ad ad

राजनीति


‘अप्रेसन क्रिटिकल थियो, प्रधानमन्त्रीको शरीरले कसरी रिकभर गर्छ पर्खाइमा छौं’

‘अप्रेसन क्रिटिकल थियो, प्रधानमन्त्रीको शरीरले कसरी रिकभर गर्छ पर्खाइमा छौं’

सागर न्यौपाने
फागुन २१, २०७६ बुधबार १७:०,

त्रिवि शिक्षण अस्पतालको मिर्गौला प्रत्यारोपण विभाग अन्तर्गत दोस्रो तल्लाको अप्रेसन थिएटर।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई बिहान साढे ९ बजे अप्रेसन थिएटरमा पुर्‍याइयो। त्यसपछि मिर्गौला निकाल्न उनलाई बेहोस बनाइयो।

१० बजेर ५ मिनेट जाँदा प्रधानमन्त्री ओलीलाई पनि सँगैको कोठामा लगियो।

शल्यचिकित्सा टोलीमा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. अनन्तकुमार र प्रा.डा.पवनराज चालिसे थिए भने प्रत्यारोपण टोलीमा प्रा.डा. दिव्यसिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, रविन नेपाली।

यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा.डा. सुवास आचार्य लगायतको टोली थियो।

PMhealthreport

प्रधानमन्त्रीको दोस्रो मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्नुपर्ने दबाबमा थिए सबै चिकित्सक।

एक त प्रधानमन्त्रीको ढल्किँदो उमेर, त्यसमाथि दोस्रो पटकको मिर्गौला प्रत्यारोपण। विभिन्न रोगको औषधी खाइरहेको प्रधानमन्त्रीको प्रत्यारोपण गर्नु जोखिमरहित थिएन।

देशकै उच्च पदस्थको मिर्गौला प्रत्यारोपण गर्ने कुरा चिकित्सकका लागि सुखद् थियो, सँगसँगै चर्को दबाब पनि।

‘हामी साधारण मानिसको प्रत्यारोपण गर्दै थिएनौं, देशकै उच्च पदस्थ व्यक्तिको प्रत्यारोपण गर्दै थियौं’ प्रत्यारोपण टोलीमा रहेका एक चिकित्सकले नेपालखबरसँग अनुभव साटे।

‘अपरेटिङ बेड’ मा पल्टिनुअघि प्रधानमन्त्री ओलीले चस्मा निकाले र मुसुक्क हाँस्दै सानो स्वरमा भने, ‘सबै राम्रो हुन्छ।’

चिकित्सकहरुले अलिकति हलुंगो महसुस गरे। सबैको मनोबल बढ्यो।

त्यसपछि मुख्य काम सुरु भयो।

प्रधानमन्त्रीलाई बेहोस बनाइयो। अर्काे कोठामा समीक्षाको मिर्गौला निकालिसकिएको थियो।

त्यसलाई ल्याएर प्रधानमन्त्रीकोमा प्रत्यारोपण गर्ने काम सुरु भयो। यो निकै लामो र जोखिमपूर्ण प्रक्रिया थियो।

चार घण्टाभन्दा बढी समय लगाएर प्रधानमन्त्री ओलीकोमा नयाँ मिर्गौला जोडिसकियो।

यतिबेलासम्म दिउँसो २ बजेको थियो।

फेरि एकपटक डाक्टरहरुले सबै प्रक्रिया राम्ररी हेरे। मिर्गौला जोडिएको भाग, नसाको अवस्था, रगत सञ्चालन प्रक्रिया लगायत सबैलाई राम्रोसँग नियालेपछि उनीहरुले भने, ‘एभ्रिथिङ इज वेल, क्रिटिकल अप्रेसन इज सक्सेसफुल।’

doctors kp kidney 1

अप्रेसन साढे २ बजे सम्पन्न भएको थियो।

‘त्यसपछि डाक्टरहरुले १५ मिनेट कुरे। प्रत्यारोपण सफल भएको १० देखि २० मिनेटको अवधिमा पिसाब आएको अवस्थामा प्रत्यारोपण सफल भएको मानिन्छ। भयो त्यस्तै। प्रधानमन्त्रीको पिसाब आयो,’ प्रत्यारोपण टोलीका प्रा.डा. पवनराज चालिसेले भने।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको वर्णन गरिरहँदा उनका आँखा चम्किरहेका थिए।

‘देशकै सबैभन्दा शक्तिशाली व्यक्तिले सरकारी अस्पतालमा आएर मिर्गौला प्रत्यारोपण गर्दा उनको उपचारमा आफू पनि संलग्न हुन पाउँदा खुसी लाग्नु स्वभाविक हो,’ प्रत्यारोपणमा संलग्न प्राध्यापक डा. पवनराज चालिसेले भने, ‘तर खुसीसँगै जिम्मेवारी पनि बढेको सम्झन्छु।’

डाक्टरहरुले आपसमा खुसी साटासाट गर्न थाले।

‘हामीलाई एकदमै हर्ष लागेको थियो। जोखिमपूर्ण कामलाई हामीले सफल पारेका थियौँ,’ प्रा.डा चालिसले भने।

 PMhealthreport4

‘त्यहाँ चिच्याउन मिलेन, तर हामी त्यति खुसी थियौँ,’ अर्का एक चिकित्सकले भने।

उता मिर्गौला दान दिने समीक्षालाई पनि अर्काे कोठाबाट निकालेर त्यही भवनको पारिपिट्ट रहेको अर्काे कोठामा लगियो।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको सूचना सबैतिर एकैछिनमा गयो। अस्पताल परिसरमा जम्मा भएका व्यक्तिहरु खुसीले गद्गद् भए।

समीक्षाका आफन्त उनलाई भेट्न दौडिए, प्रधानमन्त्रीको पछिल्लो अवस्थाबारे थाह पाउन मानिसहरु व्यग्रतासाथ पर्खिरहेका थिए। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका अन्य मन्त्रीहरु अस्पतालमै कुरिरहेका थिए।

केहीबेरपछि अस्पतालले प्रेस विज्ञप्ति जारी गर्‍यो। अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिए।

‘अहिले प्रधानमन्त्रीको पूर्ण रुपमा होस् आइसकेको छ। उहाँले आराम गरिरहनुभएको छ। नयाँ मिर्गौलाले काम गरेको छ,’ खड्गाले भने।

PMhealthreport2

‘पूरै ढुक्क हुने अवस्था छैन’
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। एनेक्स २ को कोठा नम्बर ६०१ मा बसेका प्रधानमन्त्री ओलीको ४० घण्टापछि अप्रेसन गरेर मिर्गौला प्रत्यारोपण गरिएको हो। पहिलो चरणको प्रत्यारोपण सफल भएको छ। यद्यपि अझै पनि केही जोखिम बाँकी रहेको चिकित्सकहरु बताउँछन्।

‘प्रत्यारोपण कार्य सफल भएपनि मिर्गौलाको कामबारे अहिले नै पूरै ढुक्क हुन सकिन्न। यसका लागि २-४ दिन लाग्न सक्छ,’ उपचारमा संलग्न एक चिकित्सकले नेपालखबरसँग भने।

‘प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल हुनु नै ठूलो कुरा हो। उहाँको शरीरमा नयाँ मिर्गाैलाले काम गरिसकेको छ। आउने जोखिमबारे हामी सतर्क छौँ,’ उनले भने।

प्रधानमन्त्रीको उच्च मनोबलकै कारण उपचार प्रक्रिया सफल हुँदै गएको प्रा.डा. चालिसेले बताए।

‘प्रधानमन्त्री ओलीमा यति उच्च मनोबल पाएँ कि उहाँले थुप्रै रोगलाई यसकै सहारामा पचाइदिनुभएको रहेछ,’ डा. चालिसेले नेपालखबरसँग थपे।

PMhealthreport3

यी हुन् प्रधानमन्त्रीका अबका जोखिम:

नयाँ मिर्गौलालाई शरीरले अस्वीकार गर्ने खतरा
प्रधानमन्त्रीको नयाँ जोडिएको मिर्गौलालाई शरीरले अस्वीकार गरिदिने खतरा हुनसक्छ। त्यसका लागि औषधि प्रयोग गरिएको हुन्छ।

‘यदि उहाँलाई उच्च रक्तचापको समस्या भयो भने, त्यसलाई फालिदिने खतरा हुन्छ। त्यसकारण उहाँ अबको केही दिन डाक्टरहरुको प्रत्यक्ष निगरानीमा रहनुहुनेछ,’ एक चिकित्सकले भने।

संक्रमणको जोखिम
शल्यक्रियापछि शरीरमा संक्रमण उच्च जोखिम हुन्छ। बढ्दो उमेर र विभिन्न रोगको औषधि सेवन गरिरहेका प्रधानमन्त्रीलाई ‘इम्युनो सप्रेसिभ ड्रग्स’ दिइएको छ। जसले रोगसँग लड्ने प्रतिरोधी क्षमतलाई कम गराउँछ।

सोही कारण प्रधानमन्त्रीको शरीरमा अन्य जीवाणुहरुले आक्रमण गर्ने खतरालाई ख्याल गरेर अबको ३ देखि ५ दिन सबैखालका भेटघाट बन्द गरिने अस्पतालका कार्यकारी निर्देशक खड्गाले बताए।

‘उहाँलाई कसैले पनि भेट्न पाउँदैन, केही दिन डाक्टर र नर्सले मात्रै उहाँलाई भेट्न पाउँछन्,’ उनले भने।

तर, मिर्गौला दिने समीक्षाले चाहेमा प्रधानमन्त्रीसँग भेट्न पाउनेछिन्। यद्यपि उनी आफैँ कम्तीमा ३ दिन उठेर हिँड्न सक्ने छैनन्।

मिर्गौलामै देखिने समस्या
अर्काको शरीरबाट नयाँ मिर्गौला लिएकाले कहिलेकाँही त्यसमा पनि समस्या देखिन सक्छ।

‘घाउ पाक्न सक्छ, त्यही भएर हामी उत्साहित भएपनि ढुक्क छैनौं,’ उपचारमा टोलीका एक सदस्यले नेपालखबरसँग भने।

पिसाबमा देखिने समस्या
मिर्गौला रोगीलाई पिसाबमा देखिने समस्याले कहिलेकाँही जटिलता निम्त्याउन सक्छ। पिसाब राम्रोसँग भएन भने, पिसाब फेर्न कठिन भयो भने मिर्गौलामा समस्या हुनसक्छ।

हाल लिभर ट्रान्स्प्लान्ट युनिटको आईसीयूस्थित भीभीआईपी सेक्सनमा प्रधानमन्त्री ओलीलाई राखिएको छ। अब उनको सुधारको गतिलाई नियालिने चिकित्सकहरुले बताएका छन्।

‘जोखिम अझै भएपनि उहाँको मिर्गौला प्रत्यारोपण सफल भएको छ। प्रधानमन्त्रीको शरीरले त्यसलाई कसरी रिकभर गर्छ, हामी त्यसकै पर्खाइमा छौँ,’ प्रा.डा. चालिसेले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .