको छोराछोरीलाई १२ कक्षासम्म निःशुल्क पढाउने, केही छुट दिएर पढाउने व्यवस्था गर्नेछौँ।’

मन्त्री चौधरीले खेलाडीको जीवन बीमा बढाउने गरी सरकारले सोचिरहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .