ad ad

राजनीति


बाइडेनले बनाए कोरोना नियन्त्रण टोली, ट्रम्पको नीति उल्ट्याउँदै भने- सबैले मास्क लगाउनुस्

बाइडेनले बनाए कोरोना नियन्त्रण टोली, ट्रम्पको नीति उल्ट्याउँदै भने- सबैले मास्क लगाउनुस्

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार ०:१४,

आफू अमेरिकाको राष्ट्रपतिमा विजयी भएपछि जो बाइडेनले पहिलो कामअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि कोभिड-१९ टास्क फोर्स गठन गरेका छन्।

१३ सदस्यीय टास्क फोर्समा तीन सह-अध्यक्ष र एक सदस्य छन्। यस विषयमा बाइडनेले वैज्ञानिक र विशेषज्ञको सल्लाह लिने बताएका छन्।

उनले भने, ‘कोरोना महामारी नियन्त्रण गर्नु मेरो प्रशासनको पहिलो प्राथमिकता हो। लगातार बढिरहेको संक्रमण राेक्नु र खोप पत्ता लगाउनु मेरा लागि ठूलो चुनौती हाे।’

जो बाइडेनले कोरोना महामारीको दोस्रो लहर आउन बाँकी रहेको भन्दै सबैलाई मास्क लगाउन अपिल पनि गरे।

उनले भने, ‘कोरोना महामारीको घातक दोस्रो लहर आउन बाँकी नै छ। यसकारण हामी सबैले मास्क लगाउने तथा आवश्यक सुरक्षाका सबै उपाय अपनाऔं।’

याे पनिमेरो पहिलो काम कोरोना महामारी नियन्त्रण, भोलि नै वैज्ञानिक टोली बनाउँछु: बाइडेन

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीको सुरुवातमा त मास्क बहिष्कारै गरेका थिए भने सार्वजनिक कार्यक्रममा समेत उनी बिनामास्क हिँडेका थिए।

अलि पछि मात्र उनी मास्क लगाउन बाध्य बनेका थिए। तर पनि उनले काेराेनाबाट बच्न मास्क लगाउनुपर्छ भनेर आम नागरिकलाई कहिले भनेनन्।

काेराेना नियन्त्रणमा प्रभावकारी काम गर्न नसक्नु पनि ट्रम्प पराजयकाे एउटा प्रमुख कारण मानिएकाे छ। 

बाइडेनको कोभिड-१९ टास्क फोर्स
बाइडेनले गठन गरेको कोभिड-१९ टास्क फोर्समा कोरोना नियन्त्रण अभियान निर्माणमा ध्यान दिने सरकारी एजेन्सीका प्रमुख एवं इम्युनोलजिस्ट डाक्टर रिक ब्राइट प्रमुख छन्।

महामारी नियन्त्रणका लागि राज्य एवं स्थानीय अधिकारीको समेत सरसल्लाह लिने नवनिर्वाचित राष्ट्रपति बाइडेनले बताए।

फेडरेसन अफ अमेरिकन साइन्टिस्टका डाक्टर एरिक फिजल डिंकले बीबीसीसँग भने, ‘कोरोना नियन्त्रणका लागि पहिलो काम विज्ञानमा आधारित नीति बनाउनु हो, तर यसमा डोनाल्ड ट्रम्प असफल रहे।’

उनले थपे, ‘मास्क लगाउने विषयमा पनि ट्रम्पको नीति ढुलमुले थियो र उनको नेतृत्व पनि दुःख दिने खालको थियो। बिनाआपतकाल औषधिको स्वीकृतिमा हतार गर्नु आफैंमा अवैज्ञानिक काम थियो।’

उनले नवनिर्वाचित राष्ट्रपति बाइडेनले कोभिड–१९ टास्क फोर्समा डाक्टर रिकलाई छनोट गरेर राम्रो काम गरेको पनि बताए।

उनले भने, ‘डा. रिकले यसअघि पनि बायोमेडिकल एडभान्स रिसर्च एन्ड डेभलपमेन्ट अथोरिटीको प्रमुख भएर काम गरिसकेका छन्। उनी ती डाक्टरमध्ये एक हुन्, जसले महामारी नियन्त्रणका लागि ट्रम्पले अपनाएको नीतिको आलोचना गरेका थिए।’

बाइडेनको विजय
बीबीसीका अनुसार राष्ट्रपति चुनावको विजेताको औपचारिक घोषणा गर्न बाँकी रहे पनि जो बाइडेनले जितका लागि आवश्यक २७० इलेक्टोरल मत पार गरिसकेका छन्।

तर ट्रम्पले अझै यो कुरा स्वीकार गरिसकेका छैनन् र चुनावमा धाँधली भएको आरोप लगाउँदै सर्वाेच्च अदालतमा जाने चेतावनी दिइरहेका छन्।

देशभरका मतमा बाइडेन र ट्रम्पबीच ४५ लाख भोटको फरक छ। शनिबार बाइडेन विजयी भएको घोषणा गरिएको हो। त्यसपछि बाइडेनले राष्ट्रपति पदको जिम्मेवारी सम्हाल्न सुरु गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .