ad ad

राजनीति


महन्थको मन बुझाउन बाबुरामले लगाएका थिए आफ्नै नाममा ‘टिपेक्स’

महन्थको मन बुझाउन बाबुरामले लगाएका थिए आफ्नै नाममा ‘टिपेक्स’

सागर न्यौपाने
जेठ २७, २०७७ मंगलबार १४:२७,

जेठ २५ गते नवगठित जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भयो। केही बेरअघिसम्म तीन अध्यक्षमध्ये एक र दोस्रो वरियतामा रहने भनिएका डा. बाबुराम भट्टराईको नाम दल दर्ता हुँदा चौथो स्थानमा देखियो।

यसले सामाजिक सञ्जालमा बहस सिर्जना गर्‍यो। एकाथरीले डा. भट्टराईले पार्टी एकतालाई कायम राख्न पदको लोभ नगरेको, त्याग गरेको भन्दै उनको प्रशंसा गरिरहेका छन्। अर्काथरीले भने प्रधानमन्त्री बनिसकेका व्यक्तिको उचाइको कदर नगरिएको तर्क गरेका छन्।

दल दर्ता गर्नु ठिकअघि भट्टराई आफैँले आफ्नो नाम टिपेक्सले मेटेर चौथो नम्बरमा लेखेका थिए। भट्टराईले किन त्यस्तो गरे त?

तराईमा क्रियाशील दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र डा. भट्टराई, उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीबीच वैशाख १० मै एकता हुने घोषणा भएको थियो। नयाँ दल दर्ताका लागि उनीहरुले आयोगमा निवेदन पनि दिइसकेका थिए।

निवेदन दिएको ४५ दिनभित्र आयोगमा दल दर्ता गर्नुपर्ने व्यवस्था छ। जसअनुसार जेठ २५ गते दल दर्ताको अन्तिम मिति थियो। त्यही दिन ४ बजेर ४० मिनेटमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. भट्टराई, अशोक राई, राजेन्द्र महतो, शरतसिहं भण्डारी लगायत जसपाका नेताहरु निर्वाचन आयोग पुगे।

दल दर्ताका लागि आवश्यक सबै कागजात आयोगमा बुझाउनुअघि आयोग कार्यालय परिसरमै बसेर महन्थ ठाकुरले सरसर्ती पढे। तर, दोस्रो वरियतामा डा. भट्टराईको नाम देखेपछि उनको चित्त बुझेन।

पार्टीे वरियताको शीर्षमा ठाकुर रहने विषय सर्वसम्मत थियो। तर, शक्तिका हिसाबले भट्टराई आफूभन्दा माथि पर्ने देखेपछि ठाकुरले असन्तुष्टि जनाएका हुन्।

जसपाको निर्णय प्रक्रियामा महाधिवेशनपछि शक्तिशाली निकाय संघीय परिषद् तोकिएको छ। त्यसपछि मात्रै केन्द्रीय कार्यसमिति रहन्छ। त्यसैले वरियतामा दोस्रो स्थान रहेपनि संघीय परिषद् अध्यक्ष हुँदा भट्टराई शक्तिशाली हुन सक्थे।

‘जब दोस्रो नम्बरमा डा. भट्टराईको नाम ठाकुरले देख्नुभयो, उहाँ झस्किनुभयो। अनि त्यो सच्याउनुपर्ने बताउनुभयो,’ जसपाका एक नेताले भने।

ठाकुरलाई थाहै नदिई दोस्रो वरियतामा भट्टराईको नाम आएपछि उनले भट्टराईको नाम मेटाइदिएको ठाकुरनिकट एक नेताले बताए।

‘जसपा बनेपछि सुरुदेखि नै पहिलो वरियतामा ठाकुरजी रहने सहमति बनेको थियो,’ ती नेताले नेपालखबरसँग भने, ‘अरुको बरियताबारे कुनै सहमति भएको थिएन। तर, भट्टराईको नाम दोस्रो वरियतामा देखेपछि ठाकुरजीले सहमति पालना गरौँ भन्नुभयो।’

डा. भट्टराइले आफूलाई पदभन्दा पार्टी एकता ठूलो रहेकोले जुनसुकै भूमिकामा बस्न तयार रहेको बताउँदै नाम मेटेर चौथोमा लेखेको डा. भट्टराईका सहयोगी रोशन पोखरेलले बताए।

‘५ बज्न ५ मिनेट जति समय बाँकी थियो,’ पोखरेलले भने, भट्टराईको नाम दोस्रो नम्बरमा देखेपछि ठाकुर सरले चित्त नबुझाएर मिलाउनुपर्‍यो भन्नुभयो। कागजात नयाँ प्रिन्ट गरेर ल्याउन समय नभएपछि डा.भट्टराई आफैँले ल मेरो नाम दोस्रो नम्बरबाट हटाइदिन्छु भन्नुभयो, अनि आफ्नो नाममा टिपेक्स लगाइदिनुभयो।’

पोखरेलले थपे, ‘अनि कहाँ नाम लेख्ने भनेर खोज्दै जाँदा अशोक राईभन्दा तल र राजेन्द्र महतोभन्दा माथि केही ‘ग्याप’ रहेछ त्यहीँ आफ्नै अक्षरले नाम लेखिदिनुभयो।’

२ नम्बरमा रहेको नामलाई टिपेक्स लगाएर मेटेपछि दल दर्ताको माहोल बनेको पोखरेलले बताए।

‘राजपासँग एकता गर्न मरिमेटेर लाग्नुभएका भट्टराईको नाममा अरुले टिपेक्स लगाउने कुरै हुँदैन’, पोखरेलले दाबी गरे, ‘अब आयोगबाट दल दर्ता भएको औपचारिक जानकारी आएपछि नयाँ पार्टीमा नेताहरुको पदीय जिम्मेवारी केन्द्रीय कार्यकारिणीको बैठकबाट गर्ने सहमति बनेको छ।’

जसपामा सबैभन्दा माथिल्लो निकाय महाधिवेशन, त्यसपछि संघीय परिषद् र त्यसपछि केन्द्रीय समिति र अनि प्रदेश समिति रहनेगरी पार्टीको संरचना बनाउने सहमति छ। र, भट्टराई संघीय परिषद्को अध्यक्ष बन्ने सहमति भइसकेको नेताहरु बताउँछन्।

जसपाका नेता महेन्द्र यादवले पार्टीमा वरियताको विषयमा कुनै विवाद नरहेको बताए।

‘निर्वाचन आयोगबाट जसपा दल दर्ता भएको औपचारिक जानकारी पाएपछि हामी बैठक बसेर नेताहरुको वरियता टुंगो लगाउनेछौं,’ यादवले भने, ‘पार्टीभित्र केही विवाद पनि छैन, कोही असन्तुष्ट पनि छैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .