ad ad

राजनीति


ओलीकै योजनामा एमाले ब्युँताउन खोजिएको हो, मसँग प्रमाण छ : वामदेव

ओलीकै योजनामा एमाले ब्युँताउन खोजिएको हो, मसँग प्रमाण छ : वामदेव

सागर न्यौपाने
असार १६, २०७७ मंगलबार १४:५,

पुरानो पार्टी ब्युँताउने प्रधानमन्त्री केपी शर्मा ओलीकै योजनाअनुसार निर्वाचन आयोगमा एमाले दर्ताका लागि आवेदन परेको नेकपा उपाध्यक्ष वामदेव गौतमले दाबी गरेका छन्। गौतमले सोको प्रमाण समेत आफूसँग भएको बताएका छन्।

आयोगमा आइतबार नेकपा एमाले नामको पार्टी दर्ता गर्न आवेदन परेको थियो। झापाकी सन्ध्या तिवारीले सो आवेदन दिएकी थिइन्।

सो विषयमा नेकपाको मंगलबारको स्थायी समिति बैठकमा चर्को विवाद भएको छ। नेताहरुले प्रधानमन्त्री ओलीले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै यस विषयमा छानबिन गर्न समेत माग गरेका छन्।

‘प्रधानमन्त्री ओलीकै नजिकका मान्छेहरु गएर एमाले दर्ता गराउन आवेदन दिएका रहेछन्,’ उपाध्यक्ष गौतमले बैठकमा भने, ‘उहाँकै योजनामा एमाले ब्युँताउन दल दर्ता गराउन आवेदन दिएका हुन्। म प्रमाण दिनसक्छु, पार्टीले छानबिन गरोस्।’

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत ओलीकै इशारामा एमाले दर्ताको आवेदन दिइएको बताएका थिए।

‘तपाईंको कानुन विज्ञले माथिको आदेश भन्दै एमाले पार्टी दर्ता गरेका हुन्,’ प्रचण्डले भनेका थिए।

उनले पार्टी फुटाउने गरी भएका गतिविधि गलत भएको भन्दै एमाले पार्टी दर्ता गर्न आवेदन दिनुको कारण माग गरेका थिए।

‘कहाँ, कसले के उद्देश्यले एमाले दर्ता गराउन आवेदन दिएको हो? पार्टी फुटाउने गरी पर्दा पछाडि भएका सबै गतिविधि बन्द गरिनुपर्छ, जे बहस र छलफल गर्ने हो पार्टी बैठकमै राख्नुपर्छ कुनै हालतमा पार्टी फुट्न दिनुहुँदैन,’ प्रचण्डले बैठकमा भनेका थिए।

मंगलबारको स्थायी समिति बैठक यही विषय र प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिमा केन्द्रित थियो।

प्रधानमन्त्री ओलीका कानुनविज्ञ बाबुराम दाहालले भने आफूले दल दर्तामा सहयोग नगरेको बताए।

‘म नेकपाका निर्वाचन आयोगको प्रतिनिधि हुँ। त्यसैले दल दर्ता गर्न आएको निवेदनको विषयमा मलाई निर्वाचन आयोगले जानकारी गराएको थियो,’ दाहालले भने, ‘तर, मैले कुनै पनि सहयोग गरेको छैन। धेरैले केपी शर्मा ओलीलाई जोडेर हेरेको कारण मेरो नाम मुछेको हुनसक्छ।’

याे पनि: एमाले दर्ता गर्न झापाकी सन्ध्या तिवारी निर्वाचन आयोग पुगिन्, प्रचण्डको प्रश्न- को हुन् उनी?

ओलीलाई ‘रिटायर्ड’ जीवन बिताउन नेताहरुको सुझाव
सवा ११ बजेदेखि सुरु भएको बैठक साँझ ५ बजेसम्म चलेको थियो। बीचमा दिउँसो २ बजेदेखि आधा घण्टा खाजा समय छुट्याइएको थियो।

बैठकमा बोलेका १८ जना स्थायी समिति सदस्यहरु सबैले प्रधानमन्त्रीको भारतसम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायत नेताहरुले सरकार र पार्टी सञ्चालनमा ओली नेतृत्व असफल भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरे।

बैठकको सुरुमै धारणा राखेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले समस्या ल्याउने बताएका थिए।

‘अध्यक्ष प्रचण्ड आफैँले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभयो, कूटनीतिक पहल गर्नुपर्ने पदमा रहेको व्यक्तिले त्यस्तो कुरा बोल्दै हिँड्न मिल्दैन, कुन नैतिकताले त्यसो भन्नुभयो भनेर प्रश्न गर्नुभयो,’ एक स्थायी समिति सदस्यले भने।

बैठकमा अन्य नेताहरुले सरकार र पार्टी सञ्चालनका विषमा प्रश्न गरे। उनीहरुले सरकारको काम जनपक्षीय नभएको, पार्टी एकता प्रक्रिया अवरुद्ध बनाइएको, भ्रष्टाचार र अनियमितता हेर्दा कम्युनिस्ट सरकार भन्न पनि नमिल्ने देखिएको बताएका थिए।

बैठकमा सहभागी नेताका अनुसार आज बोल्ने सबै नेताले प्रधानमन्त्रीको राजीनामाको विषय उठाएका थिए। कतिपयले उनलाई ‘रिटायर्ड’ जीवन बिताउन समेत सुझाव दिएका थिए।

‘थुप्रै साथीहरुले प्रधानमन्त्रीलाई तपाईंले सक्नुभएन, न पार्टी चलाउनुभयो, न सरकार राम्रोसँग चलाउनुभयो। अब रिटायर्ड जीवन बिताउनुस्, मार्गप्रशस्त गरिदिनुस् भन्ने सुझाव दिनभयो,’ ती नेताले भने।

सबैको कुरा सुनेका ओलीले स्पष्ट जवाफ भने दिएनन्।

‘उहाँले अघिल्लो पटक पनि चीनबाट प्रोटोकलमा हस्ताक्षर गरेर फर्किंदा आफूलाई प्रधानमन्त्रीबाट हटाइएको र यसपटक पनि नयाँ नक्सा जारी गरेपछि त्यस्तै गर्न खोजेको सूचना पाएको छु भन्नुभयो। कहाँ के भनेर डिटेलमा भन्नुभएन,’ ती नेताले भने, ‘बरु उहाँ राजीनामा माग गर्नेको काउन्टर गर्नतिर लाग्नुभयो।’

एमाले दल दर्ताको विषयलाई भने ओलीले आफू नेकपाकै अध्यक्ष रहेको बताएर टारिदिएका थिए।

बुधबारदेखि सुरु भएको बैठक बिहीबार स्थगित गरेर शुक्रबार र शनिबार बसेको थियो।

शुक्रबारको बैठकमा अनुपस्थित रहेका ओली शनिबार भने एकछिन बसेर बाहिरिएका थिए।

ओली अनुपस्थित रहेपछि ७ बुँदे एजेन्डामध्ये सीमा समस्याका बारेमा नेताहरुले धारणा राखेका थिए।

३९ जनाले सीमाका बारेमा धारणा राखेपछि २ दिन स्थगित गरिएको बैठक मंगलबार पुनः बसेको हो।

बैठकमा बोलेका वरिष्ठ नेता माधव नेपालले पनि प्रधानमन्त्रीप्रति तीव्र रोष प्रकट गरे।

‘सरकार र पार्टी सञ्चालनमा नेतृत्व असफल जस्तै देखिएको छ, आफैँ प्रमुख भएर पनि सरकार ढाल्न भारत सक्रिय रहेको बताउनुहुन्छ,’ नेपालले बैठकमा भनेका थिए, ‘आफ्नै असफलता ढाक्न यस्ता अभिव्यक्ति आएका हुन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .