ad ad

समाज


७५ जना कोरोना संक्रमित निको पारेर नियमित सेवा सुरु गर्दै नारायणी अस्पताल

७५ जना कोरोना संक्रमित निको पारेर नियमित सेवा सुरु गर्दै नारायणी अस्पताल

सागर न्यौपाने
जेठ १३, २०७७ मंगलबार १४:३०,

७५ जना कोरोना संक्रमित डिस्चार्ज भएपछि पर्साको नारायणी उपक्षेत्रीय अस्पतालले नियमित सेवा सुरु गर्ने तयारी थालेको छ।

अस्पतालको आइसोलेसनमा रहेका सबै कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको र नियमित सेवा सञ्चालन गर्ने तयारीमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए।

कोरोना संक्रमितको उपचार सकेर नियमित सेवामा फर्कन लागेको नारायणी पहिलो अस्पताल पनि बनेको छ।

अस्पतालले ४ महिने बच्चादेखि ७० वर्षका वृद्धसम्मको उपचार गरेको थियो। सोमबार एकैपटक ४३ जनाको डिस्चार्ज गरेपछि अस्पताल खाली भएको डा. उपाध्यायले बताए।

‘अहिले अस्पतालमा कोरोना संक्रमित छैनन्, सबै डिस्चार्ज भए,’ डा. उपाध्यायले नेपालखबरसँग भने, ‘आजै बिहान वीरगञ्ज महानगरपालिकाले अस्पताललाई स्यानिटाइज गरेको छ।’

पर्सा, रौतहट, बारा र सर्लाहीका समेत गरी अस्पतालले कुल एक सय ५ जना कोरोना संक्रमितको उपचार गरेको छ। जसमा ४ महिनादेखि १५ वर्षसम्मका ११ जना छन् भने १५ जना महिला छन्।

तीमध्ये नारायणी उपक्षेत्रीय अस्पतालमा मात्रै ७५ जनाको उपचार गरिएको थियो। बाँकी ३० जना संक्रमितलाई अलग्गै रहेको नारायणी कोरोना अस्थायी अस्पतालमा राखेर उपचार गरिएको छ। उक्त अस्थायी अस्पतालको व्यवस्थापन र संक्रमितको उपचार पनि नारायणी अस्पतालले नै गरिरहेको छ।

डा. उपाध्यायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन आएलगत्तै नियमित सेवा सुरु गरिने बताए।

‘कोरोना संक्रमित सबैलाई निको पारेर हामी अस्पतालमा अन्य सेवा सुरु गर्न लागेका छौं,’ उपाध्यायले थपे, ‘त्यसका लागि विश्व स्वास्थ्य संगठनले दिएको कार्यविधि अनुुसरण गर्दैछौं र मन्त्रालयको निर्देशनको पर्खाइमा छौं।’

चैत २८ गते पहिलो पटक भारतबाट आएका तीनजनामा कोरोना संक्रमण देखिएपछि अस्पतालले आइसोलेसनमा राखेर उपचार गरेको थियो। चैत २९ गते रौतहटका एक युवामा पनि संक्रमण देखिएको थियो।

सरकारले चैत ३० गते सो अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने अस्पतालमा स्तोरोन्नति गरेपछि नियमित सेवा बन्द गरिएको थियो।

नारायणी अस्पताल खाली भए पनि प्रदेश २ मा संक्रमण बढ्दै गएपछि स्वास्थ्य सेवा प्रणालीमा चुनौती बढ्दै गएको छ।

८ वटा जिल्ला रहेको प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३५ जना संक्रमित थपिएका छन्। ती बिरामीलाई अहिले सम्बन्धित जिल्लाकै आइसोलेसन र क्वारेन्टिनमा राखिएको छ।

‘दैनिक बढिरहेको संक्रमितलाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा प्रदेश र स्थानीय तहले समन्वय गरे भने अब हाम्रो अस्पतालमा बिरामी राख्नु पर्दैन,’ डा उपाध्यायले भने।

narayani hospital235

एकैपटक ७८ जनाको उपचार
अस्पतालले एकैपटक सबैभन्दा धेरै ७८ जना कोरोना संक्रमितको उपचार गरेको थियो।

कम जनशक्ति, स्रोत साधनको अभाव र बेड संख्या नै कम भएको अवस्थामा एकैपटक ठूलो संख्यामा बिरामी राख्नुपर्दा अस्पतालका डाक्टरहरुले आराम समेत गर्न नपाएको डा. उपाध्यायले बताए।

‘शिशुदेखि वृद्ध, दम, सुगर र प्रेसरको रोगी भएका संक्रमितहरुलाई निको पारेर घर पठाउने काम चुनौतीपूर्ण थियो हामीले सफलता पाएका छौँ,’ डा. उपाध्यायले भने।

अस्पतालको भौतिक संरचनाको विषयमा पटक पटक प्रश्न उठेको थियो। त्यहाँ रहेका ट्वाइलेट, बाथरुम सफा नभएको, एउटै बाथरुम धेरैले प्रयोग गर्नुपरेको जस्ता विषयमा अस्पतालको आलोचना पनि भएको थियो। त्यसबाहेक आवश्यक जनशक्ति सामग्रीको अभाव पनि झेल्नुपरेको उनको गुनासो छ।

‘चिकित्सक पर्याप्त थिएनन्, दरबन्दीमा भएकै जनशक्ति पनि छैनन्, सुरक्षा सामग्री (पिपिई, गगल्स, पञ्जा) जस्ता अत्यावश्यक सामग्रीको अभाव पनि झेल्नुपर्‍यो,’ उनले भने।

प्रदेश र स्थानीय तहबाट सहयोग नपाएको उनको भनाइ छ।

‘प्रदेश र स्थानीय तहबाट राम्रो सहकार्य भएन, थोरै जनशक्तिले अस्पतालमा काम गर्नुपर्‍यो, बच्चा र मुटु रोगीहरु नै संक्रमित थिए जसलाई निको बनाएर पठाउने काममा हाम्रा सबै टिमले उत्कृष्ट काम गर्‍यो,’ उनले भने।

हतार हतार बनाइयो कोरोना अस्पताल
संक्रमितको संख्या बढ्न थालेपछि चैत ३० गते यसलाई कोरोना संक्रमितको मात्रै उपचार गर्ने अस्पतालमा रुपान्तरण गरिएको थियो। अस्पतालको साढे तीन सय बेडको संख्या घटाएर ७० बनाइएको थियो।

आइसोलेसन, आईसीयुको व्यवस्था सबै हतारहतारमा गरिएको थियो। सीसीटीभी समेत त्यसैबेला जडान गरिएको थियो।

अस्पतालमा पत्रकार, प्रहरी र बिरामीको उपचारमा संलग्न एकजना डाक्टरलार्य पनि संक्रमण भएपछि उपचार गर्नुपरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .