ad ad

राजनीति


प्रधानन्यायाधीशकै फैसला गर्ने क्षमतामाथि प्रश्न, अब के गर्लान?

प्रधानन्यायाधीशकै फैसला गर्ने क्षमतामाथि प्रश्न, अब के गर्लान?

उजिर कार्की
साउन ११, २०७७ आइतबार १२:५३,

श्रीमतीको हत्यामा दोषी ठहर भई जन्मकैद सजाय पाएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको अहिले प्रेमिकासँग पुनर्मिलन भएको छ।

जेलमुक्त हुनासाथ उनलाई लिन उनकी प्रेमिका डिल्लीबजार कारागारमै पुगेकी थिइन्।

२० वर्ष कैद तोकिएका कोइरालाले साढे ११ वर्षभन्दा बढि कैद छुट पाएपछि उनलाई यस्तो सौभाग्य मिलेको हो।

सशस्त्र प्रहरीका पूर्व डिआइजी कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले रञ्जन कोइरालाले पाएको सर्वस्वसहितको जन्मकैदको फैसलालाई घटाएर ८ वर्ष ६ महिना कैद सजाय कायम गरेका थिए।

उनलाई यस्तो अवसर जुराउने प्रधानन्यायाधीशसहितको फैसला भने बिबादमा परेको छ।

उक्त फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार पुनरवलोकन निवेदन दर्ता गर्‍यो।

महान्यायाधिवक्ताको कार्यालयले सो फैसला सर्वोच्चको आफ्नै नजिरविपरित रहेको भनेको छ।

आइतबार सर्वोच्चका तीन न्यायाधीशको पूर्णइजलासले मुद्दाको पुनरवलोकन गर्न अनुमति दिएपछि यो मुद्दाको सुनुवाई फेरि हुने भएको हो। 

योसँगै श्रीमतीका हत्यारालाई आधाभन्दा बढी कैद छुट दिने प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीको फैसलामाथी उठेको प्रश्नको थप पुष्टि सर्वोच्चले नै गरेको छ।

सर्वोच्चको आइतबारको फैसलामा भनिएको छ, ‘रन्जनप्रसाद कोइरालाले घटना घटाउँदा र त्यसपछि मृतकको लाश लुकाउन गरेको क्रियाकलापबाट घटित वरदातलाई सामान्य अवस्थाको वरदात भन्न मिल्ने वा भवितव्य हो कि भन्न मिल्ने अवस्था समेत देखिँदैन।’

सर्वोच्चले नजिरका रुपमा यसअघि शान्ती विकविरुद्ध नेपाल सरकार, नेपाल सरकारविरुद्ध जुगत सदा, केदार माझीविरुद्ध नेपाल सरकारका मुद्दा प्रस्तुत गरिएको थियो। उक्त नजिर अध्ययनपछि असार १५ गते भएको सर्वोच्चको फैसला पुनरवलोकन गरी हेर्न अनुमति प्रदान गरेको हो।

यो निर्णयसँगै प्रधानन्यायाधीशले जेलमुक्त गराएका अभियुक्तलाई सर्वोच्चले नै फेरि जेलमा फर्काउने विकल्प खुल्ला भएको छ। पुनरवलोकनको निसा दिए पनि उनी तत्कालै जेल भने फर्किने छैनन्।

पुनरवलोकनको मुद्दामा निसा प्रदान गरेपछि पुनरावेदनसरह उक्त मुद्दा अगाडि बढ्छ। सरकारी वकिलले दर्ता गरेको निवेदनमा कोइरालाले फेरि प्रतिवाद गर्ने मौका पाउँछन्।

उनले आफ्ना भनाइ राख्ने मौका पाउँछन्। बहस हुन्छ, पेशी चढ्छ र फैसला आउन भने समय लाग्नसक्छ। सर्वोच्चले यो पेशीलाई प्राथमिकता दिएन भने वर्षौं लम्बिने अवस्था पनि हुनसक्छ।

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य भन्छन्, ‘कोइरालालाई मुद्दा लड्नलाई सजिलो भयो, तर उनलाई यसअघि दिइएको कैद छुट सच्याउने बाटो खुलेको छ। सच्चिने नसच्चिने ग्यारेन्टी छैन।’

पुनरवलोकन निवेदनमा फैसला गलत भएको, नजिरसँग बाझिएको र तर्कसंगत नभएको बताइएको छ। जसमा आइतबार सर्वोच्चका तीन न्यायाधीश पनि सहमत भई पुनरवलोकनको प्रक्रिया अगाडी बढाएका हुन्। 

यहि मुद्दामा सर्वोच्चकै फरक फैसला आयो भने?
सर्वोच्चबाटै फरक फैसला आएमा प्रधानन्यायाधीशको फैसला गर्ने क्षमतामाथी प्रश्न उठ्ने शाक्यको भनाई छ।

सर्वोच्चका पुर्व न्यायाधीश बलराम केसी पनि प्रधानन्यायाधीशको फैसलामा त्रुटि देखिएको बताउँछन्।

‘मुद्दा खुल्ला भयो, निवेदनमा लेखेका माग आइतबारको बेन्चमा रहेका न्यायाधीशहरुलाई चित्त बुझेछ। नजिरसँग बाझिएको भन्ने थियो, उहाँहरुले नजिर हेर्नुभयो बाझिएको पाइयो होला। त्यही भएर निसा दिनुभयो,’ केसीले भने।

तर फेरि पनि मुद्दाको किनारा लगाउन कति जनाको इजलास गठन गर्ने प्रधानन्यायाधीसकै तजविजको कुरा हो। पुनरवलोकनमा धेरै मुद्दाका फैसला उल्टिएको केसीले स्मरण गरे।

‘व्यवहारिक पक्ष होलान् तर कानुनी रुपमा यसलाई सामान्य नै मानिन्छ,’ पुर्वन्यायाधीश केसीले भने, ‘कानुनी पक्ष र व्यवहारिक पक्ष अरु छन्, ती विषयमा म बोल्दिन। उहाँको अधिकारको कुरा हो। नैतिकता त व्यक्तिको कुरा हो, त्यसमा म टिप्पणी गर्दिन।’

न्यायाधीशहरु वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले पुनरवलोकनका लागि अनुमति दिएसँगै उक्त मुद्दा पुनः विचाराधीन बनेको छ।

यो मुद्दा अब फरक न्यायाधीशहरुको इजलासमा सुनुवाइ हुनेछ।

यो पनि

पूर्वडीआईजी कोइरालालाई माफी दिने प्रधानन्यायाधीशको फैसला हुने भयो पुनरवलोकन
पूर्वडीआईजी रञ्जन कोइरालालाई फेरि जेल पठाउन माग गर्दै परेको पुनरवलोकन निवेदनको सुनुवाइ आज

पूर्वडीआईजी कोइरालालाई ६ न्यायाधीशले फेरि जेल फर्काउन सक्ने

रञ्जन काेइरालालाई सजाय छुट दिने प्रधानन्यायाधीशविरुद्ध महाभियोग माग गर्दै माइतीघरमा प्रदर्शन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .