ad ad

राजनीति


श्रम स्वीकृति रोकिएको छैन, परामर्शमा छौंः श्रममन्त्री यादव (भिडियाे)

श्रम स्वीकृति रोकिएको छैन, परामर्शमा छौंः श्रममन्त्री यादव (भिडियाे)

नेपालखबर
फागुन २०, २०७६ मंगलबार १५:९,

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई श्रम स्वीकृति दिन बन्द नगरिएको प्रष्ट पारेका छन्।

मंगलबार मन्त्री यादवलाई नै उधृत गर्दै राष्ट्रिय समाचार समितिले लेखेको श्रमस्वीकृत रोकिएको बेहोराको समाचार विभिन्न सञ्चारमाध्यमले प्रकाशन गरेका थिए।

तर, कतिपय गन्तव्य देशमा कोरोनाको संक्रमण देखिए पनि अहिले नै श्रम स्वीकृति रोक्ने अवस्थामा नआएको मन्त्री यादवले बताए। उनले हल्लाको पछि नलाग्न पनि आग्रह गरे।

‘हाम्रा नागरिक अप्ठेरोमा नपरुन् भनेर हामी सचेत छौं। तर अहिले नै कुनै निर्णय गरिसकेका छैनौं,’ मंगलबार नेपालखबरसँग मन्त्री यादवले भने।

मंगलबार नै श्रममन्त्री यादव र परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीबीच पनि यस विषयमा छलफल भएको छ। छलफलमा सम्बन्धित मन्त्रालय र विदेशस्थित कूटनीतिक नियोगहरुसँग राय लिएर निर्णयमा पुग्ने तय भएको मन्त्री यादवले बताए।

‘हाम्रा नागरिक विदेशमा अप्ठेरोमा परे भने के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। यहाँबाट गएका नेपाली बीचमै क्वारेन्टाइन जानु पर्ने अवस्था आउन नदिने विषयमा हामी सचेत छौं,’ उनले भने, ‘तर, श्रम र परराष्ट्रले मात्रै निर्णय गरेर हुँदैन। गृह र स्वास्थ्य मन्त्रालयसँग पनि सल्लाह गर्छौं।’

अवस्था जटिल बन्नुअघि नै उपयुक्त निर्णय लिइने उनले भने।

सरकारले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिसकेको छ। दक्षिण कोरियामा कोरोनाको संक्रमण देखिएपछि नेपाली श्रमिक पठाउन पनि स्थगित गरिएको छ।

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाइ गरिएको छ।

यसअघि चीन लगायत अन्य केही मुलुकबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षण गरिदै आएकोमा अहिले सबै देशबाट आउने नागरिकहरुको परीक्षण थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोमबार सर्वोच्च आदालतले कोरोना भाइरसको गम्भीर मूल्यांकन गरी जोखिम देखिए अन्तर्राष्ट्रिय उडान अवतरणमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको थियो।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .