ad ad

समाज


बेथितिले थलिएको सूप विश्वविद्यालय उकास्ने जिम्मा डा जाेशीकाे काँधमा

बेथितिले थलिएको सूप विश्वविद्यालय उकास्ने जिम्मा डा जाेशीकाे काँधमा

गोकुल जोशी
फागुन २०, २०७६ मंगलबार १५:०,

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. अम्मराज जोशी नियुक्त भएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार पाँचवटा विश्वविद्यालका उपकुलपति नियुक्त गरेका थिए। तीमध्ये एक सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति जोशी पनि हुन्।

डेढ महिनादेखि उपकुलपतिविहीन रहेको विश्वविद्याललयले चाैथाे उपकुलपतिका रुपमा प्रा.डा. अम्मराज जोशीलाई पाएको छ। विश्वविद्यालयमा विभिन्न बेथिति  छ, जसले गर्दा विश्वविद्यालयको ओजमा प्रश्न उठेको छ। बेथितिले थलिएको विश्वविद्यालयको गुणस्तर उकास्ने जिम्मा उपकुलपतिको डा जाेशीकाे काँधमा आएकाे छ।

सुदूरपश्चिमेलीहरुको लामो सघर्ष पछि वि.सं. २०६७ सालमा महेन्द्रनगरमा विश्वविद्यालय स्थापना भएको थियो। विश्वविद्यालय स्थापना भएदेखि नै पदाधिकारी नियुक्तिको विषयमा होस् वा अन्य विविध समस्याका नाममा विश्वविद्यालयमा लगातार राजनीतिकरण हुने गरेको छ। बेथिती र समस्याहरुले विश्वविद्यालय जेलिएको छ। विश्वविद्यालयमा पदाधिकारी वा कर्मचारी आफ्नो पार्टी निकट वा नजिकका नपर्दा विश्वविद्यालयमा तालाबन्दी हुने कुरा कुनै नौलो होइन।

यस अतिरिक्त विश्वविद्यालयका आंगिक क्याम्पसहरु समायोजन, ती क्याम्पसहरुमा भौतिक तथा कर्मचारी व्यवस्थापन हुन सकेका छैन। त्यति मात्रै होइन, विश्वविद्यालयमा दोहोरो प्राध्यापन, प्राध्यापक संघ, कर्मचारी भर्ना गर्दा राजनीतिक भागबण्डा, नातेदार नियुक्ति, लगातारको तालाबन्दी र पाठ्यक्रम परिमार्जन लगायतका समस्या छन्।

विश्वविद्यालयका आंगिक क्याम्पसले अझै समायोजनमा पूर्णता पाएका छैनन। यहाँका १४ वटा क्याम्पसलाई विश्वविद्यालयमा समायोजना गरिएको थियो। ती मध्ये कैलाली बहुमुखी क्याम्पस अहिले पनि समायोजन भएको छैन भने नयाँ ६ वटा आंगिक क्याम्पस थप गर्ने तयारी थियो। अहिलेसम्म क्याम्पस थप हुन सकेको छैन। प्रत्येक पाँच वर्षमा विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गर्नु पर्नेमा त्यो पनि हुन सकेको छैन।

आंगिक क्याम्पसका प्राध्यापकहरुले नियमित तलव नपाउने समस्या छ। केन्द्रीय क्याम्पससहित आंगिक क्याम्पसमा भौतिक संरचनाको अभाव छ। वि.सं. २०७५ पुस २७ गते तत्कालीन उपकुलपति डा.भूषण श्रेष्ठ र रजिष्ट्रार डा.द्धिजराज भट्टको कार्यकाल नसकिँदै सरकारले उनीहरुलाई कामकाज नगर्न निर्देशन दियो। सरकारले तत्कालीन उपकुलपति र रजिष्ट्रारलाई हटाएपछि तीन महिनासम्म विश्वविद्यालय उपकुलपति तथा रजिष्ट्रारविहीन बनेको थियो। त्यस पछि २०७५ चैत २७ गते नयाँ उपकुलपतिमा डा.पुर्ण बहादुर चन्द र रजिष्ट्रारमा डा. गोविन्द सिंह विष्टलाई नियुक्त गर्‍यो।

तत्कालीन उपकुलपति र रजिष्ट्रारको कार्यकाल नसकिदैँ सरकारले अर्को उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको भन्दै २०७५ चैत्रको अन्तिम सातातिर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको थियो। उपकुलपतिको जिम्मेवारी पाएका डा. पुर्ण बहादुर चन्दको माघ ५ गते कार्यकाल सकियो। त्यसपछि उपकुलपतिका विषयलाई लिएर नेपाल विद्यार्थी संघले गरेको तालाबन्दी झण्डै १० महिना पछि माघ ११ गते खुल्यो।

अहिले उपकुलपतिको जिम्मेवारी पाएका प्रा.डा.जोशी नेपाली कांग्रेस निकट हुन्।

नवनियुक्त उपकुलपतिले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्थाको हितमा काम गर्नु पर्ने प्रबुद्ध व्यक्तिहरुको सुझाव छ। ‘उपकुलपतिका रुपमा प्राज्ञिक, अनुभवी व्यक्ति पाएका छौँ। अब उहाँले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर विश्वविद्यालयको गुणस्तर उकास्नमा अहम् भूमिका निर्वाह गर्नु पर्छ।’ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ क्याम्पस ईकाइ समिति अध्यक्ष कर्णदेव भट्टले भने, ‘कसैको दबावमा आएर, कसैका लागि काम गर्नु भन्दा पनि विश्वविद्यालयको हितमा काम गर्नु पर्छ।’

यस्तै, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय कार्य समिति अध्यक्ष उत्तम थापाले विश्वविद्यालयमा व्याप्त समस्याहरुको पहिचान गर्दै ती समस्याहरुको निकारणतर्फ ध्यान दिनु पर्ने सुझाए। ‘विश्वविद्यालयमा धेरै बेथिती छन्, तिनको पहिचान गर्दै बेथिती हटाउदै जानु पर्छ, शैक्षिकस्तर सुधार गर्न सबैको सहयोग मिल्ने नै छ।’ उनले भने, ‘निस्पक्ष रुपमा कार्य सम्पादन गर्नु पर्छ।’

उपकुलपतिसम्मको यात्रा
जोशीको जन्म बझाङको छबिस पाथीभरा गाउँपालिका–४ झुतेडामा भएको हो। वि.सं. २०२८ सालमा शान्ती माध्यमिक विद्यालय चौहापाटाबाट एसएलसी उर्तिण गरेका जोशी उच्च शिक्षा अध्ययनका लागि भारत गएका थिए। भारतको आग्रा विश्वविद्यालयबाट अंग्रेजी बिषयको मानविकी संकायमा स्नातक तहसम्मको पढाइ गरे, जोशीले। त्यस पछि अध्ययनका लागि काठमाडौैँ आए। त्यहाँ उनले शिक्षा संकाय अन्तर्गत अंग्रेजी मूल विषयमा स्नातक तह अध्ययन गरे भने अंग्रेजी मूल विषय राखेर नै मानविकी संकायबाट स्नातोकोत्तर पास गरे।

नवनियुक्त उपकुलपति जोशीले अंग्रेजी साहित्यमा विद्यावारिधी गरेका छन्। शैक्षिक क्षेत्रमा अनुभवी, प्राज्ञिक तथा सफल नेतृत्व क्षमता भएका व्यक्तिका रुपमा चिनिन्छन्, जोशी। उनले वि.स. २०४२ सालदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्न सुरु गरेका थिए। झण्डै तीन दशक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गराएका उनी त्यहाँ रहँदा करिब एक दशक मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत अंग्रेजी केन्द्रीय विभाग प्रमुख भएर काम गरेको अनुभव जोशीसँग छ। विभाग प्रमुखकै जिम्मेवारीबाट जोशीले वि.स. २०७५ सालमा अवकाश पाएका थिए।

पहिलो नजरमा के मा?
नवनियुक्त उपकुलपति जोशीले विश्वविद्यालयको शैक्षिक स्तर सुधार आफ्नो प्राथमिकतामा परेको बताएका छन्। उपकुलपतिमा नियुक्त भए पछि नेपालखबरसँग कुरा गर्दै उपकुलपति जोशीले महत्वपूर्ण समस्याहरुलाई सम्बोधन गर्दै शैक्षिकस्तर सुधारमा लाग्ने बताए। ‘प्राध्यापकहरुले तलब नपाएका, आंगिक क्याम्पसको समायोजन नभएका लगायतका महत्वपूर्ण कुरालाई सम्बोधन गर्दै अगाडि बढ्छु। यहाँको शैक्षिक क्षेत्र पछाडी छ, अदृश्य छ, केही नयाँ कार्यक्रमबाट सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शिक्षालाई देशभर चिनाउने प्रयासमा रहने छु।’ उनले भने, ‘महत्वाकांक्षी सपना नबोकेर, विश्वविद्यालयको आधारभुत तहबाट अवस्था अध्ययन गर्दै नयाँ कार्यक्रमहरु ल्याइने छन्।’

विश्वविद्यालयको शैक्षिक कार्यक्रमको उत्पादनमा उनले जोड दिएका छन्। शिक्षाको सामाजिक दायित्वलाई आत्मसात गदै शैक्षिक कार्यक्रमको उत्पादनलाई सबल बनाउँदै महेन्द्रनगरलाई सांस्कृतिक केन्द्रका रुपमा विकसित गर्ने उनको दाबी छ। स्थानीय, प्रदेश तथा संघीय सरकारसँग छलफल, समन्वय गरेर विश्वविद्यालयको गुणस्तर सुधारमा आफ्नो तर्फबाट गर्न सकिने कदममा पछाडी नहट्ने उनको प्रतिवद्धता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .