ad ad

राजनीति


शहीद दिवसमा प्रधानमन्त्रीको सन्देश : ‘समृद्ध नेपाल, सुखी नेपाली’ हाम्रो अभियान

शहीद दिवसमा प्रधानमन्त्रीको सन्देश : ‘समृद्ध नेपाल, सुखी नेपाली’ हाम्रो अभियान

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ३:५,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा आफू रहेको बताएका छन्।

शहीद दिवसका अवसरमा सन्देश दिँदै ओलीले जनतालाई अधिकार सम्पन्न बनाई शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरिएको बताएका छन्। शहीदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको उनको भनाई छ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य छ। सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविरुद्ध खडा गरिएका चुनौतीलाई हामी सबैले एकजुट भएर पराजित गर्नुपर्दछ,’ ओलीको सन्देशमा भनिएको छ, ‘हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिकरुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउँदै हामी सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौँ । हाम्रा अमर शहीदको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो।’

लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकारप्राप्तिका लागि गरिएको लामो सङ्घर्षको चरण पूरा गरेकोसमेत ओलीले बताएका छन्।

‘सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढेको छ,’ सन्देशमा भनिएको छ, ‘हाम्रा प्रातः स्मरणीय शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो । देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै शहीदका सपनालाई मूर्तरुप दिन हामीले बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौँ।’

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, विपद्मा परेका जनताको व्यवस्थित आवास निर्माण र स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको समेत दाबी गरेका छन्। सरकारले थालनी गरेका विकासका दूरगामी योजनाले जनताको जीवनमा परिवर्तन ल्याउने ओलीले बताएका छन्।

जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदको बलिदानमार्फत मुलुकमा सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको स्मरण ओलीले गरेका छन्।

जहानियाँ राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ मा नेपाल आमाका वीर सपूत शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .