ad ad

राजनीति


‘ओलीले नै फायर खोलेपछि बैठक अब प्रधानमन्त्रीको राजीनामामा केन्द्रित हुन्छ’

‘ओलीले नै फायर खोलेपछि बैठक अब प्रधानमन्त्रीको राजीनामामा केन्द्रित हुन्छ’

सागर न्यौपाने
असार १५, २०७७ सोमबार १४:४९,

सत्तारुढ नेकपाको जारी स्थायी समिति बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयमा केन्द्रित हुनसक्ने उनकै पार्टीका नेताहरुले बताएका छन्।

गत साता सुरु भएको बैठक दुई दिनको स्थगनपछि मंगलबार पुनः बस्दैछ। बैठकमा प्रधानमन्त्रीको राजीनामाबारे छलफल गर्ने कुनै एजेन्डा थिएन।

तर, आइतबार प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारत र नेपालका शक्ति लागिपरेको आरोप लगाएपछि छलफल अब राजीनामाको विषयमा केन्द्रित हुने एक स्थायी समिति सदस्यले बताए।

‘जारी स्थायी समितिको बैठकमा राजीनामाबारे अहिलेसम्म कुरा उठेकै थिएन,’ एक स्थायी समिति सदस्यले नेपालखबरसँग भने, ‘तर, उहाँले अब चाहिँ त्यो विषयलाई एजेन्डा बनाइदिनुभयो। अब त्यही विषयमा केन्द्रित रहेर छलफल हुन्छ।’

यसअघि अध्यादेश प्रकरणका बेला नेकपाको सचिवालयमा ओलीको राजीनामा मागिएको थियो। तर, उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेर ओलीले राजीनामाको मुद्दा मत्थर पारेका थिए। लगत्तै नयाँ नक्सा जारी गर्ने प्रक्रिया सुरु गरेपछि ओलीको शक्ति वृद्धि भएको थियो।

नेपाल–भारत सीमाका विषयमा ३९ नेताहरुले धारणा राखेर २ दिन स्थगित गरिएको बैठकमा राजीनामाको प्रसङ्ग नै नआएको स्थायी समिति सदस्य चक्रपाणि खनालले बताए।

‘कहीँबाट पनि प्रसङ्ग नउठेको राजीनामाको विषयबारे प्रधानमन्त्रीले किन बोल्नुभयो?’ खनालले आश्चर्य व्यक्त गरे, ‘पार्टीको एकता प्रक्रिया, सरकार सञ्चालनको एजेन्डा उहाँ आफैँ बसेर तय गर्नुभएको हो। ती एजेन्डामा उहाँलाई हटाउने कुरा कहाँ छ? हुन त प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी सूचना आउने ठाउँ हो भन्छन्।’

आइतबार मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा बोल्दै ओलीले आफूलाई हटाउन भारत र नेपालका शक्ति लागेपनि राजीनामा नदिने बताएका थिए।

नेकपाका नेताहरुले भने उनको सो भनाइ सरकारको असफलता ढाकछोप गर्ने उदेश्यले आएको टिप्पणी गरेका थिए।

बुधबारदेखि सुरु बैठकको उद्घाटन गरेका प्रधानमन्त्री ओली शुक्रबारको बैठकमा अनुपस्थित भए।

नेताहरुको चर्काे विरोधपछि उनी शनिबारको बैठकमा ३० मिनेटजति बसेर हिँडेका थिए। लामो समयपछि थुप्रै विषयको निर्णय गर्नुपर्ने बैठकमा ओली नबसेपछि नेताहरु असन्तुष्ट छन्।

त्यसमाथि झन् प्रसङ्ग नै नउठेको विषयबारे बोलेपछि छलफल त्यतै मोडिने अर्का एक नेताले बताए।

‘पार्टीको बैठक चलिरहेको छ, उहाँ बैठकमा बसेर नेताहरुको कुरा पनि सुन्नु हुन्न। फेरि बाहिर गएर आफूलाई के लागेको छ, त्यही बोलिदिनुहुन्छ,’ ती नेताले बताए।

ओलीको बोलीबाट उनकै निकटस्थ नेताहरु पनि खुसी छैनन्।

‘उहाँ आफैँ सरकार र पार्टीको प्रमुख हुनुहुन्छ। उहाँले यस्तो विषय बोल्नुहुँदैनथ्यो,’ ओलीनिकट एक स्थायी समिति सदस्यले भने, ‘उहाँ आफैँले फायर खोलेपछि भोलिको बैठक अरु एजेन्डालाई थाती राखेर त्यही विषयमा केन्द्रित हुनसक्छ।’

यो बैठकले मुख्यगरी संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका विषयमा निर्णय लिने अपेक्षा गरिएको थियो। तर, ओलीको अभिव्यक्तिसँगै बैठक एजेन्डाभन्दा फरक विषयमा केन्द्रित हुने सम्भावना बढेको छ।

अन्योलमा नेताहरु
अध्यादेश प्रकरणपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ओलीसँग सन्तुष्ट छैनन्।

तर, प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिपछि बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे नेताहरु नै अन्यौलमा देखिन्छन्।

बैठकका लागि तोकिएका ७ एजेन्डामध्ये सीमासम्बन्धी एउटामात्रै एजेन्डामा छलफल भएको छ। सरकार, पार्टी, एमसीसी लगायतका मुख्य विषयमा नेताहरुले धारणा राख्नै बाँकी छ।

‘एमसीसी लगायतका विषयमा स्ट्रङ कुरा राख्ने योजनामा छु,’ एक नेताले भने, ‘अरु विषय नेताहरुको धारणा कसरी आउँछ हेरेर राख्छु।’

स्थायी समिति सदस्य भीम रावलले पनि भोलि बैठक बसेपछि मात्रै के हुन्छ भन्न सकिने बताए।

‘प्रधानमन्त्रीले राजीनामाको कुरा किन भन्नुभयो? त्यो विषयमा बैठकमै जवाफ आउला,’ रावलले भने।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि केही नेताहरुले आफ्नो धारणा समेत परिवर्तन गर्नसक्ने सम्भावना छ।

‘बैठकमा चर्काे विरोध हुने देखेर त्यसलाई मत्थर गराउन प्रधानमन्त्री ओलीले यस्तो भन्नुभएको होला,’ एक नेताले भने, ‘सायद यसले केही नेताहरुको धारणा परिवर्तन होला।’

स्थायी समिति बैठकमा राष्ट्रियताको कुरा गरेर आफूलाई सुरक्षित देखाउने प्रधानमन्त्रीको प्रयास रहेको स्थायी समिति सदस्य मात्रिका यादवको भनाइ छ।

‘जबजब सत्ता र पार्टीमा आफू संकटमा छु भन्ने प्रधानमन्त्रीलाई लाग्छ अनि राष्ट्रियताको आड लिन्छन्,’ यादवले भने, ‘नयाँ नक्सा जारी गरेपछि उनलाई त्यो भन्न पनि सजिलो भएको छ। यस्तो बेलामा कडा बोल्न खोजेका नेता पनि हच्किन सक्छन्।’

नेकपाका शीर्ष नेताहरु आन्तरिक छलफलमा लागेका छन्। सबै गुटका भेला, छलफल चलिरहेको छ। दुई दिन बैठक स्थगित हुँदा आन्तरिक भेटघाट भने भइरहेका छन्।

‘उहाँहरुको सामान्य छलफल भएको छ तर, बैठकमा कसरी प्रस्तुत हुने भनेर निर्णय भएको छैन,’ नेपालनिकट एक नेताले भने, ‘भोलिको बैठकमा नेताहरुको धारणा पछि उहाँहरु जसरी प्रस्तुत हुन्छन् त्यही अनुसार जान्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .