ad ad

राजनीति


प्रचण्डको प्रस्ताव सात वटै प्रदेशमा पठाइयो, यस्तो छ काउन्टर रणनीति

प्रचण्डको प्रस्ताव सात वटै प्रदेशमा पठाइयो, यस्तो छ काउन्टर रणनीति

नेपालखबर
मंसिर ७, २०७७ आइतबार १६:१८,

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर आफ्नो गुट सक्रिय पारेको आकलनसहित कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले पनि तल्ला तहसम्मको काउण्टर रणनीति तयार पारेको छ।

प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई सोहि रणनीतिअनुरुप पार्टीको सबै प्रदेश तहमा पठाइएको छ।

सचिवालयका अन्य चार नेताहरुको समेत समर्थनमा प्रचण्डले पेस गरेको सो प्रतिवेदनलाई स्थानीय तहसम्म कार्यकर्तामाझ पुर्‍याउने गरी प्रदेशसम्म पठाइसकिएको एक नेताले बताए।

पार्टीभित्र फुटकै झल्को दिनेगरी ओलीले आफ्नो सक्रियता बढाएपछि कार्यकर्तामा भ्रम नहोस् र राजनीतिक प्रस्तावमा के थियो भन्नेबारे पार्टी कमिटीबाटै जानकारी होस् भनेर सबै प्रदेशमा पठाइएको ती नेताले जानकारी दिए।

कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको समर्थनमा प्रचण्डले १९ पेजको सो राजनीतिक प्रस्ताव सचिवालय बैठकमा कात्तिक २८ गते पेस गरेका थिए।

पाँच भागमा रहेको सो प्रस्तावमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण नगरेको, सरकार सञ्चालनमा पार्टीलाई अवज्ञा गरेको, पार्टीमा गुटबन्दी गरेको लगायतका आरोप लगाइएको छ।

प्रचण्डले सो प्रस्ताव सचिवालय बैठकमा पेस गरेपछि मंसिर ३ गते बसेको अर्काे बैठकमा ओलीले सो प्रस्तावमा आफूविरुद्ध आधारहीन आरोपहरु लगाएको हुँदा आफूले त्यसको जवाफस्वरुप काउन्टर प्रस्ताव ल्याउने बताएका थिए।

त्यसका लागि उनलाई प्रतिवेदन लेख्न १० दिनको समय दिइएको छ। सो निर्णयअनुसार अध्यक्ष ओलीले आगामी १३ गतेको सचिवालय बैठकमा प्रतिवेदन पेस गर्ने तय भएको छ।

तर, ओलीले भने मंसिर ४ गतेदेखि नै आफ्नो गुटको कार्यक्रम देशैभर अघि बढाएको भनी प्रचण्ड–नेपाल पक्षले प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावलाई सबै प्रदेशमा पठाएका हुन्।

याे पनि: ओली रणनीति : देउवा फकाउने, देशैभर गुट जगाउने

सानो पुस्तिका आकारमा १० हजार प्रति छापिसकिएको सो प्रस्तावलाई सबै प्रदेशमा पठाइएको स्रोतले जनाएको छ।

मिडियामा सो प्रस्ताव सार्वजनिक गरिएको भन्दै अध्यक्ष ओलीले आपत्ति व्यक्त गरेका थिए।

मंसिर ३ गतेको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले साे प्रस्ताव नामको आरोपपत्रलाई अखबारीकरण गरेको भन्दै तीव्र आपत्ति जनाएका थिए।

उनले सो प्रस्तावलाई कुनै राजनीतिक प्रस्ताव नभई केवल आफूविरुद्धको आरोपपत्रको संज्ञा दिएका थिए। उनले त्यसमा लगाइएका आरोप पुष्टि गर्न चुनौति समेत दिएका छन्।

‘प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको प्रधानमन्त्री ओलीले काउन्टर प्रस्ताव लेख्ने भनेपछि हामी जवाफको प्रतिक्षामा नै बसेका थियौं,’ प्रचण्ड–नेपालसँग निरन्तर सम्पर्कमा रहेका एक स्थायी समिति सदस्यले भने, ‘तर, प्रधानमन्त्रीले त यो १० दिनको अवधि प्रतिवेदन लेखनमा भन्दा पनि देशव्यापीरुपमा आफ्नो गुट सक्रिय पार्न पो प्रयोग गर्नुभएको सूचना पायौं।’

त्यसपछि आफूहरुले प्रस्तावलाई पहिलो चरणमा प्रदेश तहमा पठाएको उनले बताए।

यसैबीच वरिष्ठ नेता नेपाल समूहले देशैभरबाट आफूपक्षीय नेता कार्यकर्ताहरुबाट पछिल्लो परिस्थिति सम्बन्धमा उनीहरुको बुझाइबारे रिपोर्टिङ लिने काम सुरु गरेको छ। आइतबार गण्डकी, वागमती प्रदेशमा सो काम सुरु भएको स्रोतले जनाएको छ।

गण्डकी प्रदेशको पछिल्लो अवस्था बुझन स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे आइतबार पोखरा पुगेका छन्।

वागमती प्रदेश अन्तर्गतको ललितपुरमा स्थायी समिति सदस्य रघुजी पन्तले पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्।

अन्य प्रदेशहरुमा पनि रिपोर्टिङ लिने काम भइरहेको नेताहरुले जनाएका छन्। यसै क्रममा सुर्खेतबाट एक टोली काठमाडौं आइपुगेको छ। प्रदेश सांसदसहित केन्द्रीय सदस्यहरुको टोली काठमाडौं आइपुगेको हो।

याे पनि: 
अराजनीतिक आरोपपत्र निःशर्त फिर्ता भए विवाद सकिन्छ: विष्णु रिमाल (अन्तर्वार्ता)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .