ad ad

राजनीति


‘अदालतमा विचाराधीन मुद्दामा हाम्रो बोल्ने कुरै छैन, कांग्रेस न यता न उता!’

‘अदालतमा विचाराधीन मुद्दामा हाम्रो बोल्ने कुरै छैन, कांग्रेस न यता न उता!’

नेपालखबर
पुस १३, २०७७ सोमबार ११:८,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भए पनि अदालतमा पुगेको मुद्दालाई प्रभावित हुने गरी केही नगर्ने बताएका छन्।

संसद् विघटनको विरोधमा कांग्रेस भक्तपुर क्षेत्र नं २ ले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले अदालत स्वतन्त्र निकाय भएकोले त्यसको निर्णय कुरिरहेको बताएका हुन्।

‘अदालतलाई हामीले सबैभन्दा स्वतन्त्र निकाय मानेका छौँ। नेपाली कांग्रेस न्यायालय मान्ने पार्टी हो’, देउवाले विरोध कार्यक्रममा भने, ‘पक्षमा होस् वा विपक्षमा, न्यायालयबाट आउने निर्णय हामी मान्नेछौँ’, देउवाले भने।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि कांग्रेसले आज देशैभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो। कार्यक्रममा देउवाले सर्वोच्च अदालतमा पुगेको मुद्दामा बोल्ने कुरै नभएको बताए।

‘अदालतमा विचाराधीन मुद्दामा हाम्रो बोल्ने कुरा छैन, न यता न उता, अदालतको निर्णय पर्खिन्छौँ’, देउवाले भने।

उनले कांग्रेसले विचाराधीन मुद्दामा दबाब नदिने र स्वतन्त्र निर्णय पर्खिने दाबी गरे।

‘हाम्रो पार्टीले सधैँ अदालतको सम्मान गरेको छ। अदालतलाई धम्क्याएर यो निर्णय गर्, ऊ निर्णय गर् भनेर तर्साएर हामीले कहिल्यै कुनै निर्णय गरेनौँ’, देउवाले भने।

No description available.

उनले पञ्चायतको बेला पनि न्यायालय स्वतन्त्र रहेको बताउँदै दुई तिहाइ कम्युनिष्टको सरकार आएपछि न्यायालयलाई प्रभावित पार्न खोजेको आरोप लगाए। यसका बाबजुद न्यायालयले आफ्नो स्वतन्त्र छविलाई कायम राखेको उनको भनाइ छ।

संसद् विघटनबारेको मुद्दा अदालतको स्वविवेकमा होस् भन्ने नेपाली कांग्रेसले चाहेकोले अदालतलाई धम्क्याउने र तर्साउने काम नगर्न चेतावनी दिए।

उनले भने, ‘अदालतको निर्णय मान्ने पार्टी भएकोले त्यसको निर्णय के हुन्छ स्वीकार गर्नेछौँ। जस्तोसुकै परिस्थितिको लागि पनि तयार हुनुपर्छ। विचारधीन मुद्दामा यो गर्नुस् भनेर हाम्रो पार्टीले दबाब दिँदैन।’

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विरोध प्रदर्शन भने जारी राख्ने सभापति देउवाले बताए।

‘ओलीको असंवैधानिक कदमको विरुद्धमा देशभर नै हामीले विरोध प्रदर्शन गरिरहेका छौँ’, उनले भने, ‘अब छिट्टै केन्द्रीय समितिको बैठक बसेर कहाँ–कहाँ विरोध प्रदर्शन गर्ने अहिलेको विरोध प्रदर्शन समेतको समीक्षा गरेर निर्णय गर्नेछौँ।’

सरकारले यही पुस ५ मा राष्ट्रपतिमार्फत प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ निर्वाचन मिति घोषणा गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .