ad ad

राजनीति


कोरोना नियन्त्रण र अर्थतन्त्र चलायमान बनाउन कांग्रेसले बुझायो ज्ञापन, यस्ता छन् सुझावहरु

कोरोना नियन्त्रण र अर्थतन्त्र चलायमान बनाउन कांग्रेसले बुझायो ज्ञापन, यस्ता छन् सुझावहरु

नेपालखबर
जेठ २८, २०७७ बुधबार ८:५८,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण तथा देशको अर्थतन्त्र चलायमान बनाउन सरकारलाई १२ बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएको छ।

बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापन बुझाएको हो।

सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेता पौडेलको नेतृत्वमा सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो।

यस्ता छन्, कांग्रेसको ज्ञापन पत्रका बुँदाहरु
१) नेपालमा २०७६ साल माघ ९ गते कोभिड १९ को पहिलो संक्रमित व्यक्ति फेला परेको हो। सरकारी तथ्यांक अनुसार आजसम्म नेपालमा कोभिड १९ को कारण १५ जना नेपालीको मृत्यु भैसकेको छ। देशभरिमा चार हजार ८५ जना संक्रमित छन्। एक लाख ६५ हजार सात हजार ७५ मानिस क्वारेन्टिनमा छन्। कोभिड १९ कै कारणले उत्पन्न परिस्थितिमा कैयन नागरिकहरुले अन्य रोग, भोक, मानसिक तनावले जीवन गुमाइसकेका छन्। नेपाल बाहिर पनि विदेशमा विभिन्न मुलुकमा नेपाली नागरिको मृत्यु भएका र संक्रमित भएका छन्। कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनु हुने सबै नेपाली दाजुभाइ–दिदिबहिनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं। संक्रमित सबैमा शिघ्र स्वास्थलाभको कामना गर्दछौं।

२) हाम्रो पार्टीको आब्हानमा नेपाली कांग्रेसका नेता, पार्टी सदस्य, भातृ एवं शुभेच्छुक संस्थाका साथी तथा सबै शुभेच्छुकहरु देशभरिनै आ–आफ्ना ठाँउबाट कोभिड १९ विरुद्धको लडाईमा क्रियाशिलतापूर्वक काम गरिरहेका छन्। विदेशमा पनि नेपाली जनसम्पर्क समिति र अन्य शुभेच्छुक साथीहरु जोखिम मोल्दै अहोरात्र खटिई काम गरिरहेका छन्। यो कार्य निरन्तर जारी रहने छ।

३) नेपाली कांग्रेसले प्रारम्भ देखिनै कोभिड १९ को जोखिम, यसबाट उत्पन्न हुने तत्कालिन एवं दीर्घकालिन नकारात्मक प्रभाव, यस विपद्वाट उत्पन्न समस्यालाई न्यूनिकरण गर्ने र देश र जनतालाई जोगाउने उपाय बारे सुक्ष्म रुपले अध्ययन र विश्लेषण गर्दै कोभिड १९ विरुद्धको लडाईमा सरकार लगाायत सबैलाई सदैव साथ सहयोग दिने र सबै नेपाली एकताबद्ध भई यो विपद्का विरुद्धमा लड्ने हाम्रो प्रतिवद्धता रहि आएको छ। नेपाली कांग्रेसले सदासयतापूर्ण तवरले काम गर्दै सरकारलाई निरन्तर सुझाव दिई रहेको तपाईलाई स्मरण गराउन चाहन्छौं।

४) नेपाली कांग्रेसको निरन्तरको सहयोग, संचार माध्यम, नागरिक समाज र आम जनताको साथले सृजना गरेको अनुकूलताको वावजुद पनि सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति वेहोर्न परेको छ। हाम्रो सुझावलाई मनन् गरेर समयमा उपयुक्त कदमहरु चालिएको भए यस्तो अवस्था कदाचित हुने थिएन।

५) समयमा सामग्रीको आपुर्ति गरिएन। विश्वब्यापी रुपमै भरपर्दो नदेखिएको अविश्वसनीय परिणाम आउने ¥यापिड टेस्ट अहिलेसम्म भईरहेको छ। पीसीआर विधिबाट अत्यन्त न्यून (जम्मा ०ं३२ प्रतिशत मात्र) परीक्षण भएको छ। देशभरिनै क्वारेन्टिन साह्रै अव्यवस्थित छन्। क्वारेन्टिनको उचित व्यवस्थापन नभएका कारण क्वारेन्टिनबाट नै संक्रमण फैलिरहेको छ। क्वारेन्टिनमा नै मानिसहरुको मृत्यु भएको छ। मृत्युपछि र दाहसंस्कार गरिसकेपछि कोभिड १९ पोजिटिभ देखिने गरेका घटनाले परीक्षणको दयनीय अवस्थालाई उजागर गरेको छ। क्वारेन्टिनमा दिनानुदिन मानिसको संख्या बढिरहेको छ तर किट र प्रयोगशालाको अभावमा परीक्षणको गति शून्य प्रायः छ। फलतः संक्रमितको एकिन संख्याको जानकारी छैन।

कतिपय स्थानमा अहिले स्वाव लिने काम पनि बन्द गरिएको छ। लामो समयसम्म स्वावलाई प्रयोगशालामा राखी ढिलो गरी परीक्षण गर्ने कामले सही परिणाम नआउने खतरा छ। सरकारले मिति २०७७।०२।२० गते कोभिड-१९ बारे जारी गरेको राष्ट्रिय परिक्षण निर्देशिकामा पोजिटिभ केसहरुलाई सिमटम फ्री भएको तीन दिन र जम्मा १४ दिनको भर्ना, आईसोलेसनपछि टेष्टनै नगरि डिस्चार्ज गर्ने अत्यन्त गैर जिम्मेवार नीति लिएको छ। यो सरकारको जनताका स्वास्थ प्रतिको असंवेदनशीलताको हो। आवश्यकताको आधारमा न्यायपूर्ण ढंगले राहतको वितरण भएन।

६) सरकारले लक डाउनलाई ठिक ढगंले उपयोग गरेन। यस बीचमा सरकारले अस्पतालको क्षमता, गुणस्तर वृद्धि गर्ने तर्फ पटक्कै ध्यान दिएन। संक्रमितहरुलाई अस्पतालमा राखेर उपचार गर्न नसक्ने अवस्था सिर्जना हुँदैछ। कोभिड १९ बाहेकका मुटु, क्यान्सर, फोक्सो, मृगौला, गर्भावस्थामा रहेका महिलाहरुको, चोट पटक लाग्ने लगायतका विभिन्न विरामीहरुको स्वास्थ्य उपचारको उचित व्यवस्थापन हुन सकेको छैन। सरकारी अस्पतालहरु यसमा सक्षम देखिएका छैनन्। निजी अस्पतालहरुलाई पनि सरकारले उचित समन्वय गरी सेवा उपलब्ध गराउन सकेको छैन।

७) राष्ट्रिय विपतिको यस्तो अवस्थामा स्वास्थ्य सामग्री खरीदमा पटक पटक अनियमितता तथा भ्रष्टाचार भएको घटनाले सबै नागरिकलाई स्तब्ध बनाएको छ। कमीसनको कारणले सामग्री आपूर्तिमा ढिलो भएको छ। सरकारले दश अर्ब खर्च भएको भनेको तर सो अनुसार काम देखिएको छैन।

८) स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी र पत्रकारहरु अग्रपंक्तिमा रहेर आफ्नो कार्य सम्पादन गरिरहेका मानिसहरुको न व्यक्तिगत सुरक्षाको उचित प्रबन्ध छ न उनीहरुलाई प्रोत्साहित गर्ने कुनै नीति, योजना छ।

९) भारतबाट आएका मानिसलाई समयमा नै परीक्षण गरि सुरक्षित ढंगले घर पु-याउनु पर्दथ्यो। सरकारले दुवै देशबिच आ–आफ्नो देशमा प्रवन्ध गरेर राख्ने व्यवस्था भएको छ भनि भ्रामक कुरा ग-यो। विभिन्न देशमा नेपाली दिदीबहिनी–दाजुभाइहरु विचल्लीमा परेका छन्। विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन नसक्दा परिवारजनले असिम पीडा भोगिरहेका छन्। विदेशमा समस्यामा रहेका नेपाली नागरिकको उद्धार गर्ने काम भएको छैन।

१०) साना ठूला हजारौं उद्योग व्यवसाय बन्द छन्। लाखौं श्रमिक र साना उद्यमी व्यवसायी वेरोजगार भएका छन्। विदेशबाट लाखौं नेपाली फर्किदै छन्। नागरिकहरुको आर्थिक अवस्था नाजुक भएको छ। उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई चलाएमान गर्न र नागरिकको जीवनमा आएको आर्थिक संकटलाई कम गर्न सरकार गम्भीर भएको छैन।

११) कोरोना महामारीको निवारण र नियन्त्रणको सन्दर्भमा सरकारको यति दिनको रवैया हेर्दा यो दुःख र पीडाको घडीमा सरकार जनताको साथमा देखिएको छैन। समग्रमा नेपाल सरकार कोभिड १९ को जोखिमपूर्ण अवस्थामा जिम्मेवार, संवेदनशील, गम्भीर र सक्षम हुन सकेको छैन। प्रमुख प्रतिपक्ष र अन्य सबैको निरन्तरको साथ र सुझावका बावजुद सरकार कोरोना विरुद्धको संघर्षको सक्षम ढंगले नेतृत्व गर्न, कोभिड १९ को महामारी नियन्त्रण गर्न र देश र जनतालाई विपद्वाट सुरक्षित राख्न पूर्ण रुपले असफल भएको छ।

१२) हामी सरकारसँग कोभिड १९ को प्रकोप नियन्त्रण गरि देश र जनतालाई विपद्बाट जोगाउन तत्काल निम्न लिखित कार्य गर्न पुनः माग गर्दछौं।

(क) सामग्रीको आपूर्तिः कोभिड १९ को नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गरियोस्। पीसीआर परिीक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्व व्यवस्था गरियोस्।

(ख) क्वारेन्टिन व्यवस्थापनः मापदण्ड अनुसार क्वारेन्टिनको उचित व्यवस्थापन र संचालन गरी पिउने पानी, खाना, सुरक्षित दूरी सहित बस्ने व्यवस्था, शौचालय, उमेर र स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधि, एम्बुलेन्स, परीक्षण तथा नियमित परामर्शको व्यवस्था गरियोस्। क्वारेन्टिन संचालन गर्न स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत तत्काल उपलब्ध गरियोस्। सरकारले राजनीतिक आस्था र आग्रहका आधारमा स्थानिय तहलाई हेरि रहेको छ। यस्ता कार्य तत्काल बन्द गरियोस् ।

(ग) परीक्षणः विश्वसनीय प्रविधिवाट बढी भन्दा बढी नागरिको परिक्षणको व्यवस्था गरियोस्। पीसीआर परीक्षण गर्नु पर्नेको दायरा विस्तार गरी क्वारेन्टिनमा राखिएका सबैलाई पीसीआर विधिबाट परीक्षण गरे पश्चात मात्र घर पठाउने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाव परीक्षण गर्ने, आइसोलेसनमा रहेका व्यक्तिको परीक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस्।

(घ) अस्पतालको व्यवस्थापनः कोरोना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधि, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको व्यवस्था अविलम्व गरियोस्। अन्य रोगका सम्बन्धमा सबै सेवा विना अवरोध पाउने सुनिश्चिता गरियोस्। लकडाउनको अवधिमा सयकडौं मानिसहरुले आत्महत्या गरेका छन्। यसले नागरिकको राज्यका प्रति चरम निराशा देखाउँछ। यस्ता समस्याको समाधानका लागि सरकारले आवश्यक कार्य गरोस्।

(ङ) भ्रष्टाचार अनियमितता होईन पारदर्शिताः राष्ट्र विपतमा रहेको बेला स्वास्थ्य सामग्री खरीद जस्तो विषयमा निरन्तर भ्रष्टाचार कमीसनको जालो भइरहनु निर्लज्ताको पराकाष्ठाहो। सरकार कोभिड १९ नियन्त्रण गर्ने कार्यका लागि १० अर्ब खर्च भएको भनिरहेको छ। त्यो खर्चको सम्पूर्ण विवरण सार्वजनिक गरियोस्। हालसालै पनि स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको विषय सार्वजनिक भएको छ। यी सबै भ्रष्टाचार, अनियमीतता बारे छानबिन गरीे तत्काल सार्वजनिक रुपमा जानकारी गरियोस्।

(च) राहत वितरणः राहत दिनु पर्ने श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका नागरिक र एकल महिला लगायतलाई न्यायोचित ढंगले राहत वितरण गरिने व्यवस्था गरियोस्। राहतका खाद्य सामग्रीको गुणस्तर कायम गरियोस् र राहतको वितरण भनसुन र राजनीतिक आग्रहका आधारमा गरिने काम बन्द गरियोस्।

(छ) विदेशवाट नागरिकको उद्धारः विदेशमा विचल्लीमा परि घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गरियोस्। विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन आवश्यक काम होस्।

(ज) रोजगारीः देश भित्र र बाहिर लाखौं नेपालीहरुले रोजगारी गुमाएको वर्तमान अवस्थामा देशमा व्यापक रोजगारीको सिर्जना गर्न आवश्यक छ। संसद कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रपति शिक्षा जस्ता कार्यक्रम हटाएर पालिकास्तरमा उत्पादनमुखी रोजगारीको व्यवस्था गर्न निर्देशिका सहित पालिकामा पठाईयोस्।

(झ) कृषि र खाद्य सुरक्षाः अहिलेको विपद्ले खाद्य अभाव भई भोकमरीको संकट आउन सक्दछ। जीवन निर्वाहको चुनौतिबाट गुज्रिरहेको वर्तमान अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो। बीउ विजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदान मार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पु¥याउने कार्य गरियोस्।

(ञ) आर्थिक क्षेत्रः अर्थतन्त्रलाई चलायमान गर्ने तयारी तत्कालै गर्न आवश्यक छ। देशका साना, ठूलो उद्योग, व्यापार, व्यवसाय ठप्प भएका छन। औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरु तथा सानोतिनो स्वःव्यवसाय गरी जिविकोपार्जन गर्ने उद्यमी र श्रमजीवीहरु ठूलो आर्थिक कठिनाईबाट गुज्रिरहेको छन्। यस अवस्थामा साना, ठूलो उद्योग, व्यापार, व्यवसायको संरक्षण र तमाम श्रमिक मजदूर उद्यमीहरुको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेज घोषणा गरियोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .