ad ad

राजनीति


जनकपुरमा पहिलोपटक २५ फिटको राष्ट्रिय झण्डा फहराएर संविधान दिवस मनाइयो

जनकपुरमा पहिलोपटक २५ फिटको राष्ट्रिय झण्डा फहराएर संविधान दिवस मनाइयो

शैलेन्द्र महतो
असोज ३, २०७७ शनिबार १४:१७,

जनकपुरमा पहिलो पटक २५ फिटको राष्ट्रिय झण्डा फहराएर युवाहरुले संविधान दिवस मनाएका छन्।

प्रदेश २ सरकारको सत्ताधारी जनता समाजवादी पार्टी (जसपा)ले तराई मधेशमा शनिबार कालोदिवस मनाइरहँदा जनकपुरका युवाहरुले भने २५ फिटको राष्ट्रिय झण्डा फहाराएर संविधान दिवस मनाएका छन्।

मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका जनकपुरको जानकी चोकका युवा तथा व्यवसायीहरुले २५ फिट लामो झण्डा फहराएर संविधान दिवस मनाएका हुन्।

जनता समाजवादी पार्टीले संविधानलाई स्वीकार गरी चुनाव लडेर सत्तामा पुगेको, सपथ खाएको र सोहि संधिवानअनुसार तलबभत्ता बुझेको तर एकदिन जनतालाई भ्रममा पार्नका लागि कालोदिवस मनाएकाले उनीहरुको विरुद्धमा संविधान दिवस मनाएको स्थानीय युवा अभियन्ता सुशील कर्णले बताए।

‘हाम्रा नेताहरुले नै संविधान स्वीकार गरिसकेका छन्। सोही संविधान अनुसार चुनाव लडे, सत्तामा पुगे, तलबभत्ता खाँदै छन्, भ्रष्टाचारमा लिप्त छन्। र एकदिन कालोदिवस मनाएर जनतालाई ठग्ने तथा भ्रममा पार्ने काम गरिरहेका छन्,’ नेता कर्णले भने ‘उनीहरु कुन नैतिकताले कालोदिवस मनाएका छन्? त्यसैले ती नेताहरुकोविरुद्धमा हामी संविधान दिवस मनाएका छौं।’

उनले नेतृत्वले नै स्वीकार गरिसकेको संविधानलाई आफुहरुले समेत स्वीकार गरेर संविधान दिवस मनाएको बताए।

कर्णको नेतृत्वमा केही स्थानीयले संविधान दिवस मनाएका हुन्। उनी राष्ट्रिय जनता पार्टीका स्थानी युवा नेता हुन्। गएको स्थानीय तहको चुनावमा उनी राजपा नेपालबाट वडाध्यक्षमा लडेका थिए।

आगामी वर्षमा संविधान दिवस मनाउने कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ।

Janakpur blackflag sambidhan diwas

यता जनता समाजवादी पार्टीले भने संविधान दिवसलाई कालोदिवसको रुपमा मनाएका छन्।

संविधानको विरुद्धमा प्रदर्शन लगायतका विभन्नि कार्यक्रम गर्दै जसपाले जनकपुरसहित तराई मधेशका जिल्लामा कालोदिवस मनाएका हुन्।

जनकपुरमा जसपाका नेता तथा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा कालो झण्डासहित प्रदर्शन गरिएको थियो।

जनकपुरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकपुरको जनकचोकमा गएर कोणसभामा परिणत भएको थियो। संविधानमा रहेका त्रुटिपूर्ण प्रावधानहरु संशोधन नगरेसम्म संविधानलाई नस्वीकार्ने तथा असोज ३ गतेलाई कालो दिवसकै रुपमा निरन्तरता दिने सो प्रदर्शनमा सहभागी नेताहरुले बताएका छन्।

कोणसभामा मन्त्री सोनल, जसपाका प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया, प्रदेश सांसद रामअशि यादव, प्रदेश सांसद प्रमेश्वर साह लगायतले धारणा राखेका थिए।

तर जसपाले संविधानलाई स्वीकार गरी चुनाव लडेर सोहिअनुसार सपथ खानुका साथै तलबभत्ता एवं सेवासुविधाको समेत उपभोग गरिरहेको भन्दै कालोदिवस मनाउने कदमको आलोचना पनि भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .