ad ad

राजनीति


७० करोड कमिसन प्रकरणमा अख्तियारले ७ दिनभित्र झिकाएका मिश्र भन्छन्– २८ दिनपछि मात्रै नेपाल आउँछु

७० करोड कमिसन प्रकरणमा अख्तियारले ७ दिनभित्र झिकाएका मिश्र भन्छन्– २८ दिनपछि मात्रै नेपाल आउँछु

उजिर कार्की
भदौ १७, २०७७ बुधबार ७:५१,

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले ७ दिनभित्र हाजिर हुन भनिएका विजय प्रकाश मिश्रले आफू २८ दिनपछि मात्र नेपाल आउने बताएका छन्।

चर्चित सेक्युरिटी प्रेस कमिसन प्रकरणमा मुछिएका मिश्रले आफूले सेप्टेम्बर ३० मा जापानबाट नेपाल फर्किने टिकट लिइसकेको दाबी गरे।

अख्तियारको सूचनापछि नेपालखबरसँग कुरागर्दै मिश्रले अहिलेको अवस्थालाई सर्वोच्च अदालतले नै शून्य समय मानेका कारण हाजिर हुनैपर्ने बाध्यता नभएको दाबी गरे।

उनको यो दाबीले अख्तियारको निर्देशनलाई सिधै चुनौती दिएको छ।

आफू समयमा उपस्थित हुन नसक्नाको जानकारी बिहीबारसम्म अख्तियारलाई गराउने उनले बताए।

‘अख्तियारका अनुसन्धान अधिकृत प्रविण पोख्रेलसँग म नियमित सम्पर्कमा थिएँ, अहिले अनुसन्धान अधिकृत परिवर्तन हुनासाथ यो सूचना आउनु दूर्भाग्यपुर्ण छ’, मिश्रले भने, ‘सूचना जारी गर्ने, अनुसन्धान गर्ने कुरा उहाँहरुको अधिकारको कुरा हो, मैले यसमा भन्ने कुरा केही पनि हुँदैन, कतिपय अप्ठेराहरु पनि हुन्छन् नि, म यहाँ छु, उडान जम्मा दुईवटा छ, त्यसमा पनि म शून्य समय गणना गरेर बसेको छु।’

तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनिका स्थानीय एजेन्ट मिश्रसँग कमिसनका लागि मोलमोलाई गरेको विषयमा सोधपुछ गर्नका लागि भन्दै अख्तियारले मिश्रलाई ७ दिनभित्र हाजिर हुन भनेको हो।

गोकुल बास्कोटाले सूचना तथा सञ्चारमन्त्री रहँदा उनीसँग ७० करोड रुपैयाँ घुस मागेको भनी अडियो सार्वजनिक भएको थियो।

अख्तियारले गोरखापत्रमा बुधबार सूचना प्रकाशित गर्दै ७ दिनभित्र अख्तियारको प्रहरी महाशाखामा हाजिर भएर अनुसन्धान अधिकृतलाई भेट्न भनेको छ।

तर मिश्रले अख्तियारको सूचनालाई चुनौती दिँदै अहिलेको परिस्थितिलाई ख्याल नगरी आफूलाई बोलाएको भन्दै आउन असंभव रहेको जिकिर गरेका छन्।

‘त्यहाँ आएर क्वरेन्टिनमा पनि बस्नु पर्छ होला, त्यही पनि म यहीँ पीसीआर गरेर आउँछु । त्यसपछि उपस्थित भएर म मेरोतर्फबाट गर्नुपर्ने कुरा गर्छु’ मिश्रले नेपालखबरसँग भने।

यसअघिका अनुसन्धान अधिकृत प्रविण पोख्रेलले अडियो डिभाइस चाहियो भनेकाले आफू डिभाइस लिन जापान पुगेको उनको दाबी छ। तर काठमाडौंमा अख्तियारले घुस मोलमोलाई गरेको विषयमा छानविन गर्ने भएपछि उनी ‘फरार भएको’ चर्चा भइरहेको छ।

‘रेकर्ड कुन डिभाइसबाट भयो भन्ने कुरा उहाँहरुलाई महत्वपुर्ण हुँदोरहेछ। त्यो डिभाइस मेरो छोरीले चलाउँथिन्। छोरी जापानमा पढ्ने भएकोले लिन आएको हुँ’, मिश्रको दाबी छ।

आफू अख्तियारको नियमित सम्पर्कमै रहेको उनको दाबी छ।

अख्तियारले उनलाई उपस्थित नभए कानुनअनुसार अगाडि बढ्ने चेतावनी दिएको छ।

मिश्रसँग ७० करोड रुपैयाँ कमिसनका लागि मोलमालाई गरेको आरोप लागेपछि बास्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए। बास्कोटाले आफूमाथि नियोजित षड्यन्त्र गरिएको दाबी गर्दै कमिसन नलिएको बताउँदै आएका छन्।

मिश्रले भने यस प्रकरणमा थुप्रै विषय बाहिर आउन बाँकी रहेको दाबी गर्न छाडेका छैनन्। अख्तियारको सूचनापछि बुधबार बिज्ञप्ति जारी गर्दै उनले भविश्यमा यी कुराहरु बाहिर ल्याउँदै जाने दाबी गरेका छन्।

याे पनि: ७० करोड घुस प्रकरणमा अख्तियारले बोलायो स्थानीय एजेन्ट मिश्रलाई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .