विवादित पाङगोङ सो ताल नजिकैको मोल्दो भन्ने क्षेत्रमा वार्ता भइरहेको बताइएको छ।
चिनियाँ सेनाले यस विवादित क्षेत्रमा गत शनिबार राति प्रवेश गर्न खोजेको भारतले आरोप लगाएसँगै कमाण्डरस्तरको वार्ता भइरहेको हो।
चिनियाँ सेनाले घुसपैठ गर्न खोज्दा झडप समेत भएको भारतले बताएको थियो। भारतले हालै यस्तो आरोप लगाएपछि चीनले पनि भारतीय सेना चिनियाँ भूमिमा प्रवेश गरेको आरोप लगाएको थियो।
गत अप्रिलयता भारत र चीनका सेनाबीच सिमानामा धक्कामुक्की भइरहेको छ। जुन १५ मा त भारतीय र चिनियाँ सेनाबीच विवादित गलवान उपत्यकामा झडप नै भएको थियो।
झडपका क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियो भने चिनियाँ सेनाकोबारेमा कुनै जानकारी दिइएको थिएन।
त्यसयता पाँचपटक चीन र भारतीय सेनाका कमाण्डरबीच वार्ता भइसकेको छ। उक्त वार्तामा विवादित क्षेत्रबाट सेना पछाडि हटाउन दुवै देश सहमत भएको बताइएको थियो।
तर आफुले सम्झौता पालना गरिरहँदा चिनियाँ सेना सम्झौताबाट पछाडि हटेको भारतीय पक्षको आरोप छ।
चिनियाँ सेना गलवानबाट पछाडि सरेपनि पाङगोङ सो ताल तथा गोग्रा क्षेत्रबाट पछाडि नहटेको भारतीय सेनाको आरोप छ। एजेन्सी
Shares
प्रतिक्रिया