ad ad

राजनीति


विवेकशील भन्छ : युवा आन्दोलनमा समर्थन छ, हाम्रा सदस्य स्वतन्त्ररुपमा सहभागी

विवेकशील भन्छ : युवा आन्दोलनमा समर्थन छ, हाम्रा सदस्य स्वतन्त्ररुपमा सहभागी

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार १३:४१,

विवेकशील नेपाली दलले अहिले काठमाडौं लगायत बिभिन्न शहरमा जारी रहेको सरकारबिरोधी आन्दोलनलाई समर्थन जनाएको छ।

सो दलले अहिले जारी रहेको आन्दोलनमा आफ्ना सदस्यहरु सहभागी रहेको समेत बताएको छ।

‘अहिले देशभरि नै स्वस्फूर्तः रूपमा युवाहरूले आफ्नै नेतृत्वमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् र कोरोना महामारीबीच राज्यद्वारा बहन गर्नुपर्ने अत्यावश्यकीय सेवा र सुशासनका निमित्त दबाब दिइरहेका छन्,’ विवेकशीलकी उपाध्यक्ष अजीता राईद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यो अभियान गैर–दलीय अभियान हो, र यो अभियानमा हाम्रा सदस्यहरु, आम नागरिकको रुपमा मात्र सहभागी भएका छन्।’

कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको गैर–जिम्मेवारपूर्ण रवैया, असक्षमता र भ्रष्टाचार विरुद्ध आम नागरिकको आक्रोश तथा प्रश्न सडक प्रदर्शनमा देखिएको सो दलको भनाई छ।

‘यसै वक्तव्यमार्फत, हामी भौतिक दूरी सहित भइरहेको सम्पूर्ण शान्तिपूर्ण अभियानहरू अनि स्वस्फूर्तः रूपमा आएका कोरोना रोकथाम अनि नियन्त्रणसँग सम्बन्धित मागहरू प्रति समर्थन जनाउन चाहन्छौँ,’ विवेकशीलले भनेको छ, ‘साथै, सम्पूर्ण अभियन्ता साथीहरूलाई यस्ता अभियानमा एक आपसबीच भौतिक दूरी कायम गर्न, मास्क लगाउन, स्यानिटाईजर प्रयोग गर्न, साबुन पानीले हात धुन अनि सम्पूर्ण सुरक्षाका सावधानी अपनाउन अनुरोध गर्दछौँ।’

विवेकशीलले अहिलेको उच्चस्तरीय कोरोना रोकथाम समितिलाई अबिलम्ब भङ्ग गरी विज्ञहरू सहितको नयाँ टोली गठन गर्न र स्वास्थ सामग्री खरिद तथा विदेशबाट नेपाली फर्काउने काममा भ्रष्टाचारको आरोप लागेका जिम्मेवार पदाधिकारीलाई तुरुन्तै कारवाहीको दायरामा ल्याउन समेत माग गरेको छ।

‘१०० प्रतिशत पीसीआर टेस्ट गराउनुपर्ने र टेस्टको दायरा बढाउनुपर्ने, क्वारेन्टिन मृत्युशय्या बनेका छन, भाइरस सङ्क्रमणका केन्द्रविन्दु बनेका छन्, त्यसैले तत्काल क्वारेन्टिनको गुणस्तर सुधार गर्नुपर्ने, मेडिकल क्षमता विस्तार गर्नुको साथै, अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र प्रोत्साहनको सुनिश्चितता गर्नुपर्ने, कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको १० अर्वको वस्तुगत र स्पष्ट पारदर्शिता प्रतिवेदन सार्वजनिक गर्नुपर्ने जस्ता देशव्यापी युवा आन्दोलनले अघि सारेका मागहरू जवाफदेहिता, वार्ता र संवादको माध्यमबाट पूरा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .