ad ad

राजनीति


आफ्नै पद धरापमा परेपछि पहिलो पटक सचिवालयमा बोले थापा

आफ्नै पद धरापमा परेपछि पहिलो पटक सचिवालयमा बोले थापा

सागर न्यौपाने
फागुन २०, २०७६ मंगलबार १४:५७,

नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा पार्टीभित्र विवाद देखिएका विषयमा हत्तपत्त बोल्दैनन्। पार्टी एकतापछिको दुई वर्षमा नेकपामा देखिएका हरेक विवादमा थापा मौन बस्दै आएका थिए।

प्रदेश समिति चयन गर्दा होस् वा प्रदेश प्रमुखकै नियुक्तिको विवाद, अथवा जनवर्गीय संगठनको नेतृत्वका विषय, उनले कहिल्यै आफ्नो मत सार्वजनिक गरेनन्। सार्वजनिक रुपमा मात्र होइन, सचिवालय बैठकमा समेत उनले मुख खोलेका थिएनन्।

तर, फागुन १४ गते बसेको सचिवालय बैठकमा भने उनी पहिलो पटक बोले, त्यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा। नेकपा सचिवालयमा यसरी प्रधानमन्त्री ओलीको पक्षमा मुख खोल्ने थापा संभवतः पहिलो पूर्वमाओवादी नेता हुन्।

नेकपा सचिवालयका एक सदस्यका अनुसार बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेपछि थापाले त्यसको विरोध गरेका थिए।

बैठकमा कसले के भने?
फागुन १४ गते साढे १२ बजे बालुवाटारमा सुरु भएको बैठकका लागि कुनैपनि एजेन्डा तय गरिएको थिएन। त्यसअघि फागुन १० गते बसेको नेकपाको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन मिल्नेगरी संविधान संशोधन गर्न वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा सुवास नेम्वाङ र वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा सदस्य थिए। त्यसबारे सबैतिर तीव्र आलोचना भएपछि फागुन १४ मा पुनः सचिवालय बैठक बोलाएको थियो।

बालुवाटारमा सचिवालयका सबै सदस्य जम्मा भएपछि प्रचण्ड बोल्न सुरु गरे। सुरुमै उनले गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने प्रस्ताव पेस गरेका थिए।

‘उहाँलाई संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने सम्भावना अब छैन, कम्तीमा राष्ट्रियसभाबाट राष्ट्रपतिले सिफारिस गर्ने पदमा उहाँलाई लैजाऊँ,’ बैठकमा प्रचण्डले राखेको प्रस्ताव उधृत गर्दै ती सचिवालय सदस्यले भने।

त्यसपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ बोले, ‘वामदेव कणले नै जान्छु भनेपछि पठाउनुपर्छ।’

ईश्वर पोखरेलले पनि श्रेष्ठकै भनाइमा सहमति जनाए।

वामदेवकै पक्षमा माहोल बन्दै गएपछि वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रस्तावको समर्थन गरे। नेपाल आर्फै चाहिँ यो प्रस्ताव अघि बढाउन प्रचण्डजत्तिकै प्रतिवद्ध थिए नै।

‘ठीकै छ, पहिला नजाने अडान राख्नुभएको थियो। अब जान तयार हुनुभएको हो भने पठाऊँ,’ नेता नेपालले भने।

नेपालपछि बोलेका वरिष्ठ नेता झलनाथ खनाल पनि यसमा सहमत भए। उनले भने, ‘वामदेवजी जाने कुरामा सहमत हुनुहुन्छ भने हामीले उहाँलाई पठाउन ढिलाइ गर्नुहुँदैन।’

महासचिव विष्णु पौडेलले पनि वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउनुपर्ने धारणा राखे।

सचिवालय बैठकमा बिना एजेन्डा एक्कासि वामदेवको पक्षमा माहोल बनेको देखेपछि प्रधानमन्त्री तथा अध्यक्ष ओली एकछिन अक्क न बक्क परे। अन्त्यमा भने, ‘तपाईंहरुले पहिले नै निर्णय गरेर आउनु भएको हो भने ठिकै छ, उहाँलाई राष्ट्रिसभामा पठाइदिऊँ।’

प्रधानमन्त्री ओली बोलुञ्जेल मौन रहेका गृहमन्त्री थापाले भने प्रस्तावको विपक्षमा मत राखे।

‘पहिले सर्त पूरा भए जाने भन्ने, अहिले त्यसै जान्छु भन्ने, यो कस्तो खालको तर्क हो?’ थापाको भनाइ उधृत गर्दै ती सचिवालय सदस्यले भने, ‘वामदेवजीको यो प्रवृत्तिले नैतिक रुपमा उहाँलाई नै राम्रो गर्दैन।’

लामो समयदेखि कुनै धारणा नराखी बसेका थापाले अचानक प्रचण्डको प्रस्तावको विरोध गरेपछि बैठकमा सहभागी सबै छक्क परेका थिए। उनी बोल्दै गर्दा नेताहरुले अध्यक्ष प्रचण्डको मुखमा बारम्बार हेरेका थिए।

त्यसपछि उपाध्यक्ष वामदेव गौतमले आफूमाथि जहिले पनि षड्यन्त्र हुने गरेको भन्दै बैठकमा तीव्र असन्तुष्टि राखेका थिए।

किन बोले थापा?
प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबाट अलग्गिएर मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा लागेका थापा पुनः फर्केर प्रचण्ड नेतृत्वकै पार्टीमा आएका थिए।

तत्कालीन एमालेसँग एकता गरेर नेकपा बनिसकेपछि पनि उनी सधैँ प्रचण्डनिकट रहँदै आएका थिए। तर, फागुन १४ को बैठकमा अचानक उनले प्रचण्डको प्रस्तावको विपक्षमा मत राखेपछि नेताहरु नै अलमल्लमा परे, किन बोले थापा?

स्रोतका अनुसार ‘वामदेव गौतम मन्त्री बने तपाईंको पद धरापमा पर्छ’ भन्ने सन्देश बालुवाटारले दिएपछि गृहमन्त्री थापाले मुख खोलेका हुन्।

त्यो दिन सचिवालय बैठक सुरु हुनुभन्दा केहीअघि नै थापा बालुवाटार पुगेका थिए। त्यहाँ प्रधानमन्त्री ओलीनिकटस्थहरुसँग उनले केहीबेर छलफल गरेका थिए।

‘वामदेवजी राष्ट्रियसभामा आउने कुरा छ। उहाँ मन्त्री हुँदा गृहबाहेक अन्त जानुहुन्न। अहिलेसम्म तीन चोटी मन्त्री भइसक्नुभो, तीनै पटक गृह लिनुभयो,’ ओली निकटस्थ नेताहरुको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘अब पनि मन्त्री बन्दा उहाँ गृहमन्त्री नै बन्ने हो।’

बालुवाटारबाट यस्तो सन्देश पाएपछि बैठकमा थापा बोल्न बाध्य भएको स्रोतले बतायो।

बालुवाटारमा ओलीको पक्षमा बोलेपछि प्रचण्ड फकाउन खुमलटार पुगे 
सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा उभिएपछि आफूसँग प्रचण्ड रिसाएको महसुस गरेका थापा तत्कालै प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

आफूले वामदेवका विषयमा मात्र फरक मत राखेको भन्दै उनले प्रचण्डलाई आश्वस्त तुल्याउने प्रयास गरेको बुझिएको छ।

‘म फरक कित्तामा उभिएको छैन। वामदेवजीको प्रवृत्तिकै कारण जवाफ दिएको मात्र हुँ,’ थापाले प्रचण्डलाई भनेको भन्दै अर्को एक स्रोतले भन्यो, ‘अरु विषयमा म तपाईंसँगै छु। दायाँबायाँ लागेको छैन।’

अध्यक्ष प्रचण्डलाई उनले थप आश्वस्त बनाउन खोजे।

‘मैले सबै राजनीति हेरिरहेको छु, पूर्व एमालेका साथीहरुको भूमिका पनि हेरिरहेको छु, तपाईं के कुरामा ढुक्क हुनुस् भने ममा कुनै कन्फ्युजन छैन,’ थापाको भनाइ उधृत गर्दै स्रोतले भन्यो।

केही दिनपछि फागुन १७ मा पोखरा पुगेका थापाले सचिवालयमा बोलेको भन्दा फरक धारणा राखे। गण्डकी प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले पार्टीको सचिवालयले सर्वसम्मत रुपमा गरेको निर्णय सरकारले कार्यान्वयन गर्ने बताएका थिए। उनले गौतमलाई मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभामा सिफारिस गर्ने बताए।

पोखरेल र पौडेलले समूह परिवर्तन गरेपछि ओली खेमामा खैलाबैला
महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल पार्टीभित्र सधैँ अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पक्षमा देखिने गरेका थिए। तर, वामदेव प्रकरणमा उनीहरुले समूह फेरेपछि ओली समूहमा खैलाबैला मच्चिएको नेकपाका अर्का एक नेता बताउँछन्। 

‘पार्टी अध्यक्ष ओलीलाई बरु प्रचण्डको समूहका भनेर चिनिएका रामबहादुर थापाले साथ दिए, आफ्नै भनिएका ईश्वर–विष्णुले साथ दिएनन्,’ ती नेताले भने।

त्यसपछि प्रधानमन्त्री ओलीले माधव नेपाललाई भेटेरै गौतमको नाम कुनै हालतमा सिफारिस नगर्ने बताएका थिए।

आइतबार बसेको सचिवालय बैठकमा पनि यस विषयमा कुनै छलफल भएन। प्रधानमन्त्री ओलीले आफूले मिर्गौला प्रत्यारोपण गर्न लागेको ब्रिफिङ बैठकमा गरेका थिए।

राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडालाई पुनः सिफारिस गर्ने कि वामदेव गौतमलाई पठाउने भन्नेबारेमा मन्त्रीपरिषदबाट कुनै निर्णय नगरी प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणको लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। बुधबार विहान ९ बजे उनको प्रत्यारोपण हुँदैछ।

मंगलबारबाट राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल सकिएपछि अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन्। बुधबार उनलाई पुनः मन्त्री नियुक्त गरिने बताइएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .