ad ad

राजनीति


बैठकै नबसेपछि अलपत्र परे नेकपा स्थायी समितिका यी ६ एजेन्डा

बैठकै नबसेपछि अलपत्र परे नेकपा स्थायी समितिका यी ६ एजेन्डा

सागर न्यौपाने
साउन ५, २०७७ सोमबार १३:४९,

पार्टीभित्र देखिएका गतिरोधको अन्त्य गर्न सुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित हुँदै जाँदा एजेन्डा पनि विषयान्तर हुँदै गएको छ।

असार १० गते सुरु भएको बैठकमा छलफलका लागि सात एजेन्डा तय गरिएको थियो। त्यसबेला कोरोना संकट नियन्त्रण र उपचार, सरकार र पार्टी सञ्चालन, सीमा समस्या, एमसीसी र पार्टी एकताको बाँकी काम सक्नेलगायतका एजेन्डा तय गरिएको थियो।

तर, बैठकको मूल विषय प्रधानमन्त्रीको राजीनामा हुँदै अहिले पार्टीको वैचारिक कार्यदिशा के हुने भन्ने विवादमा पुगेको छ।

असार १३ गतेसम्म बैठकमा सीमा समस्याका विषयमा छलफल भएको थियो, जसमा ३९ जना नेताहरुले आफ्नो धारणा राखेका थिए। त्यसपछि १४ र १५ गते दुई दिन बैठक स्थगित गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले असार १४ गते मदन जयन्तीको कार्यक्रममा आफूलाई हटाउन दिल्ली र पार्टीभित्रै केही शक्ति लागेको बताए। त्यसपछि स्थायी कमिटीको बैठकको एजेन्डा अन्यत्र मोडियो।

१६ गतेको बैठक प्रधानमन्त्रीको सोही अभिव्यक्ति र एमाले नाममा पार्टी दर्ता गराउन निर्वाचन आयोगमा दिइएको निवेदनमा केन्द्रित मात्रै भएन, औपचारिक रुपमा प्रधानमन्त्रीको राजीनामा पनि माग भयो।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले सरकार र पार्टी सञ्चालन गर्न असफल भएको भन्दै ओलीको राजीनामा माग गरे।

त्यसपछि असार १८ गते प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुलाई राखेर संसदको वर्षे अधिवेसन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरे। प्रधानमन्त्रीको कदमले नेकपा फुटको संघारमा पुग्यो। त्यसयता बैठक निरन्तर स्थगित हुँदै आएको छ।

बरु शनिबारदेखि पार्टीको वैचारिक कार्यदिशाका बारेमा समेत नयाँ विवाद सिर्जना भएको छ।

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई जनताको बहुदलीय जनवाद स्वीकार गरे महाधिवेसनपछि एकल अध्यक्ष बनाउन तयार रहेको बताएर पार्टीभित्र नयाँ सैद्धान्तिक विवाद झिके।

प्रचण्ड र वरिष्ठ नेता नेपालसँगको गठजोड भत्काउनेगरी ओलीले सो प्रस्ताव सारेको नेकपाका नेताहरु बताउँछन्।

स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘ओलीले अल्मल्याउने, झुकाउने रणनीति लिएर नयाँ नयाँ प्रस्ताव अघि सार्छन्।’

सोमबार आफूनिकटका नेताहरुसँग खुमलटार निवासमा छलफल गर्दै अध्यक्ष प्रचण्डले जबज स्वीकार गरे एकल अध्यक्ष बनाउने प्रस्ताव ओलीले गरेको बताएका थिए।

पुराना विवाद समाधान गर्नुको साटो नेकपाभित्र नयाँनयाँ विवाद निस्किँदै जाँदा समस्य थप जटिल बनेको छ।

यस्ता थिए असार १० गते तय भएका एजेन्डाः
१. वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन
२. कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार
३. नेपालको सीमा समस्या र समाधान
४. सरकारको कामको समग्र समीक्षा
५. पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने
६. एमसीसी
७. विविध

विविधभित्र रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषय समेटिएको थियो। तर, सीमा समस्या बाहेक अन्य ६ वटा एजेन्डामा नेकपाको स्थायी कमिटीको बैठक प्रवेश नै गरेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .