ad ad

राजनीति


जबज स्वीकार गरे प्रचण्डलाई एकल अध्यक्ष बनाउने ओलीको प्रस्ताव

जबज स्वीकार गरे प्रचण्डलाई एकल अध्यक्ष बनाउने ओलीको प्रस्ताव

सागर न्यौपाने
साउन ५, २०७७ सोमबार ८:४४,

सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी कार्यदिशाको रुपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार गरे उनलाई महाधिवेशन पछिको एकल अध्यक्ष बनाउन आफू तयार रहेको बताएका छन्।

प्रचण्ड निवास खुमलटारमा सोमबार पूर्व माओवादी तर्फका स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले ओलीबाट आएको सो प्रस्तावबारे ब्रिफिङ गरेका हुन्।

छलफलमा सहभागी एक नेताका अनुसार प्रचण्डले सुरुमा सबै नेताहरुलाई ओलीसँगका छलफलहरु, राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटबारेमा ब्रिफिङ गर्दै ओलीले महाधिवेशन पछिको एकल अध्यक्ष बन्ने भए जबज स्वीकार गर्नुपर्ने शर्त राखेको जानकारी गराएका थिए।

छलफलमा सहभागी ती नेताले प्रचण्डले प्रधानमन्त्री ओलीबाट आएको प्रस्तावबारे जानकारी दिएको बताए।

‘उहाँहरुबाट जबज स्वीकार गरे महाधिवेशनपछि एकल अध्यक्ष बनाउने प्रस्ताव आयो,’ प्रचण्डको भनाई उद्धृत गर्दै सहभागी एक नेताले नेपालखबरसँग भने।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरी नेकपा गठन गर्दा तत्कालीन कार्यदिशा जनताको जनवाद रहने सहमति गरिएको थियो।

तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको एक्काइसौं शताब्दीको जनवादलाई मिलाएर तत्काल जनताको जनवाद बनाउने सहमति भएको र महाधिवेशनपछि मात्रै पार्टीको कार्यदिशा तय गर्ने सहमति भएको थियो।

अहिले प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनाल लगायतको समुहले ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये कम्तिमा एक पदबाट छाड्नुपर्ने माग गरिरहेका बेला पछिल्लो समय ओलीले प्रचण्डसामु छिटो महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्न तयार रहेको प्रस्ताव गरेका छन्।

सो प्रस्तावबारे खुमलटार भेलामा पूर्वमाओवादी नेताहरुले प्रचण्डलाई बैचारिक बैचारिक रुपमा प्रष्टता नभई महाधिवेशनमा जान नहुने सुझाव दिएका छन्।

उनीहरुले बैचारिक आधारमा सहमति नजुटी महाधिवेशनमा जाने कुरा सान्र्दभिक नहुने भन्दै नेतृत्वले सुझवुझपूर्ण निर्णय गर्नुपर्ने सुझाव दिएका छन्।

‘महाधिवेशनमा जाँदा बैचारिक आधारमा सहमति भएन भने त्यसले दुर्घटना निम्त्याउँछ,’ छलफलमा सहभागी नेताले छलफलको निष्कर्षबारे भने, ‘आ–आफ्ना कित्तामा उभिएर हुँदैन, महाधिवेशनमा जान सकिन्छ तर, बैचारिक आधारमा प्रष्टता हुनुपर्छ।’

प्रधानमन्त्री ओलीको प्रस्ताव पछि फर्कनेगरी आएको भन्दै यस्ता गम्भीर विषयमा छलफल गर्दा पार्टी कमिटीमा निर्णय हुनुपर्ने समेत बैठकले निष्कर्ष निकालेको छ।

‘जनताको जनवादमा सहमति भइसकेपछि फेरि जबजको कुरा उठाउनु पछाडि फर्कने प्रयत्न हो, यसले निकास दिँदैन, यसबारेमा प्रधानमन्त्री ओली र प्रचण्डले नै टुंगो लगाउनुपर्छ भन्ने सुझाव दिएका छौं,’ छलफलमा सहभागी अर्का एक नेताले भने।

प्रधानमन्त्री ओलीले नै समस्या समाधानको पहल लिनुपर्ने र स्थायी कमिटीको मंगलबारका लागि तय गरिएको बैठक कुनै हालतमा रोक्न नहुनेमा अध्यक्ष प्रचण्ड पनि सहमत रहेका छन्।

‘पार्टीभित्रको गतिरोधको अन्त्यका लागि प्रधानमन्त्रीले पहल लिनुपर्छ, पार्टी एकता जोगाउनुपर्छ, कुनै हालतमा फुट्न दिँनु हुँदैन। फुट्यो भने तीन तहको सरकार छ, त्यहाँ भद्रगोल हुन्छ भन्ने कुरामा एकमत रह्यो’, अर्का नेताले भने।

नेकपाको स्थायी कमिटीको बैठक छिटो भन्दा छिटो टुंगो लगाउन पनि नेताहरुले सुझाव दिएका छन्।

‘बैठक बसेर विषयहरु छिटो सुल्झाउनुपर्छ, अब पनि बैठक स्थगित गर्दा समस्या पर्छ’, बैठकमा नेताहरुले प्रचण्डलाई आग्रह गर्दै भनेका थिए।

छलफलमा सहभागी लीलामणि पोखरेलले अहिले पार्टीमा देखिएको विवादमा व्यक्तिको द्वन्द्व देखिएपनि त्यो पार्टीभित्रको विचार, विधि, व्यवस्थापनसँग उठेको प्रश्न भएको बताए।

‘यसको हल विचारमा भिन्न भएर हुँदैन। विचारमा एकरुपता ल्याउनुपर्छ,’ उनले भने।

याे पनि: 
पूर्वमाओवादी नेताहरु प्रचण्ड निवासमा, पार्टीको गतिरोधबारे छलफल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .