राष्ट्रिय स्वतन्त्र पार्टीले मदन खड्काको नेतृत्वमा कर्णाली प्रदेश समिति गठन गरेको छ।
पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भदौ १५ गते शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको भेलाले सर्वसम्मत रुपमा खड्काको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको हो।
भेलाबाट प्रेम बोहरा उपप्रमुख, ललित चन्द महासचिव, हरि अधिकारी सचिव र स्नेहा उपाध्याय कोषाध्यक्ष चयन भएका छन्।
बुधे बुढा, ऋषिराम पाण्डे, निर्मला सापकोटा, अविसरा सुवेदी र सुनिता विक समितिको सदस्य छानिएका छन्।
प्रदेश प्रमुखका लागि ६ र सदस्यका लागि १७ जनाको उम्मेदवारी परे पनि आपसी सहमतिमै पदाधिकारी र सदस्य छानिएको रास्वपाका कार्यबाहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
केन्द्रीय सभापति रवि लामिछाने र कार्यवाहक महामन्त्री बुर्लाकोटीलगायत नेताको उपस्थितिमा भेलामार्फत प्रदेश समिति गठन गरिएको हो।
विशेष राजनीतिक र सांगठनिक अभियान आवश्यक रहेको निष्कर्षका साथ रास्वपाको केन्द्रीय समितिले २०८० फागुन ७ गते कर्णाली प्रदेशका सबै समिति विघटन गरेको थियो। ६ महिनाको सांगठनिक रिक्ततापछि रास्वपाले प्रदेश समिति हुँदै कर्णालीमा जिल्ला, पालिका र वडा समिति गठन सुरुवात गरेको हो।
यसको साथसाथै अन्य प्रदेशमा पनि प्रदेश भेला आयोजना गर्दै राष्ट्रिय भेलाको लागि उत्साहजनक सहभागिताको वातावरण बनाउदै जाने अभियानको योजना रहेको छ।
Shares
प्रतिक्रिया