ad ad

राजनीति


भारतका चिफ अफ डिफेन्स स्टाफ रावत भन्छन् : श्रीलंकाबाट पाठ सिकौं

भारतका चिफ अफ डिफेन्स स्टाफ रावत भन्छन् : श्रीलंकाबाट पाठ सिकौं

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ११:२८,

भारतका चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपिन रावतले श्रीलंकाबाट पाठ सिक्दै चीनसँगको सम्बन्धमा अरु मुलुकले पनि सतर्कता अपनाउनुपर्ने बताएका छन्।

भारतको सेन्टर फर ल्यान्ड वारफेयर स्टडिज र नेपालको नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल कोअपरेसन एन्ड इग्गेजमेन्टले आयोजना गरेको वेबिनारमा बोल्दै सिडिएस रावतले सो कुरा बताएका हुन्।

‘अहिले नेपालले स्वतन्त्र ढंगले चीनसहित अन्य देशहरुसँग आफ्ना सम्बन्धहरु थप खुला गर्दैछ र उसले आफ्नो स्वतन्त्र परराष्ट्रनीति अनुसार सम्बन्ध बढाइरहेको छ। तथ्यगत आधारमा म के जोड दिन्छु भने भारतको नेपाल प्रतिको सद्भावका लागि कुनै शर्त राख्दैन,’ उनले भने।

उनले आफ्नो अन्तर्राष्ट्रिय मामिला कसरी सञ्चालन गर्ने भनी तय गर्न नेपाल स्वतन्त्र रहेको बताए।

‘तर यस क्षेत्रका श्रीलंका र अन्य देशहरुको अनुभवका आधारमा पनि केही सम्झौताप्रति सचेत रहन र शिक्षा लिन आवश्यक रहेको देखिन्छ,’ उनले भने।

उनले चीन र श्रीलंकाको प्रसंगहरु उल्लेख गर्दा स्पष्ट रुपमा कुनै परियोजनाको नाम नलिए पनि श्रीलंकालाई ऋणमा पारेको भनिएको केहि परियोजनातर्फ इंगित गरेका थिए।

चीनले श्रीलंकामा बनाएका बन्दरगाहका कारण श्रीलंका ऋणमा फसेको भारतीय तथा पश्चिमाहरुले बताउने गर्छन्।

सो कार्यक्रममा उनले सन् १९५० को नेपाल–भारत मैत्री सन्धिको बचाउ गरेका थिए।

‘सन् १९५० को शान्ति तथा मैत्री सन्धि नेपाल–भारत सम्बन्धको आधार हो। त्यस सन्धिले दिएको प्रावधानका कारण नेपालीहरुले भारतमा भारतीय नागरिकले सरह सुविधा पाउने गरेका छन्,’ उनले भने, ‘भूपरिवेष्ठित देशको रुपमा नेपाललाई जुन असुविधा थियो त्यसलाई पनि हटाउन यो सन्धि सफल भएको छ।’

कार्यक्रममा उनले भारतीय सेनामा कार्यरत् गोर्खाहरुको भूमिका बारेमा पनि चर्चा गरेका थिए।

‘६ लाख भारतीय नागरिक नेपालमा बसेर काम गर्छन्। करिब ८० लाख नेपाली भारतमा बस्छन् वा काम गर्छन्। नेपालीलाई इमान्दारिता, बफादारिता, मेहनत र भरोसाको रुपमा विश्वभर चिनिन्छ। त्यसैलै भारत, बेलायत र ब्रुनाईमा नेपालीहरुलाई मन पराइन्छ। पूर्वगोर्खा सैनिकहरुको संसारभर माग छ,’ उनले भने।

उनले नेपाली सेनाको आधुनिकिकरणका लागि भारतीय सेनाले सघाउँदै आएको प्रसंग पनि उल्लेख गरे। त्यसका लागि भारतले कसरी उपकरण, विपद व्यवस्थापन र अन्य विषयमा तालिम दिने गरेको छ भनी व्याख्या गरेका थिए।

‘त्यसैगरी संयुक्त सैनिक अभ्याससहित अन्य गतिविधिमा सहभागी रहँदै आएका छौ,’ रावतले भने, ‘३६ बटालियनमा ३२ हजार गोर्खा सैनिक भारतीय सेनाका कार्यरत छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .