ad ad

राजनीति


भारतले आपूर्ती बन्द गर्न सक्ने सांसदहरुको आशंका

भारतले आपूर्ती बन्द गर्न सक्ने सांसदहरुको आशंका

नेपालखबर
असार २, २०७७ मंगलबार १२:९,

सांसदहरुले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएका संकेतहरुले कुनैपनि बेला गम्भीर संकट देखा पर्ने खतरा रहेको बताएका छन्।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा सांसदहरुले खर्च र आम्दानीमा देखिएको फरकले अर्थतन्त्रलाई गम्भीर अवस्थामा धकेल्दै लगेको बताएका हुन्। यस्तै कुनैपनि समय भारतले आपूर्ति बन्द गरेमा देशभित्रको आपूर्ति चेन विग्रन सक्ने र अर्थतन्त्रमा थप संकट पर्ने टिप्पणी गरेका छन्।

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भारतसँग सम्बन्ध विग्रदै जाने र भारतले आपुर्ती नगरेमा देशको अर्थतन्त्रमा गम्भीर असर पर्ने र समग्र आपूर्ति चेन नै विग्रन सक्ने खतरा रहेको बताए। उनले देश भित्रै उत्पादन भएको खाद्य वस्तुको आपूर्तिलाई सहजिकरण गर्न समेत सरकार असफल बनेको टिप्पणी गरे। उनले कोभिडका कारण परेको असरलाई कम गर्न रोजगारी र अर्थतन्त्रलाई जोगाउने विषयमा अर्थसमितिले गम्भीर छलफल गर्नुपर्ने बताए।

सांसद रामकुमारी झाक्रीले सरकारले मन्त्रालयहरुको संख्या बढी राखेर खर्च बढाइराखेको बताइन्। उनले खानेपानीका कार्यक्रमहरु सहरी विकास मन्त्रालयको एउटा अंग मात्रै भएको र स्थानीय तहको कार्यक्षेत्र पर्ने भएकाले उक्त मन्त्रालय काम नलाग्ने बताइन्। यस्तै बजेट विनियोजनमा पनि सरकारले सांसदहरुलाई ब्ल्याक मेलिङ गरेको बताइन्।

उनले मन्त्रालयहरुले बजेटमा विरोध हुन नदिन सांसदहरुको माग अनुसार सानो सानो आयोजनालाई समावेश गरेर बजेट विनियोजन गरिएको टिप्पणी गरिन्। यस्तै सरकारले नै करदातालाई अदालतसम्म पुग्ने अवस्था सिर्जना गरेकाले कर उठने वातावरण समेत विग्रिएको उनले बताइन्। कर नउठ्ने भएपछि सरकारको खर्च र आम्दानीबीच असन्तुलन देखा परेको सांसद झाक्रीले बताइन्।

सांसद श्यामकुमार श्रेष्ठले देशभित्र रहेको सबै रुप र रङको पूँजीलाई राजश्वको दायरामा ल्याएर सार्वजनिक गर्न दिनुपर्ने बताए। उनले काठमाडौंमा रहेका घरहरुको डाटा राख्ने र कर उठाउने विषयमा सरकारले ध्यान दिनुपर्ने बताए।

सांसद जयकुमार राईले अहिलेसम्म अर्थसमितिले दिएका कुनैपनि निर्देशनहरु सरकारले पालना नगरेकोले अबदेखि थप बलियो बन्दै सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिए। उनले अर्थसमितिका छलफलका विषयवस्तुमा विस्तृत छलफल गरी सरकारलाई कार्यान्वयन गर्न दवाव दिनुपर्ने बताए।

सांसदहरुले सरकारको खर्च उच्च हुने र आम्दानी कम हुने हुँदा अर्थतन्त्रमा दिर्घकालिन असर पर्नेतर्फ अहिले नै ध्यान दिनुपर्नेमा जोड दिएका छन्। सांसदहरुले अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको मासिक खर्च ४० अर्ब र आम्दानी १५ अर्ब रहेको बताइसकेकाले यही अवस्था लामो समय रहे अर्थतन्त्रमा थप चुनौति देखापर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .