ad ad

राजनीति


मन्त्री मगरले दोहोर्‍याइन्ः असारमै मेलम्चीको पानी सुन्दरीजल आइपुग्छ

मन्त्री मगरले दोहोर्‍याइन्ः असारमै मेलम्चीको पानी सुन्दरीजल आइपुग्छ

नेपालखबर
असार १०, २०७७ बुधबार १२:५२,

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले असार मसान्तमा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताएकी छन्।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति बैठकमा मन्त्री मगरले भौतिक निर्माणतर्फ १ प्रतिशतमात्रै काम बाँकी रहेको उल्लेख गर्दै असार मसान्तमा सुन्दरीजलमा पानी आइपुग्ने बताएकी हुन्। अस्थायी डाइभर्सनका लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको उनले जानकारी दिइन्।

उनले भनिन्, ‘असारसम्म भौतिक काम सम्पन्न हुन्छ। राष्ट्रियसभा, प्रतिनिधिसभामा प्रतिवद्धता जनाइसकेका छौँ। र नीति तथा कार्यक्रममा पनि यो विषय समेटिएको छ। असार मसान्तमा टेष्टिङ र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढंगले वितरण प्रकृया अगाडी बढ्छ।’

समिति सभापति कल्याणी कुमारी खड्काले सुन्दरीजलसम्म पानी खसाल्नुले मात्रै आयोजना पुरा नहुने भएकाले काठमाडौंबासीको घरघरमा पानी पुर्‍याउने कुरालाई ध्यानमा राख्न मन्त्रालयलाई निर्देशन दिइन्। त्यहाँका स्थानीयबासीहरुको समस्या समाधान गरी निर्वाध रुपमा मेलम्ची सञ्चालन हुने व्यवस्था मिलाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ।

सांसदहरुले खानेपानी आयोजनाको कुल लागत, स्थानीयका समस्या समाधान र कहिलेसम्म पानी काठमाडौंमा आइपुग्छ भन्दै प्रश्न गरेका थिए। सांसद बहादुर सिंह लामाले सीएमसी कम्पनीले छोडर गएपछि भएको ४ प्रतिशत कामको लागत कति हो र अब कति लागत लाग्छ भन्दै प्रश्न गरेका थिए।

सांसद गणेश पहाडीले सीएमसीले सप्लायर्स र लोकल भेण्डरहरुलाई दिनुपर्ने भूक्तानीका विषयमा के भइरहेको छ भन्दै प्रश्न गरे।

सांसद रंगमती शाहीले अहिलेसम्म जनताले मेलम्चीको पानी किन खान पाएनन् भन्दै प्रश्न गरिन्।

उनले भनिन्, ‘दशैंमा पानी आउँछ भनेर मन्त्रीज्यू जोशिनुहुन्छ। जोश इच्छाशक्ति ठूलै देखिन्छ। पावर पनि ठूलै देखिन्छ तर जनताले पानी खान किन पाएनन्?’

मेलम्ची आयोजनाका अनुसार अब सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडानको १० प्रतिशत काम बाँकी छ। अनुगमन उपकरण जडानतर्फ आपूर्ति र जडानको काम भइरहेको आयोजनाले जनाएको छ। रक डबेल जडान ग्राउण्डिङ, इन्भर्ट कंक्रिट हाइड्रो मेकानिकल गेट जडान सम्पन्न भएको आयोजनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .