ad ad

राजनीति


प्रचण्डसहित पाँच नेताको तयारी : मंगलबारको बैठकमा ओलीलाई संयुक्तरुपमा लिखित जवाफ दिने

प्रचण्डसहित पाँच नेताको तयारी : मंगलबारको बैठकमा ओलीलाई संयुक्तरुपमा लिखित जवाफ दिने

नेपालखबर
मंसिर १५, २०७७ सोमबार १७:२,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नहरुको सयुंक्त रुपमा लिखित जवाफ दिने भएका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा भोलि मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा सो लिखित जवाफ पेस गर्ने तयारी गरिएको छ।

अध्यक्ष ओलीले प्रचण्डलाई मात्रै व्यक्तिगत रुपमा लक्षित गरेर प्रश्नहरुको जवाफ दिनुको साथै केही विगतका प्रसंग काेट्याएपछि सचिवालयका पाँचैजना नेताहरुले संयुक्त जवाफ तयार पारेको स्रोतले जनाएको छ।

‘अध्यक्ष ओलीले प्रचण्डलाई व्यक्तिगतरुपमा जवाफ दिनुको साथै विगतका केही प्रश्न उठाएका कारण सचिवालयमा रहेका पाँचैजना नेताले भोलि बस्ने सचिवालय बैठकमा सो जवाफ पेस गर्ने भएका छौं,’ एक सचिवालय सदस्यले नेपालखबरसँग भने।

प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए।

त्यसको दश दिनपछि मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गरेका थिए।

तर, सो जवाफमा एकतापछिका विषय र सन्दर्भभन्दा विगतका र प्रचण्डको व्यक्तिगत जीवनका बारेमा प्रश्न उठाइएको पाएपछि त्यसलाई गम्भीर रुपमा लिएकाे नेताहरुले बताएका छन्।

कार्यकारी अध्यक्ष प्रचण्डले नेकपा गठन भइसकेपछि पार्टीमा समस्या देखिएको, झण्डै दुई तिहाइको सरकारले जनताको पक्षमा दुरगामी काम गर्न नसकेको, भ्रष्टाचार तथा अनियमितता बढेको, सुशासन कायम हुन नसकेको, कोरोनाले पारेको असरमा सरकारले देखिने गरी जनतालाई काम गर्न नसकेको लगायतका कुरा उठाएका थिए।

त्यसको जवाफ दिने क्रममा ओलीले प्रचण्डलाई जनयुद्धकालदेखिका प्रश्न सोध्नुको साथै विभिन्न आरोप लगाएपछि सचिवालयमा रहेका बहुमत सदस्यले संयुक्त प्रस्ताव तयार पारेर मंगलबार बस्ने सचिवालय बैठकमा पेस गर्ने निधो गरेको एक नेताले बताए।

कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सो लिखित जवाफ तयार पारेका हुन्। त्यसका लागि उनीहरुले आइतबार र सोमबार सघन छलफल गरेका थिए।

प्रचण्डलाई मात्र व्यक्तिगत रुपमा लान्छना लगाएर अध्यक्ष ओलीको जवाफ आएपछि संयुक्त जवाफ तयार पारेर फेरि सचिवालय बैठकमा पेस गर्न लागिएको अर्का एक सचिवालय सदस्यले बताए।

शनिबार बसेको सचिवालय बैठकमै ओलीको प्रतिवेदनमाथि कार्यकारी अध्यक्ष प्रचण्डले कडा रुपमा जवाफ दिएका थिए। यस्तै वरिष्ठ नेता नेपाल र खनालले पनि ओलीको कार्यशैली प्रति प्रश्न उठाएका थिए।

यसैबीच ओलीको जवाफी प्रस्तावपछि प्रचण्ड झन बिच्किएको विश्लेषण गर्दै प्रधानमन्त्री ओलीनिकट नेताहरुले प्रचण्डसँग फेरि छलफल गर्न सुरु गरेका छन्।

स्थायी समिति सदस्य सुवास नेम्वाङले दुवै पक्ष मिलेर अघि बढ्न प्रचण्डलाई प्रस्ताव गरेका छन्।

ओलीको जवाफी प्रतिवेदनपछि प्रचण्डपक्षीय नेताहरु बालुवाटारसँग झनै बिच्किएको ठहर गर्दै ओलीनिकट नेताहरुले प्रचण्डसँग मिलेर जान प्रस्ताव गरेको स्रोतले जनाएको छ।

‘भिन्नभिन्न च्यानलमार्फत विभिन्न प्रस्ताव र विकल्पमा छलफल गर्ने प्रस्ताव आएको छ,’ स्रोतले भन्यो, ‘प्रचण्डले सबै कुरा बैठकमै राख्ने बताउनुभएको छ।’

यसैबीच प्रचण्डसहित बहुमत सचिवालय सदस्यले मिलनविन्दूको प्रस्तावसहितका कुराहरु सोहि संयुक्त जवाफमै बैठकमा पेस गर्न लागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .