ad ad

राजनीति


अध्ययन भन्छः विपदमा निराशा र आत्महत्या बढ्याे

अध्ययन भन्छः विपदमा निराशा र आत्महत्या बढ्याे

नेपालखबर
असार १६, २०७७ मंगलबार १४:९,

विपदको समयमा निराशापन, एक्लोपना र आर्थिक समस्याका कारण आत्महत्याका घटना बढेको स्वास्थ्य मन्त्रालयको एक अध्ययनले देखाएको छ।

कोभिड—१९ को संक्रमण जोखिम न्यूनिकरणका लागि जारी भएको बन्दाबन्दीका समयमा सामाजिक सम्पर्क हुन नसक्दा एक्लोपना हुनु, आर्थिक समस्या, परीक्षण स्थगित हुनु जस्ता कारण आत्महत्याका घटनाहरु बढेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले विपदको समयमा हुने चिन्ता, आइसोलेसन र क्वारेन्टिनमा सामाजिक सम्पर्क नहुने भएकाले एक्लोपन महशुस भएर, परीक्षा स्थगित भएका कारण, आर्थिक समस्या र ब्यापार घाटा लगायतका कारण घटनाहरु बढेको अध्ययनले देखाएको बताए।

संसदको महिला तथा सामाजिक समितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले विगत वर्षको तुलनामा घटनाहरु कम भएको बताए। कुनै महिनामा कम र कुनै महिना बढी घटना घटेका कारण अनुपातमा संख्या बढेको मात्रै देखिएको तर समग्रमा विगतभन्दा कम घटना घटेको उनले बताए। आर्थिक वर्ष २०७३/०७४ मा ५ हजार १२४, आर्थिक वर्ष ०७४/०७५ मा ५ हजार ३१७ र आर्थिक वर्ष ०७५÷०७६ मा ५ हजार ७५४ वटा आत्महत्याका घटना घटेपनि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४ हजार ५८६ वटा मात्रै घटेको बताए।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले क्वारेन्टिनमा महिलाहरुका लागि छुट्टै व्यवस्था भए हिंसाका घटनामा कमि आउने बताए। सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहहरुमा महिलाहरुका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न आग्रह गरिएको पनि उनले बताए।

समितिले मानसिक स्वास्थ्यलाई पहुँचयोग्य बनाउन सरकारलाई निर्देशन दिएको छ। आत्महत्या जोखिमयुक्त वर्गको पहिचान गरी मनोसामाजिक परामर्श प्रदान गर्ने खालका कार्यक्रम सञ्चालन गर्न र स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षाको दायरा बढाउन पनि समितिले निर्देशन दिएको छ।

मनोसामाजिक परामर्शका लागि प्रदेशगत रूपमा निःशुल्क हटलाइनको व्यवस्था गर्नुपर्ने र भएकालाई प्रभावकारी सञ्चालन गर्न समितिले गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सो निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .