सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डे कार्यकर्ता हत्याबारे जानकारी लिन पर्सा पुगेका छन्।
पर्साको विन्दवासिनी गाउँपालिका–५मा बिहीबार आयोजित शपथग्रहण कार्यक्रममा नेकपाकै दुई पक्षबीच झड्प हुँदा घाइते भएका सोही गाउँपालिकाका सचिव तथा जिल्ला समिति सदस्य मुकेश चौरसियाको शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो।
प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका कार्यकर्तामाथि आक्रमण गरेको र सरकारले आक्रमणकारीलाई बचाउ गर्न थालेपछि घटनाका बारेमा जानकारी लिन पाण्डे शुक्रबार दिउँसो हेलिकोप्टरमार्फत पर्सा पुगेका हुन्।
वरिष्ठ नेता माधवकुमार नेपालले उनलाई घटनाको बारेमा जानकारी लिन त्यसतर्फ पठाएको स्रोतले नेपालखबरलाई बतायो।
स्थानीय कार्यकर्ताले प्रहरीले पक्राउ गरेका व्यक्तिलाई विनाजानकारी छाडेको र सरकार हत्यारालाई बचाउन लागेको भन्दै नेपाललाई घटनाका बारेमा जानकारी गराएपछि उनले पाण्डेलाई थप जानकारी लिनका लागि त्यसतर्फ पठाएको स्रोतले बतायो।
‘घटनाको बारेमा जानकारी लिन अहिले म पर्सा जाँदै छु’, नेपालखबरसँग कुरा गर्दै पाण्डेले भने।
वरिष्ठ नेता नेपालले यसअघि नै घटना दुःखद भएको भन्दै हत्यामा संलग्न जो भए पनि कारुबाही गर्न माग गरेका छन्। ‘पार्टीको कार्यक्रममा योजनाबद्ध आक्रमण गरी आफ्नै कमरेडको हत्या गर्ने र गराउने व्यक्ति एवम् समूह जुनसुकै आवरणमा बसेको भएपनि त्यस अपराधिक ब्यक्ति एवम् समूहलाई किमार्थ क्षमा दिन सकिदैन’, नेपालले भनेका छन्, ‘अतः उक्त घटना घटाउने अपराधि ब्यक्ति एवम् समूहको पहिचान गरी कडा भन्दा कडा कार्वाही गराउन जिल्ला कमिटीले बिशेष पहलकदमी लिन जिल्ला कमिटीको बिशेष ध्यानाकर्षण गराउॅछु।’
प्रहरीले घटनामा संलग्न ८ जनालाई पक्राउ गरेको थियो। पक्राउ गरेकामध्ये नेकपाका नेता राजुकुमार गुप्तालाई राति नै रिहा गरिदिएको छ।
Shares
प्रतिक्रिया