ad ad

राजनीति


जब परराष्ट्रमन्त्रीलाई सांसदले र्‍याखर्‍याख्ती पारे (भिडियो)

जब परराष्ट्रमन्त्रीलाई सांसदले र्‍याखर्‍याख्ती पारे (भिडियो)

नेपालखबर
बैशाख २८, २०७७ आइतबार १४:५३,

लिपुलेकमा भारतले सडक बनाएको विषयमा आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीलाई सांसदहरुले र्‍याखर्‍याख्ती पारेका छन्। 

बैठकमा खासगरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सांसद भीम रावलबीच चर्काचर्की परेको थियो।

११ बजेदेखि संसद् बैठक सुरु हुने भएकाले १० बजेभित्र समितिको बैठक सक्ने बताइएको थियो। तर, १० बजेसम्म सबै सांसदले बोल्न पाएका थिएनन्।

मन्त्री ज्ञवाली हिँड्न लागेपछि कि आजै बैठकमा बोल्न पाउनुपर्छ नत्र मन्त्री भोलि पनि आउनुपर्छ भनेर सांसदहरुले माग गरे।

समितिकी सभापति निरौलाले मन्त्रीसँग समय लिएर बैठकको मिति तोक्ने बताइन्। मन्त्री ज्ञवालीले समय उपलब्ध भएपछि सभापति पवित्रा निरौलालाई जानकारी गराउने बताए।अहिले नै भोलि आउन सक्छु भन्न नसक्ने उनको भनाइ थियो।

त्यसपछि सांसद रावल आक्रोशित भएका थिए।

‘देशको सार्वभौमसत्तामाथि नांगो हस्तक्षेप भएको छ, यस्तो अवस्थामा समय नदिने? सरकार के का लागि हो?’ उनले प्रश्न गरे, ‘समय छैन भनेर मन्त्रीले भन्न मिल्दैन।’

सभापति निरौला रावललाई रोक्न खोज्छिन् तर उनी प्रतिवाद गर्छन्।

‘मलाई बोल्न दिनुस्। यहाँ अहिले मन्त्री बोल्नुपर्छ, हामी बोल्न पाउनुपर्छ। होइन भने बैठकको समय निर्धारण हुनुपर्छ। यता सुन्नुस् सभापतिज्यू, देशको सार्वभौमसत्ताको रक्षा भन्दा ठूलो अर्को काम के हो? मलाई सुनाउनुस्, ’ रावलले भने, ‘अहिले मिति तय हुनुपर्छ र त्यो बैठकमा कुरा राख्न पाउनुपर्छ। अनि बैठकबाट निर्णय हुनुपर्छ।’

भोलिको बैठकमा उपस्थित हुन सक्ने या नसक्नेबारे आफूले अहिले नै भन्न नसक्ने मन्त्री ज्ञवाली बताउँछन्।

त्यसपछि रावल उनीमाथि खनिन्छन्।

‘तपाईंले यसरी म भन्न सक्तिनँ भनेर भन्न मिल्दैन माननीय मन्त्रीज्यू!’ उनले भने।

त्यसपछि सभापति निरौलाले हस्तक्षेप गरिन्।

‘गम्भीर विषय आयो, आजै छलफल हुनुपर्छ भन्ने जोड भयो आजै यसलाई सक्न पाए हुन्थ्यो। तर, हामीले मात्रै चाहेर हुँदैन मन्त्रीज्यूको पनि समय होला उहाँले समय दिनपर्‍यो,’ निरौलाले भनिन्।

‘मन्त्रीज्यूले समय दिनुपर्छ, समय छैन भन्ने कुरा आउँदैन, देशमाथि नांगो आक्रमण भएको बेलामा मिटिङ हुन सक्तैन, अर्को काम पर्‍यो भन्न पाइँदैन,’ रावलले भने, ‘तपाईंले मिति अहिले तोक्नुपर्छ, कि हामीलाई बोल्न दिनुपर्छ।’

रावल रोकिएनन्। उनले चस्मा लगाए र मोबाइलमा परराष्ट्र मन्त्रालयबाट जारी वक्तव्य देखाउँदै थपे, ‘तपाईंहरुले बोल्न दिनुभएन। त्यसो भए मेरो एउटा प्रश्न छ। यसमा कसैको पनि हस्ताक्षर छैन। मन्त्रीज्यूलाई म प्रश्न गर्न चाहन्छु, अघिल्लो पटकको वक्तव्यमा पनि कुन व्यक्तिको हस्ताक्षर थियो हामीलाई थाहा भएन, अहिले त हस्ताक्षर नै छैन, यस्तो बेवारिसे वक्तव्य जारी गरेर अनि तपाईं अन्तराष्ट्रिय समितिमा आज छलफल नगरौं भन्न मिल्दैन।’

त्यसपछि सभापति पवित्रा निरौलाले मन्त्रीजीले समय दिनेबित्तिकै बैठक बस्ने जानकारी गराइन्।

रावलले फेरि प्रतिवाद गरे, ‘हुँदैन यहाँ छलफल गरेर यहाँ निर्णय गर्नुस्।’

सभापतिलाई निरौलालाई रोकेर रावल बोल्छन्, ‘भोलि बैठक बस्नुपर्छ, अनि अरु सांसदहरु पनि बोल्छन् , देशको सार्वभौमसत्ताभन्दा ठूलो अरु केही हुँदैन, तपाईं कसरी ससर्त बैठकको कुरा गर्दै हुनुहुन्छ? बैठकको निर्णय अनुसार समय तोक्नुस्।’

संघीय समाजवादी पार्टीकी मेनुका गुरुङले पनि बैठकको आगामी मिति तत्काल तोक्न माग गरिन्।

त्यसपछि मन्त्री प्रदीप ज्ञवाली झोँक्किए र अनावश्यक रुपमा मन्त्रीको इमान्दारितामाथि प्रश्न नउठाउन चुनौती दिए। उनलाई सांसदहरुले रोक्न खोजेका थिए तर, मन्त्री ज्ञवाली रोकिएनन्।

‘एकैछिन, संसदका सबै समितिमा मन्त्रीले जवाफ दिनुपर्छ यहाँमात्रै बोल्ने होइन होला नि,’ उनले भने। उनले रावलले उठाएको हस्ताक्षरविनाको वक्तव्यसम्बन्धी प्रश्नको जवाफ दिँदै भने, ‘अन्तराष्ट्रिय अभ्यास हेरौं, सोही वक्तव्यको आधारमा भारतले रेस्पोन्स गरिसक्यो यसलाई हामी बेवारिसे भन्छौं? अभ्यास के छन्, त्यो त सजिलै हेर्न सकिन्छ होला, गुगल हेर्दा पनि थाहा हुन्छ होला।’

‘परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्य हो यसलाई चानचुने नठानौँ,’ ज्ञवालीले थपे।

त्यसपछि मन्त्रीको समयअनुसार सोमबार बिहान साढे ८ बजे बैठक बस्ने समय तय गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .