ad ad

राजनीति


विघटन भएको संसद होइन, केपी ओलीको सरकार हो : प्रचण्ड

विघटन भएको संसद होइन, केपी ओलीको सरकार हो : प्रचण्ड

नेपालखबर
पुस १३, २०७७ सोमबार ९:२१,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–माधव नेपाल पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विघटन भएको तर संसद जीवितै रहेको बताएका छन्।

यही पुस ५ मा संविधानमा नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले आफूहरुलाई जनतासँग फेरि जोडिने माैका दिएकाे बताए।

‘केपी ओलीको सरकार विघटन भएको हो, संसद जीवितै छ’, पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज आयोजित एक कार्यक्रममा उनले भने, ‘आफूचाहिँ इतिहासको कलंकको टीका लगाउनुभयो, हामीलाई चाहिँ जनतासँग जोडिदिनुभयो।’

२०४७ सालको संविधानले संसद विघटन गर्ने अधिकार दिएकै कारण सरकारहरु छोटो समयमात्रै टिकेको बताउँदै त्यही देखेर ०७२ सालमा संविधान बनाउँदा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिने व्यवस्था गरेको उनको भनाइ छ।

त्यतिबेला अर्थात् दोस्रो जनआन्दोलनको सफलतापछि प्रतिनिधिसभाभित्र सरकार गठनको विकल्प हुँदासम्म विघटन गर्न नहुनेमा स्वयं ओली पनि सहमत भएको बताउँदै उनले सदनभित्र विकल्प हुँदासम्म सरकार गठन हुनसक्ने अवस्था हुँदाहुँदै ओलीले संसद विघटन गरेको बताए।

तीन करोड नेपाली जनताको सार्वभौम अधिकारमाथि ओली सरकारले प्रहार गरेकोले यसविरुद्ध डटेर लाग्ने प्रचण्डले बताए। अध्यक्ष प्रचण्डले ओलीलाई संविधानले हुँदैन भनेको अधिकार प्रयोग गरेर सदन विघटन गरेको बताएको उल्लेख गरे। तर उनले गरेको कार्य अवैधानिक भएकोले संसद विघटन नभएको प्रचण्डकाे दाबी छ।

पार्टीभित्र विवाद चलेकोमा दुईमत नरहेको बताउँदै उनले व्यक्तिवादी तरिकारले सरकार चलेको कारण समस्या आएको बताए। आफूहरु जनताको हक र लोकतन्त्रको पक्षमा सडकमा आयौँ भनेकोमा अनर्गल प्रचार भएको प्रचण्डले बताए।

उनले केपी ओली श्री३ महाराज बन्ने बाटोमा अघि बढेको र आफूहरु जनतासँग गएको बताए।

प्रचण्डले भने, ‘पहिले पनि भन्ने गरेको छु, ज्ञानेन्द्रको भिलेन रुपले पनि हामीलाई हिरो बनाइदिएको थियो, अहिले केपी ओलीले फेरि प्रतिगमनविरुद्ध जनतामा जाने अवसर दिए।’

ऐतिहासिक जिम्मेवारी पूरा गर्न एक भएर लाग्नुपर्ने भएकोले चिन्ता लिनुपर्ने विषय नभएको प्रचण्डले बताए। उनले वैशाखपछि पुनः ओली आउने भन्दै हँसीमजाक समेत गरे। आफूहरु क्षमा दिनेखालको भएकाले क्षमा दिने ठट्टा समेत प्रचण्डले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .