अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले एक विवादास्पद ट्विटका विषयमा माफी माग्न गरेको आह्वानलाई चिनियाँ विदेश मन्त्रालयले अस्वीकार गरेको छ।
अफगानिस्तानमा अस्ट्रेलियाली सैनिकले ३९ जना निर्दोष व्यक्तिको हत्या गरेको विषयमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचेनले एक ट्विट गरेका थिए।
अस्ट्रेलियाली सैनिकले एक बालकको घाँटी काट्दै गरेको फोटोसपबाट तयार तस्बिर राखेर चाओले लेखेका थिए, ‘अस्ट्रेलियाली सैनिकले गरेको अफगान नागरिक र कैदीको हत्याबाट हतप्रभ छु।’
सो ट्विटलाई ‘घृणास्पद’ भन्दै प्रधानमन्त्री मरिसनले माफी माग्न चीनलाई आग्रह गरेका थिए। उनले सो ट्विट हटाउन ट्विटरसँग आग्रह गरिएको पनि बताएका थिए।
तर, चिनियाँ विदेश मन्त्रालयले मरिसनको आपत्तिप्रति कडा प्रतिक्रिया दिएको छ।
सोमबार मन्त्रालयको पत्रकार सम्मेलनमा उपस्थित भएकी प्रवक्ता हुआ छुनयिङले भनिन्, ‘मेरो सहकर्मीको ट्विटप्रति अस्ट्रेलियाले किन यति कडा प्रतिक्रिया जनारहेको छ? के अफगानीहरुको क्रुर हत्यालाई उनीहरु जायज ठह¥याउँछन्? अफगानी जीवनको मूल्य छ। अस्ट्रेलियाली सैनिकहरु लज्जित हुनुपर्ने होइन?’
अस्ट्रेलियाली सैनिकले भयानक अपराध गरेको भन्दै उनले अस्ट्रेलियाली सरकारले माफी माग्नुपर्ने बताइन्।
प्रवक्ता चाओले यसअघि कोरोना भाइरस अमेरिकी सैनिकहरुले चीन ल्याएको झुठो दाबी गरेर आलोचना बेहोरेका थिए।
पछिल्लो समय अस्ट्रेलिया र चीनबीचको सम्बन्ध तिक्त बन्दै गएको छ। मरिसनले कोरोना महामारीका बीचमा भाइरसको उत्पत्तिबारे चीनमाथि छानबिन हुनुपर्ने प्रस्तावको नेतृत्व गरेका थिए। अस्ट्रेलियाको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको आरोप पनि उनको सरकारले लगाएको थियो। त्यस्तै चिनियाँ लगानीका परियोजनामा प्रतिबन्ध, फाइभजीको ठेक्कामा चिनियाँ कम्पनी ह्वावेलाई अलग गर्नेलगायतका कदम पनि अस्ट्रेलियाले चालेको थियो।
जवाफमा चीनले पनि अस्ट्रेलियामाथि दबाब बढाउँदै लगेको छ। उसले अनेकौँ अस्ट्रेलियाली सामान आयातमा कर बढाएको छ। पछिल्लो समय चिनियाँ मन्त्रीहरुसँग वार्ता गर्ने प्रयास सफल नभएको मरिसनले बताएका छन्। एजेन्सी
Shares
प्रतिक्रिया