ad ad

राजनीति


भारत हिँडेकी सरिता गिरीलाई प्रहरीले सीमाबाटै फर्कायो

भारत हिँडेकी  सरिता गिरीलाई प्रहरीले सीमाबाटै फर्कायो

नेपालखबर
असार २, २०७७ मंगलबार ११:५०,

भारत जान लागेकी जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई प्रहरीले फर्काइदिएको छ।

सिरहाको ठाडी नाकाबाट मंगलबार भारततर्फ जान लागेकी सांसद गिरीलाई त्यहाँबाट जान नदिएको सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर चतुर्वेदी बताए।

‘उहाँलाई भारत नै नजानु भनेका होइनौं, भारत सरकारले अनुमति नदिएका नाकाबाट जान मिल्दैन भनेर राेकेका हौं’, नेपालखबरसँग कुरा गर्दै एसपी चतुर्वेदीले भने, ‘उहाँ अनुमति भएका अन्य नाकाबाट भारत जान सक्नुहुन्छ।’

भारतले बिहार प्रवेशका लागि जोगवनी वा रक्सौल नाका खुला गरेको छ। तर, उनी अनुमति नभएको नाकाबाट भारत जान खोजेपछि नेपाल प्रहरीले रोकेको हो।

सांसद गिरी पछिल्लो समय नेपालले ल्याएको नयाँ नक्साप्रति फरक मत राखेपछि विवादमा आएकी थिइन्।

भारत माइती भएकी गिरीले नेपालले भारतलाई नसोधी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको र सो क्षेत्र नेपालको नभएको बताउँदै आएकी थिइन्।

उनले आफ्नै पार्टी निर्देशन विपरीत सरकारको संशोधन प्रस्तावविरुद्ध अर्को संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्।संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि  बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन्।

पार्टीको ह्विप समेत नमानेपछि अहिले उनलाई जनता समाजवादी पार्टीले पार्टी र सांसदबाट कारबाही गर्ने तयारी गरिरहेको छ।

निशान छापमा नेपालको नयाँ नक्सा रख्ने संविधान संशोधन विधेयक पारित भएपछि पनि उनी भारतीय मिडियामा नेपाल सरकारले गलत गरेको प्रतिक्रिया दिँदै आएकी थिइन्।

पार्टीले पार्टी कमिटी र सांसदबाट समेत कारबाही गर्ने तयारी गरिरहेका बेला उनी भारत जान थाल्नुलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .