ad ad

राजनीति


हुम्लानजिक बनाइएका भवन नेपालको सीमाभन्दा एक किलोमिटरयता हाम्रै भूभागमा : चीन

हुम्लानजिक बनाइएका भवन नेपालको सीमाभन्दा एक किलोमिटरयता हाम्रै भूभागमा : चीन

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ४:२६,

चीनले आफूले हुम्लानजिक बनाएका भवन नेपालको सीमाभन्दा एक किलोमिटरवरै आफ्नै भूमिमा पर्ने दाबी गरेको छ।

चीन सरकारका अधिकारीले ती भवन बुरङ काउन्टीअन्तर्गत नवनिर्मित गाउँमा निर्माण गरिएको दाबी गरेका हुन्।

चीनको पत्रिका ग्लोबल टाइम्सका अनुसार भवन निर्माण थाल्नुअघि नै गत मेमा सैनिक तथा स्थानीय अधिकारीले फिल्ड सर्भे र नक्सांकन गरी चीनकै भूभाग भएको निश्चित गरेको बताएका छन्।

यस विषयमा नेपाली पक्षले प्रश्न उठाएपछि चीनले पुनः फिल्ड सर्भे गरेको ती चिनियाँ अधिकारीको भनाइ छ।

नेपाल सरकारले पनि ती भवन चीनतर्फ निर्माण भएको जनाइसकेको छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस विषयमा अध्ययन गर्न प्राविधिक टोली पठाउन सरकारसँग माग गरिरहेको छ।

कांग्रेसका स्थानीय जनप्रतिनिधिको टोलीले स्थलगत अध्ययन गरेपछि जारी गरेको विवरणमा चीनले बनाएका भवन नेपालतर्फ नै रहेकाे दाबी गरेको छ। भवन सीमाबाट २ किलोमिटर नेपाली भूभागतर्फ रहेको टोलीको ठहर छ।

तर चीन सरकारले नयाँ गाउँमा बनाइएका भवन नेपाल–चीनको सीमा छुट्याउन राखिएका ११ र १२ नम्बर पिलरबीचको क्षेत्रमा पर्ने दाबी गरेको हो।

ग्लोबल टाइम्सले दुवै पिलर उच्च भूभागमा रहेको र प्राविधिक जानकारी नभएका मानिसले अध्ययन गर्दा गल्ती देखिने उल्लेख गरेको छ।

साथै भारतीय मिडियाले चीनसँगको सीमा विवादलाई उचालेको आरोप पनि ग्लोबल टाइम्सले जनाएको छ।

नेपाल र चीनबीच सन् १९६१ अक्टोबरमा सीमा सम्झौता भएको थियो र सन् १९६३ जनवरीमा दुवै देशबीच प्रोटोकलमा हस्ताक्षर भएको थियो।

ती भवन निर्माण गरिएको सम्बन्धमा विवाद उत्पन्न भएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई प्रमाणीकरण गर्न आग्रह गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .