ad ad

राजनीति


यी हुन् चीनका सबैभन्दा शक्तिशाली हतियार

यी हुन् चीनका सबैभन्दा शक्तिशाली हतियार

नेपालखबर
असार ३, २०७७ बुधबार १४:१३,

केही दिनयता चीन र भारतबीच शत्रुता बढेको छ। सोमबार लद्दाखमा दुई मुलुकका सेनाबीच झडप हुँदा २० भारतीय सैनिक मारिएका छन्। त्यससँगै चीन र भारतको सैन्य शक्तिको तुलना हुन थालेको छ।

सेनामा सबैभन्दा बढी खर्च गर्ने दोस्रो मुलुक चीन हो भने तेस्रो मुलुक भारत। गतवर्ष चीनले करिब २ सय ६१ अर्ब डलर रक्षा बजेट छुट्याएको थियो। भारतले भने गत वर्ष ७१ अर्ब डलर रक्षा बजेट छुट्याएको थियो। अर्थात् भारतको भन्दा चीनको रक्षा बजेट चार गुणा बढी छ। 

सैन्य शक्तिका हिसाबले चीन अमेरिका र रुसपछि तेस्रो शक्तिशाली राष्ट्र मानिन्छ।

चीनसँग झण्डै २२ लाख सक्रिय सैनिक छन्। रिजर्भमा ५ लाख पनि छन्। भारतसँग भने झण्डै १५ लाख सक्रिय र २१ लाख रिजर्भ सेना छन्।

त्यस्तै चीनसँग ३ हजार २ सय १० विमान छन् भने भारतसँग २ हजार १ सय २३।

जलसेनाको कुरा गर्ने हो भने चीनसँग हाल २ वटा विमानबाहक युद्धपोत, ३६ विध्वंसक, ५२ फ्रिजेट छ भने भारतसँग एउटा विमानवाहक युद्धपोत, १० विध्वंसक र १३ फ्रिजेट छन्।

आणविक शक्तिमा पनि भारतभन्दा चीन दोब्बर अगाडि छ। चीनसँग ३ सय २० आणविक बम छन् भने भारतसँग १ सय ५०।

आधुनिक प्रविधि र हतियारमा पनि चीन भारतभन्दा निकै अघि छ। चीनले आफ्नै विमानवाहक जहाज, लडाकु विमान बनाउन थालेको छ भने भारत आयातमा निर्भर छ। 

जनवादी गणतन्त्र चीनको ७० ‌औँ स्थापना दिवसका अवसरमा १ अक्टोबर २०१९ मा चीनले प्रदर्शन गरेका केही अत्याधुनिक हतियार यसप्रकार छन्ः

1600x-1.jpg

१. तोङफेङ १७
तोङफेङ १७ मध्यम दूरीमा प्रहार गर्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र प्रणाली हो। यो चिनियाँ सेनाका लागि किन महत्वपूर्ण छ भने यसले हाइपरसोनिक ग्लाइड भेइकल बोक्छ। यो अझै विकास भइरहेका अत्याधुनिक प्रणाली हो, जसले क्षेप्यास्त्रलाई रोक्न लगभग असम्भव बनाउँछ। क्षेप्यास्त्र प्रणालीमा चीनले ठूलो लगानी गरिरहेको छ। यससँगै यो चीनको पहिलो हाइपरसोनिक हतियार बनेको छ।

drone.jpg

२. सार्प स्वर्ड ड्रोन
यो चीनको अत्यन्त आधुनिक हतियार हो। यसअघि अमेरिकाको मात्र हालिमुहाली रहेको यो प्रविधिमा चीनले चुनौती दिँदैछ। मानिसबिनै यो ड्रोनले हतियार आपूर्ति गर्ने, सर्भिलेन्सको काम गर्ने गर्छ। यो राडारमा पनि नदेखिने हुनाले युद्धमा यसको ठूलो उपयोगिता हुने विज्ञहरु बताउँछन्।

त्यस्तै, तीव्र गतिको डीआर–८ ड्रोन पनि चिनियाँ सेनासँग छ। जुन आवाजको गतिभन्दा ५ गुणा तीव्र गतिमा उड्न सक्छ। यो ड्रोनले लडाइँको समयमा दुश्मन विमानको नजिक पुगेर त्यससम्बन्धी सूचना पठाउन सक्छ। जसका आधारमा क्षेप्यास्त्रले निसाना लगाउन सक्छ।

d-100.jpg

३. डीएफ–१००
सीजे–१०० पनि भनिने यो हतियार निकै टाढा प्रहार गर्न मिल्ने र आवाजको गतिभन्दा पाँच गुणा छिटो उड्ने क्षेप्यास्त्र हो। गत अक्टोबरमा यो पहिलो पटक सार्वजनिक भएको थियो। यसले अमेरिकी युद्धपोतहरुलाई ठूलो चुनौती दिने विश्लेषण गरिएको छ।

j20.jpg

४. चेङ्दु जे–२०
यो चीनको सबैभन्दा आधुनिक लडाकु विमान हो र चीनको हवाई शक्तिको मेरुदण्ड पनि। यो पाँचौ पुस्ताको विमानमा एउटा सिट र दुई इन्जिन हुन्छन्। यो स्टिल्थ (राडारमा नदेखिने) विमान चेङ्दु एयरक्राफ्ट इन्डस्ट्री ग्रुपले निर्माण गरेको हो। पीएलएका लागि बनाइएको यो विमान सन् २०१७ देखि नै सेवामा छ।

यो विमानले छोटो दूरीको क्षेप्यास्त्र, आकाशबाट जमिनमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्र र लेजर गाइडेड बम प्रहार गर्न सक्छ। यसबाहेक चिनियाँ सेनाले जे–१६ र जे–१० पनि प्रयोग गरिरहेको छ। यो विमानको मुख्य प्रतिद्वन्द्वी अमेरिकाको एफ–३५ लाइटनिङ २ मानिन्छ। चीनले यो विमान २ सिटे बनाउने तयारी गरिरहेको पनि बताइएको छ।

h6h_bomber.jpg

५. एच–६ एन बम वर्षक
यो बम वर्षक विमान चीनको रणनीतिक हतियारमध्ये एक हो। यसले उड्दाउड्दै इन्धन भर्न सक्छ। एक पटक इन्धन भरेपछि यो विमान १२ हजार किलोमिटर उड्न सक्छ। जसको अर्थ निकै टाढाको विदेशी भूमिमा पनि चीनले युद्ध लड्न सक्छ। यसले पानीजहाज ध्वस्त पार्ने ब्यालिस्टिक क्षेप्यास्त्र पनि प्रहार गर्न सक्छ।

चीनले योभन्दा आधुनिक एच–२० विमान पनि निर्माण गरिरहेको छ। यससँगै चीनले एच–६ के विमान पनि प्रयोग गरिरहेको छ।

d-41.jpg

६. तोङफेङ–४१
यसलाई संसारकै सबैभन्दा टाढा प्रहार गर्न सक्ने अन्तरमहादेशीय क्षेप्यास्त्र मानिएको छ। यदि युद्ध भइहालेमा चीनको सबैभन्दा प्रमुख हतियार पनि यही हो। यो आवाजको गतिभन्दा २५ गुणा छिटो उड्न सक्छ। अर्थात् प्रहार गरेको आधा घण्टाभित्र यो अमेरिका पुग्न सक्छ।

यो क्षेप्यास्त्रले एकै पटक १० वटा परमाणु बम बोक्न सक्छ। र, यसले चीनबाट अमेरिकाको जुनसुकै स्थानमा पनि प्रहार गर्न सक्छ। अमेरिकासँग भएको क्षेप्यास्त्र प्रतिरोधी प्रणालीलाई यसले सजिलै भेद्न सक्ने बताइएको छ। गत अक्टोबरको परेडमा यो हतियार अन्तिममा प्रदर्शन गरिएको थियो। यससँग झण्डै १५ हजार किलोमिटर मार हान्ने क्षमता रहेको अनुमान गरिएको छ।

xi-.jpeg
परेड अवलोकन गर्दै राष्ट्रपति सी चिनफिङ

 यो पनि :

यी हुन् अमेरिकाका सबैभन्दा शक्तिशाली हतियार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .