ad ad

राजनीति


शिक्षामन्त्रीलाई ओलीको निर्देशन- अर्को वर्ष एसईईमा ७० प्रतिशत उत्तीर्ण गराउने लक्ष्यमा काम गर्नू

शिक्षामन्त्रीलाई ओलीको निर्देशन- अर्को वर्ष एसईईमा ७० प्रतिशत उत्तीर्ण गराउने लक्ष्यमा काम गर्नू

नेपालखबर
साउन २४, २०८१ बिहिबार २०:४४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामसम्बन्धी छलफलमा उनले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत हुनुपर्ने उल्लेख गरे।

‘जति पढे पनि कुनै क्षेत्रमा काम गर्ने सीप छैन भने त्यस्तो जनशक्ति प्रयोगविहीन हुन्छ र रोजगारी पनि नपाउने सम्भावना हुन्छ,’ उनले भने, ‘त्यसैले सीपमूलक जनशक्ति उत्पादनमा ध्यान दिन म निर्देशन दिन्छु। उच्च आचरणयुक्त जनशक्ति तयार गर्न आवश्यक भएकाले सोहीअनुसार नीति निर्माण र कार्यान्वयन गनुैहोस्।’

वर्तमान सन्दर्भमा मुलुकमा समाज बनाउने खालको जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक भएको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले विद्यालय तहमा भर्नादर बढाउने, ‘ड्रपआउट’ घटाउने र शिक्षाको गुणस्तर बढाउने गरी काम गर्न आवश्यक भएको उल्लेख गर्दै आगामी वर्षको एसइईमा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी सक्षम शिक्षक र निःशुल्क इन्टरनेटको प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने बताए।

‘एसइईमा कम्तीमा पनि ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गर्ने लक्ष्य निर्धारण गरी काम गर्नुहोस्। यसका लागि स्मार्ट शिक्षक छनोट, निःशुल्क इन्टरनेट र अनलाइन कक्षा सञ्चालनको तयारी गर्नुहोस्,’ उनले भने।

प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिलाई उच्चतम प्रयोगमा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै यससम्बन्धी ठोस कार्यक्रम बनाउन पनि निर्देशन दिए।

‘नागरिकको स्वास्थ्यको सुरक्षा, शुद्धता परीक्षण र प्रमाणिकरण गर्ने, निरोगी नेपालको अवधारणालाई सहयोग गर्ने, गरिबी घटाउने, कृषि र उद्योगका क्षेत्रमा विज्ञान र प्रविधिको प्रयोग बढाउने गरी काम गर्ने गरी ठोस कार्यक्रम बनाएर अघि बढ्नुहोस्,’ उनले भने।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, सचिवद्वय डा दीपक काफ्ले र विश्वबाबु पुडासैनीलगायत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .