ad ad

राजनीति


स्थायी समितिमा ओलीको गुनासो : पार्टीभित्रैबाट सरकारको बदनामी भयो

स्थायी समितिमा ओलीको गुनासो : पार्टीभित्रैबाट सरकारको बदनामी भयो

सागर न्यौपाने
असार १०, २०७७ बुधबार १३:०,

सत्तारुढ नेकपाको स्थायी समिति बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरु प्रतिपक्ष जसरी प्रस्तुत हुँदा सरकारले काम गर्न नसकेको गुनासो गरेका छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सरकारको कडा आलोचना गरेका थिए।

बैठकको सुरुमा बोल्दै ओलीले आफ्नै पार्टी प्रतिपक्षजस्तो हुँदा काम गर्न नसकिएको र राम्रो कामको पनि खराब प्रचार भएको गुनासो गरे।

‘यत्रो कोभिड १९ संकटका बेलामा सरकारले गरेका काम पार्टीले बुझ्न सकेन,’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘पार्टी प्रतिपक्ष जस्तो भयो, राम्रो काम प्रचार भएन, पार्टीभित्रैबाट सरकार विरोधी धारणा आए, साथीहरु नै सरकारको विरोधमा निस्कने प्रवृत्ति देखियो।’

पछिल्ला दिन औषधि खरिद लगायतका विषयमा व्यापक अनियमितता भएको चर्चा चलिरहेका बेला सरकारले कुनै बदनाम हुने काम नगरेको उनले दाबी गरे।

‘सरकार बदनाम भएको छैन, गराइएको हो,’ ओलीले भने, ‘कोरोनाको संकट, सीमा समस्याका विषयमा जुधिरहेको सरकार कसरी बदनाम हुन्छ?’

झण्डै पौने घण्टा बोलेका ओलीले सरकारको कामको बचाउ गरेपनि पार्टी सञ्चालनमा केही समस्या देखिएको भए सच्याएर अघि बढ्न तयार रहेको बताएका थिए।

उनले पार्टी एकताबाट पछाडि फर्कने अवस्था नभएको बताए।

‘पार्टी एकता धेरै सोचविचार गरेर गरिएको छ, यसबाट पछाडि फर्किने स्थिति छैन, बरु कमजोरी भएका छन् भने सच्याएर अघि बढ्न तयार छु,’ ओलीले स्थायी समितिका नेताहरुसँग भने।

त्यसपछि बोलेका अध्यक्ष प्रचण्डले पार्टीभित्र व्यक्तिवादी सोच हावी भएको बताए। उनले गत चुनावमा व्यक्तिलाई हेरेर जनताले मत नदिएको बताए।

‘पार्टी एकता ठूलो चुनौती मोलेर गरिएको हो, जनताले मत व्यक्ति हेरेर दिएका होइनन्’, प्रचण्डको भनाइ थियो, ‘पार्टीलाई आएको मत व्यक्तिले प्राप्त गरेको जसरी व्यवहार हुनु भएन।’

अध्यक्ष प्रचण्डले पार्टी र सरकारको कामबाट जनतामा निराशा छाएको, कम्युनिस्ट सरकारको व्यवहार जनउत्तरदायी नभएकोले आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका थिए।

४० मिनेट जति बोलेका प्रचण्डले सरकारले कार्यशैली नसुधारे पार्टी समाप्त हुने बताए।

‘दुई तिहाइको सरकारले गरेका काम जनअपेक्षा अनुरुपको भएन, यसलाई करेक्सन गर्न आवश्यक छ, संसारमा कम्युनिस्टहरु सत्तामा गएपछि नै सकिएका इतिहास हामीले सुनेका छौं, यहाँ त्यसो हुन दिनुहुँदैन,’ उनले भने।

प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिबाट पछि हट्ने आफ्नो निर्णय गलत भएको समेत बताए।

‘उहाँले सीधै त होइन तर, सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिबाट पछि नहटेको भए अहिलेको अवस्था आउँदैनथ्यो कि भन्ने लाग्न थालेको छ भन्नुभयो,’ एक स्थायी समिति सदस्यले भने।

नेकपाका अर्का एक स्थायी समिती सदस्यका अनुसार बैठकलाई संबोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले दुई अध्यक्षले आलोपालो गरी सरकार सञ्चालन गर्ने पहिलेको सहमति छोडेर गल्ती गरेको महसुस हुन थालेको समेत बताएका थिए।

‘झन पार्टी र सरकारलाई सजिलो होला, राम्रोसँग जनताको काम होला भनेर मङ्सिर ४ गते नयाँ सहमतीका लागि तयार भएँ। न पार्टीले काम गर्‍यो, न त सरकारले,’ बैठकमा प्रचण्डले भने, ‘अझै पनि साढे २ वर्ष बाँकी छ र जनमत पनि अहिलेसम्म बिग्रिसकेको छैन, त्यसैले अब सच्याएर जानै पर्छ, नत्र पार्टी दूर्घटनामा पर्छ।’

तत्कालीन एमालेसँग पार्टी एकता घोषणा गर्नुभन्दा एक दिनअघि जेठ २ गते ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने, २ जना अध्यक्ष राख्ने लगायतका लिखित सहमति भएको थियो।

याे पनि: नेकपामा फेरि उठ्ने भो आलोपालो प्रधानमन्त्रीको बहस

तर, मंसिर ४ गते प्रचण्डले पाँचै वर्ष ओलीलाई सरकारको नेतृत्व गर्न दिने भन्दै आफूले कार्यकारी अध्यक्ष भएर पार्टी चलाउने अर्काे सहमति गरेका थिए।

प्रचण्ड कार्यकारी अध्यक्ष भनिएपनि निर्णय प्रक्रियादेखि पार्टीका हरेक गतिविधिमा ओलीले लगाम लगाउन थालेको प्रचण्डको बुझाइ छ। स्थायी समितिको बैठकमा प्रचण्डले त्यही विषय स्मरण गरेका थिए।

सरकार बदनाम भएको होइन भन्ने प्रधानमन्त्री ओलीको भनाइतिर संकेत गर्दै प्रचण्डले सरकारप्रति जनताले प्रश्न उठाएकाले यसको जवाफ दिनुपर्ने बताए।

उनले भने, ‘सरकारप्रति प्रश्न उठिसकेको छ, अर्काे चुनावमा जाँदा पनि यिनै जनताको साथ चाहिन्छ, जनअपेक्षा भड्काउने काम गर्नुहुँदैन।’

स्थायी समिति सदस्य हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डले पार्टी र सरकारकै विषयमा केन्द्रित भएर धारणा राखेको बताए।

बैठकको सुरुमा स्थायी समितिका सदस्यहरुलाई एजेन्डा दिइएको थियो।

अध्यक्षद्वयको मन्तव्य, सरकारको काम, पार्टी एकताको बाँकी काम, एमसीसी र विविध गरी ४ बुँदे एजेन्डामा नेताहरुले चित्त नबुझाएपछि त्यसलाई परिमार्जन गरेर ७ बुँदे बनाइएको छ। जसमा मुख्यगरी सरकार र कामको समीक्षा, पार्टी कामको समीक्षा, नेपालको सीमा समस्या, एमसीसीको विषयलाई छलफलमा प्राथमिकता दिइएको छ।

असार १२ गते बस्ने स्थायी समितिको बैठकमा भने एजेन्डागत रुपमा छलफल हुने नेताहरुले बताएका छन्।

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायत पार्टी एकताबारे निर्णय गर्न मंसिर २९ गते एक हप्ता बसेर स्थगित भएको बैठक ७ महिनापछि बसेको हो। यसअघि वैशाख २५ र ३१ गते दुईपटक मिति तय गरेर स्थगित गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .