ad ad

राजनीति


गण्डकीका सभासदहरुको चिन्ता : कोरोना फैलाउने उद्योग बन्ने त होइनन् क्वारेन्टिन?

गण्डकीका सभासदहरुको चिन्ता : कोरोना फैलाउने उद्योग बन्ने त होइनन् क्वारेन्टिन?

नेपालखबर
जेठ १३, २०७७ मंगलबार १४:२,

गण्डकी प्रदेशसभाका सभासदले कोरोना भाइरस रोकथामको लागि पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग गरेका छन्।

उनीहरुले क्वारेन्टिनको व्यवस्थापन नहुँदा त्यो कोरोना संक्रमण फैलाउने उद्योग बन्नसक्ने पो हुन् कि चिन्ता देखाएका छन्।

सभाको शुन्य र विशेष समयमा बोल्दै उनीहरुले राहतका कार्यक्रमको माग पनि गरे।

‘अहिले पनि भारतसँगका सीमा नाकाबाट मानिसहरु आइरहेका छन्, आरडीटी टेष्ट पनि नगरेर सीमाबाट आइरहेको अवस्था छ, यहाँको क्वारेन्टिनमा पनि परीक्षण बिनै राखेको अवस्था छ,’ प्रदेशसभाको छैठौं बैठकको विशेष समयमा बोल्दै सभासद विन्दुकुमार थापाले भने, ‘क्वारेण्टाइनकै कारणाबाट बाँकेमा ४७ जनालाई भाइरस स¥यो, क्वारेन्टिन कोरोना फैलाउने उद्योग नबनोस।’

उनले ५०÷५० जना एकै ठाउँमा नराख्न तथा होम क्वारेन्टिन एवं होटललाई क्वारेन्टिन बनाउनुपर्छ।’

सांसद ओमकला गौतमले नागरिकको तुरुन्त कोरोना बीमा गरिनुपर्ने एक घर एक पीसीआर जाँच र राहतको सट्टा रोजगार अनि प्रत्येक स्थानीय तहमा खाद्यान्न भण्डार खडा गर्नुपर्ने माग गरिन्।
कम्तिमा परिवारमा एक जनाको परीक्षण गरे जोखिम अनुमान लगाउन सकिने उनको भनाई थियो।

गौतमले कोरोना फ्रि छौं भनेर खुसी हुनुको कुनै तुक नरहेको दाबी पनि गरिन।

‘के मुक्तिनाथ र पशुपतिनाथले नै बचाउने हुन् त हाम्रो प्रदेशका जनतालाई? लकडाउनलाई व्यवस्थित बनाउन जरुरी छ, गर्न मिल्ने काम सामाजिक दूरी कायम गरेर सुरु गर्नुपर्छ,’ उनले भनिन्, ‘प्रत्येक स्थानीय तहमा व्यवस्थित क्वारेन्टिन बनाइयोस्।’

बागलुङका प्रदेश सांसद ईन्द्रलाल सापकोटाले जेठ ११ गतेसम्म बागलुङमा भारतबाट ३ सय १५ जना आएको जानकारी दिँदै सबैको पीसीआर परीक्षणको माग गरे।

उनले स्वाब संकलन गर्ने भिटिएमको कमी भएको हुँदा स्वाब लिन पनि समस्या परेको गुनासो गरेका थिए। यस्तै, क्वारेन्टिन मापदण्ड र आवश्यकता अनुसार बन्न नसक्दा यसबाट पनि थप संक्रमण फैलिन सक्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

अर्का सांसद प्रकाशचन्द्र दवाडीले बन्दाबन्दीको कारण श्रमिकको गासबास खोसिने अवस्था आएको जिकिर गरे।

आफ्नो निर्वाचन क्षेत्र गोरखा उत्तरी क्षेत्रका जनता भोकभोकै हुने अवस्था आएको उनको जिकिर थियो।

गण्डकी प्रदेश सांसद राजिव पहारीले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि स्पष्ट नीति र दृष्टिकोण बनाएका कारण नेपालमा कोरोना संक्रमण फैलिन नपाएको दाबी गरे। सांसद मिना गुरुङले कोरोना संक्रमण रोक्न जनप्रतिनिधि प्रभावकारी रुपमा लाग्नुपर्नेमा जोड दिइन्।

सांसद खिमविक्रम शाहीले विदेशमा अलपत्र अवस्थामा रहेका नागरिकको उद्धार गर्नुपर्ने माग गरे। सांसद धनमाया लामाले रोजगारी सिर्जना गर्ने प्याकेज तत्काल घोषणा गर्न माग गरिन्।
सांसद ओमकला गौतमले लकडाउनमा पनि कृषि, उद्योग सञ्चालन गर्नुपर्ने माग गरिन्।

सभाको शुन्य समयमा भगतप्रसाद मल्ल, कृष्णबहादुर थापा, दोबाटे विश्वकर्मा, मणिभद्र शर्मा, मनकुमारी गुरुङ, मनबहादुर गुरुङ, बिष्णुप्रसाद लामिछाने र लक्ष्मी सुनारले बोलेका थिए भने सभाको विशेष समयमा धनमाया पोखरेल लामा, मोहनप्रसाद रेग्मी, प्रभा कोइरालालगायतले पनि बोलेका थिए।

रुकुम हत्याको निन्दा
गण्डकी प्रदेशसभामा पश्चिम रुकुमको जातीय विभेद र हत्या प्रकरणले पनि प्रवेश पायो। प्रदेशसभाका छैठौं बैठकको दोस्रो दिन मंगलबारको विशेष समयमा बोल्दै सभासदहरुले यो घटनालाई ‘जघन्य अपराध र मानवतामाथिको प्रश्न’को संज्ञा दिएका हुन्।

नवलपरासीबाट गण्डकी प्रदेशसभाका लागि निर्वाचित सांसद लक्ष्मी सुनारले अन्तरजातीय प्रेम गरेकै कारण मारिएका नवराज विकका हत्यारालाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने बताइन।
सभाको शुन्य समयमा बोल्दै सुनारले २१औं शताब्दीमा पनि यस्तो जघन्य अपराध घटेकोप्रति उनले रोष प्रकट गरिन्।

‘कम्युनिष्टको सरकारमा पनि ज्यान गुमाउनुपर्‍यो’, सभाको शुन्य समयमा बोल्दै उनले भनिन्।

यस्तै, सभाको विशेष समयमा बोल्दै सभासद जुनादेवी नेपालीले नरसंहारमा जनताले भोट खसाएर रक्षकको रुपमा चुनिएका वडाध्यक्ष नै संलग्न भएकोप्रति गम्भीर आपत्ति प्रकट गरिन्।
‘रक्षक नै भक्षक भए’,उनले भनिन्, ‘वास्तविक घटना सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही होस।’

वातावरण विधेयक बहुमतले पारित
गण्डकी प्रदेशसभाको छैठौं अधिवेशन अन्तर्गतको दोस्रो बैठकले ‘वातावरण संरक्षण गर्न बनेको विधेयक’ पारित गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विधेयक पारित गर्न गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको हो। प्रदेशसभाको अर्काे बैठक बुधबार दिउसो १ बजे बस्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .