ad ad

राजनीति


‘ओलीको फकाउने र थकाउने रणनीतिले असन्तुष्टि झन् भड्काउँछ’

‘ओलीको फकाउने र थकाउने रणनीतिले असन्तुष्टि झन् भड्काउँछ’

सागर न्यौपाने
असार २६, २०७७ शुक्रबार १५:४७,

नेकपा स्थायी समितिको बैठक बारम्बार सारेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्नेहरुलाई फकाउने र थकाउने रणनीति लिएको सो पार्टीका नेताहरुले बताएका छन्।

तर, ओलीको यो रवैयाले असन्तुष्टि झनै भड्काउने उनीहरुको भनाइ छ।

बारम्बारको स्थगनपछि शुक्रबार बोलाइएको बैठक फेरि सात दिनका लागि स्थगित गरिएको छ।

नेकपा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले नेतृत्व छलफलबाट पन्छिनु गलत भएको बताए।

‘प्रधानमन्त्रीको रणनीति र प्रवृत्ति बैठक छल्दै जाने नै हो,’ बोहराले भने, ‘जिम्मेवार नेतृत्वको कर्तव्य बैठक पन्छाउने होइन, छलफल गर्ने हुनुपर्थ्यो। उहाँबाट त्यसो भएन।’

तर, ओलीको यो रणनीति सफल नहुने उनको भनाइ छ।

‘पन्छाएर, तर्काएर केही दिन तर्किने मात्रै हो, यो केहीदिनको न्यानो मात्रै हो, यसबाट सुख पाइदैँन,’ बोहोराले भने, त्यसकारण सामना गर्नुपर्छ, बैठक बस्नुपर्छ र पार्टीलाई एकढिक्का पारेर बैठक बस्नुपर्छ।’

स्थायी कमिटी सदस्य गणेश शाहले आफैँले बोलाएको बैठक एजेन्डामा छलफल नै नगरी स्थगित गरिरहनु गलत भएको बताए।

‘बाढी, पहिरो र डुबानको कारण देखाएर बैठक स्थगित त गरियो,’ शाहले नेपालखबरसँग भने, ‘तर, बैठक नै राख्न नचाहेको देखिन्छ। विपत्तिकै कारण बैठक सार्नु थियो भने केहीबेर बसेर स्थगित गर्दा हुन्थ्यो। त्यसो नहुँदा नेताहरुलाई अवमूल्यन गरेको देखियो।’

यो प्रवृत्तिले ओलीलाई नै कमजोर बनाउँदै लगेको शाह बताउँछन्।

‘लगातार बैठक स्थगित गर्दा ओली आफैँ कमजोर हुँदै जानुभएको छ, पार्टीभित्र देखिएको गतिरोधको विषयमा नेताहरुले कुरा उठाउँदा धैर्यपूर्वक नेतृत्वले सुन्नुपर्थ्यो त्यसो भएन अब झन नेताहरुमा असन्तुष्टि बढ्छ,’ उनले भने।

तर, ओलीनिकट स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले भने सहमति खोज्ने प्रयासस्वरुप बैठक पछि सारिएको बताए।

‘सहमतिको प्रयास पनि हो,’ नेम्वाङले नेपालखबरसँग भने, ‘बैठक रोकिएर गरिएका प्रयासहरु अहिलेसम्म सकारात्मक छन्। हिजो जुन ढंगको द्वन्द्व थियो, अहिले त्यो देखिएको छैन।’

नेम्वाङले संकटका बेलामा पार्टीभित्र देखिएको विवाद अनुचित भएको बताए।

‘विगतमा कोरोना संकट र भारतसँगको तिक्त सम्बन्ध भएका बेला पनि हामीले पार्टीभित्र नै असर पर्ने विषयमा छलफल गर्नु हुन्थ्यो कि हुन्नथ्यो?’ उनले प्रश्न गरे।

असार १४ मा प्रधानमन्त्री ओलीले भारतले नेपालकै शक्तिहरुसँग मिलेर आफूलाई हटाउन खोजिरहेको अभिव्यक्ति दिएका थिए। त्यसपछि स्थायी समितिको बैठकमा नेताहरुले उनको राजीनामा मागेका थिए।

असार १० गते सुरु भएको बैठकमा ओली तीन पटक मात्र उपस्थित भएका थिए।

राजीनामा टार्न ओलीले बैठक स्थगित गराइरहेको ओली इतर नेताहरुको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .