ad ad

राजनीति


भारत–चीन सहमतितर्फ, विवादित सीमा क्षेत्रबाट धमाधम फर्किन थाले दुवै देशका सैनिक

भारत–चीन सहमतितर्फ, विवादित सीमा क्षेत्रबाट धमाधम फर्किन थाले दुवै देशका सैनिक

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ३:२३,

भारतसँगको सीमा पूर्वी लद्दाखस्थित वास्तविक नियन्त्रण रेखानजिक फिङ्गर फाइभमा आफूले बनाएका हेलिप्याड र अस्थायी संचरना चीनले भत्काएको छ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टअनुसार गत वर्ष भारत र चीनबीच विवाद पर्दा चीनले प्याङगोङ त्सो तालको उत्तरी किनारनजिक फिङ्गर फाइभमा हेलिप्याड र अस्थायी जेटी बनाएको थियो।

तर अब चीनले सैन्य विच्छेदन प्रक्रियाअन्तर्गत ती संरचना नष्ट गरिरहेको हो।

हालै दुई देशबीच यही फेब्रुअरी १० देखि प्याङगोङ त्सोमा सैन्य विच्छेदन प्रक्रिया सुरु गर्ने सहमति भएको हो। जसअनुसार दुवै पक्षले अप्रिलयता वास्तविक नियन्त्रण रेखानजिक फिङ्गर क्षेत्रमा बनाएका सबै संरचना नष्ट गर्ने र सेना फिर्ता गर्नुपर्नेछ।

टाइम्स अफ इन्डियाका अनुसार सैन्य विच्छेदन प्रक्रियाअनुसार चिनियाँ सेना प्याङगोङ त्सो तालको उत्तरस्थित फिङ्गर एटबाट पूर्व श्रीजप प्लेनतर्फ फर्किरहेका छन्। यस्तै भारतीय सैनिक पश्चिमतर्फ फिङ्गर टु र फिङ्गर थ्रीको बीचमा पर्ने धनसिंह थापा पोस्टतर्फ फर्किरहेका छन्।

पत्रिकाका अनुसार चिनियाँ सेनाले ८० मिटर लामो ब्यानर पनि हटाएको छ, जसमा चिनियाँ भाषामा केही संकेत र नक्सा थिए। उक्त ब्यानर फिङ्गर फाइभ र सिक्सको बीचमा राखिएको थियो।

भूभाग आफ्नो भएको दाबी गरिएको ब्यानर यसरी बनाइएको थियो कि माथि आकाशमा उडिरहेको विमानबाट पनि प्रस्ट देख्न सकिन्थ्यो।

गत जुन १५ तारिखमा पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सैनिकबीच सीमाका विषयमा विवाद हुँदा झडप भएको थियो। त्यस क्रममा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो भने चीनतर्फ के कति क्षति भयो भएन अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन।

त्यसयता दुई देशबीच सीमा विवाद चर्किएको थियो भने सैन्य तथा कूटनीतिक तहमा पटकपटक वार्ता भएका थिए। यसै क्रममा पछिल्लो पटकको वार्तामा सहमति भएको भारतीय सञ्चारमाध्यमको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .