नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले सोमबार पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहितका नेताहरुलाई भेट्ने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डले सोमबार बिहान ९ बजे प्रचण्डसँग भेट गर्ने तय भएको नेकपा प्रवास समन्वय कमिटी अध्यक्ष युवराज चौलागाईंले बताए।
‘भोलि बिहान ९ बजे अध्यक्ष प्रचण्डसँग खुमलटार निवासमा चिनियाँ प्रतिनिधिमण्डलको भेट तय भएको छ,’ उनले भने।
अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि सो टोलीले सोमबार नै भेट गर्ने भएको छ। यद्यपि अहिलेसम्म समय निश्चित नभएको नेपालको सचिवालयले जनाएको छ।
‘चिनियाँ टोलीसँग भेट्ने निश्चित समय निर्धारण भएको छैन,’ नेपालका स्वकीय सचिव मोहन गौतमले भने।
यस्तै नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग पनि चिनियाँ टोलीले भेट गर्दैछ। बिहान ११ बजे खनाल निवास डल्लुमा भेट तय भएको खनालको सचिवालयले जनायो।
नेकपा विभाजनपछि चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश लिएर सो टोली आइतबार नेपाल आइपुगेको हो। काठमाडौँ आएलगत्तै सो टोलीले राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेको थियो।
Shares
प्रतिक्रिया