उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताएका छन्।
शुक्रबार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी बिस्तार भएको भन्दै नेपालमै अध्ययन गरेर देश बनाउन लाग्न विद्यार्थीसँग आग्रह गरे।
‘अधिकारका लागि हामी लड्यौँ। तर अब लडेर ल्याएको अधिकार जिम्मेवारपूर्वक जगेर्ना गर्न जान्नुपर्छ। विरोध गर्दा गर्दा प्राप्त गरेको अधिकार पनि गुम्यो भने अनि हामीले के गर्ने? सबै जिम्मेवार हुनुपर्छ। प्लस टु सकिसकेपछि विद्यार्थीहरु विदेश जाने टे«न छ। यत्रो पपुलर इन्जिनियर कलेजमा विद्यार्थी कम छन्,’ उनले भने।
नेपालमै बस्ने वातावरण बनाउन युवा जगतले उपयुक्त सुझाव दिन पनि आग्रह गर्दै उनले अधिकारका लागि लडेर ल्याएका अधिकारहरुको संरक्षणमा जुट्न पनि आह्वान गरे।
‘हामीले नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्छ। यहीँ बसेर काम गर्न के चाहिन्छ, त्यो सुझाव दिनुभयो भने सरकारले त्यसमा सहयोग गर्नेछ। जनप्रतिनिधि हुँदैमा सबैकुरा थाहा हुँदैन नि। सुझाव दिनुस्। ऐनमा संशोधन गर्न परे गरौँला। हामी सबै समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न एकरुपता कायम गरी अघि बढ्नुपर्छ,’ उनले भने।
Shares
प्रतिक्रिया